कस्तो रमाइलो र सहज हुन्थ्यो यदि आज पत्रकारिताको उपस्थितिलाई पहिल्याउने कम्पास उपलब्ध भए वा सम्बद्ध संकेत कुनै एपमा देखिए। जुनसुकै समय, जुनसुकै स्थान, जसकसैबाट, जुनसुकै माध्यम वा प्ल्याटफर्मबाट सूचना प्रवाह हुने, चुहिने, सर्वत्र फैलने, भाइरल नै बनिदिने वर्तमान परिवेशको मर्मलाई बुझी पत्रकारिताले बाटो पहिल्याउनु आजको अनिवार्यता हो।
विश्वसनीयतासँग सम्बद्ध मान्यताका लागि त्यसो गर्नुपर्ने स्थिति छ। नगर्दा सूचनाको आँधीमा, हल्लाको बहावमा आल्गोरिदमको पेचिलो जोड्ने–गुन्ने क्रममा बजारको प्रचार दाउमा हराउने र समाज दिग्भ्रमित हुने सम्भावना रहन्छ। साथै भर्भराउँदो, फराकिँदो सामाजिक सञ्जाल, सूचना प्रवाहका सहश्र प्ल्याटफर्मको यथार्थतालाई मानेर पत्रकारिताका रिपोर्र्टिङ सम्पादन प्रस्तुतिसँग सम्बद्ध अनेक प्रक्रियालाई क्रियाशील बनाउनु छ। त्यसमा ध्यान नदिँदा पत्रकारिता अब किन चाहिन्छ र भन्ने भाष्यसँग प्रतिस्पर्धा गर्न सकिन्न।
पत्रकारका कार्य जसकसैले पनि गरे हुन्छ, यान्त्रिक बुद्धिका माध्यमबाट गर्दा नहुने छैन भन्ने दिशामा अघि बढेको प्रयाससामु मानवसमाजमा पत्रकारिताको सान्दर्भिकता, निरन्तरता पुनर्स्थापित गर्न पनि गतिशील प्रयास आवश्यक छ। पत्रकारिताका, माध्यमका मूल्य र मान्यतालाई किनारामा फ्याँक्न नमिल्ने आयाममा प्रकाश पार्ने जमर्काे पनि गर्नुपर्ने छ। यस आलेख उपरोक्त परिवेशका अन्तरकुन्तरका विषयमा सांकेतिक प्रकाश पार्ने प्रयास मात्र हो। परिवेशका अनेक आयामलाई विवेचना गर्न त बृहत् शोध र सांख्यिकीय आधार नै चाहिन्छ।
सही सूचनाको खाँचो
सूचना, सही सूचना मानव जातिका लागि मात्र एउटा सन्देश वा समाचार वा अभिव्यक्ति वा प्रस्तुति नभएर जीवनका विविध फाँटमा उपयोगी हुने महत्त्वपूर्ण संसाधनका रूपमा विकसित हुँदै आएको सर्वविदित सन्दर्भ हो। सूचनाले टनिकले वा पोषणले झैं सशक्त पार्ने यथार्थलाई जान्नेहरूले मानेको पाइन्छ। निर्णय लिनका लागि, मत बनाउनका निमित्त वा व्यवहारलाई खास दिशामा निर्देशित गर्नका लागि वा समाजमा विविध सम्बन्ध विकास गर्नका लागि सूचनाले कहिले शिक्षाको रूपमा, कहिले मनोरञ्जनको रूपमा र कहिले शुद्ध इन्फर्मेसनको रूपमा सेवा पुर्याएको पाइन्छ। सूचनाको अधिकारलाई उच्च स्थान दिइएको सन्दर्भ त सर्वविदित विषय हो।
त्यसैक्रममा सही सूचना सही समयमा उपयोगी हुने ग्रहणीय शैलीमा सर्वसाधारणसमक्ष पुर्याउन विकसित भएको विधा पत्रकारिता हो। यसको पृष्ठभूमिमा अनेकको वर्षाैंको अभ्यास, चिन्तन, संघर्ष, शोध र नवीन प्रयोगको स्थलगत अनुभव छ। आमसञ्चार माध्यम छापा, रेडियो, टेलिभिजन, अनलाइनले पत्रकारिताका मूल्य–मान्यतालाई पछ्याएर नागरिकलाई सुसूचित, सुशिक्षित, सुमनोरञ्जित गरेका प्रमाण इतिहास र वर्तमानमा भेटिन्छन्।
त्यसकै आडमा बुझ्नेहरू भन्छन् डिजिटल युग, मोबाइल जमाना, एआई प्रयोगको दन्कँदो प्रवृत्ति, सामाजिक सञ्जालको झाँगिँदो जनप्रियतामाझ पनि पत्रकारिताले सर्वसाधारणमा सही सूचना सेवा प्रस्तुत गर्ने सम्भाव्यता छ। हो, यसका लागि एउटै सूत्र भने छैन, समय, समाज र परिस्थितिको अनुकूलतालाई ध्यानमा राखेर गतिशील नीति, ढाँचा र योजना भने आवश्यक छ। हेक्का राख्नुपर्छ– पत्रकारिता ओझेलमा पर्नु भनेको सर्वसाधारणलाई सूचना सशक्त पार्ने अति सहज, अति ग्रहणीय, अति उपयोगी आधार गुम्नु हो। यसलाई हलुका ढंगमा लिँदा अन्त्यमा नागरिक, समाज, संस्कृति, भाषा र राष्ट्रिय हितका भूराजनीतिका विषयवस्तुको गहनता, गम्भीरता सबैमा आँच आउन जान्छ।
सूचना प्रवाहलाई निरन्तर राख्ने, समाचारक्रमलाई नियमित पार्ने क्रममा पत्रकारिताभित्र विकसित समाचार कक्ष वा उत्पादन कक्षका रिपोर्टिङ, सम्पादकीय प्रक्रिया व्यवस्थित र विश्वसनीय मानिन्छ। सत्य, तथ्यको निष्पक्ष खोज, उपयुक्त स्रोतमा आधारित प्रस्तुति, यथार्थमा अडेको विश्लेषण, उपयुक्त वर्णन, सन्तुलित शिष्ट टिप्पणी, न्यायोचित भाष्य, सरल र सान्दर्भिक प्रस्तुति विशेष उल्लेखनीयमा पर्छन्।
ती सबै वर्तमानमा पनि सान्दर्भिक छन्। उपयुक्त रूपमा प्रविधिले दिएको सुविधा, प्रयोगकर्ताको आकांक्षा र प्रवृत्तिअनुरूप नवीकरण वा पुनः आविष्कार गर्दा पनि हुन्छ। हो, हेडलाइनको मोह, सनसनीपूर्णताको लालसा, आँखा वा कानका लागि मोहनीमय शैली मात्र खोज्ने हो भने बेग्लै कुरा।
द्वारपाल होइन द्वारदर्शन
आमसञ्चार माध्यमका प्रयोगकर्ता सबैजसो सामाजिक सञ्जालमा सरेर रमाइरहेको, सेयर, लाइक तथा कमेन्टमा व्यस्त भइरहेको, सामग्री उत्पादन, प्रसारण र प्रस्तुति गरिरहेको परिदृश्यले पत्रकारिताको सान्दर्भिकतामाथि प्रश्न उठाउँछ। तर अलि गतिशील भएर नवीन सोच र प्रयोग गर्ने हो भने पत्रकारिताले त्यसमा पनि योगदान वा सहयोग दिने अनेक फाँट फेला पर्छन्, त्यसको प्रयोगबाट पत्रकारिता झन् सबल हुने सिर्जनात्मकता पैदा हुने सम्भावना छ। हो, यसका लागि उकालो पार गर्ने संघर्ष भने गर्न तयार रहनुपर्छ।
त्यसक्रममा द्वारपालको भूमिका होइन, सूक्ष्म द्वारदर्शनको सीप शैली सान्दर्भिक हुन जान्छ। निश्चित समय र निर्धारित माध्यमबाट सूचना प्रवाह हुने परिवेशमा हुर्किएको पत्रकारितालाई आज जहिले पनि जहाँ पनि उत्पादन, घण्टाघण्टाको न्युज साइकल, आकस्मिक पोस्टिङ, प्रसारण हुने सम्भावना भएको अवस्थामा मिसिन भने आवश्यक पर्छ। पत्रकारिताको द्वारपाल भूमिका सूक्ष्म द्वारदर्शनमा परिणत भएको स्थितिमा अवलोकनका केही विधि आधार भने नवीन हुनु अनिवार्य नै छ। पहिले सूचनालाई खास मापदण्डका आधारमा सम्पादकीय प्रक्रियाअन्तर्गत सामाजिक दायित्व भावले छान्ने, रोक्ने वा प्रयोग नगर्ने गरिन्थ्यो। आज त्यो कार्यमा नवीनता, सिर्जनात्मकता र समयअनुरूपको मौलिकता भने चाहिन्छ।
सामूहिक प्रयास
यसक्रममा सञ्चार क्षेत्रको सामूहिक प्रयास नै अपेक्षित हुन्छ। वास्तवमा अहिले नेपालमा पत्रकारितामा संलग्न पत्रकार, सञ्चारगृह, आमसञ्चार संस्था, सरकार, पत्रकारिता प्रयोगकर्ता सबैले पत्रकारिता र आमसञ्चार माध्यमीय क्षेत्रलाई नयाँ कोणबाट अवलोकन गरी नवीन प्रयोगको माध्यमबाट अघि बढ्नुपर्ने आवश्यकता छ। केही विज्ञ यसलाई नवीन वा पुनः आविष्कार भन्न रुचाउँछन्।
पत्रकारलाई सुविधाको आसनमा बसेर स्थिति अवलोकन गर्न मिल्दैन। संस्थाले खै विज्ञापन, आम्दानी, प्रायोजक, प्रयोगकर्ता सबै सामाजिक सञ्जालमा छन्, हामी के गर्न सक्छौं र भनेर हात बाँधेर बस्न मिल्दैन। सरकारलाई संविधानले पूर्ण स्वतन्त्रता दिइहालेको छ, गर खाऊ अब के खोजेको, हामीलाई माध्यम चाहिँदैन, हामी त आफ्नै सामाजिक सञ्जाल र त्यसमाका फलोअर्समै व्यस्त छौं भनेर उम्कन पनि मिल्दैन।
प्रयोगकर्ताले पनि आफ्नो सूचनाको हकको बृहत् पक्षलाई ध्यानमा राखी पत्रकारितालाई जोगाउनका निमित्त मिडिया लिटरेसीलाई विस्तार गर्दै पत्रकारितालाई अघि बढ्न टेवा प्रदान गर्नुपर्ने स्थिति छ। उपरोक्त सबै पक्षले आआफ्नो भूमिकालाई पुनः परिभाषित गरी पारस्परिक विश्वास र सहयोग बढाउदा भरपर्दाे विकल्प निस्कने सम्भावना रहन्छ।
यसै क्रममा पत्रकारितालाई विकसित र विस्तारित गर्न नवीन वित्तीय आधार तयार गर्ने दिशामा पनि निरन्तर खोजी र प्रयास आवश्यक पर्छ। परम्परागत आय क्षेत्र सुक्दै गएको पृष्ठभूमिमा नयाँ आर्थिक पूर्वाधारको अन्वेषण आवश्यक पर्छ नै। पत्रकारले के गर्ने त? केही विज्ञको परामर्श छ– पत्रकारले यसतिर आफूलाई निरन्तर सचेत राख्दै सत्यताप्रतिको प्रतिबद्धता कायम राख्दा राम्रो, स्पिडको मोहमा त्यसलाई किनारामा राख्न मिल्दैन। सनसनीपूर्ण हेडलाइनको सोख, सोसल मिडियाको दौडको संवेदनशीलता बुझ्नु राम्रो हो तर त्यसमा प्रतिस्पर्धा खोज्नु राम्रो होइन, मध्यनजर त विश्वसनीयता र सर्वसाधारणको आस्थामा राख्न जरुरी छ।
मौलिक खोजका सामग्री, भरपर्दाे शोध, गहन सन्दर्भ पारदर्शी नैतिक अडान, एआई प्रयोग तर निर्भर होइन, सिर्जनात्मकता बचाइराख्नेतिर ध्यान दिँदा राम्रो। जिम्मेवारी लिन प्रतिबद्ध रहने र संस्थागत क्षमताको प्रयोगमा ध्यान दिँदा राम्रो मानिन्छ। शक्तिमा रहेका संसाधन परिचालनमा हात भएकाहरूलाई जिम्मेवार बनाउने आँट पनि पत्रकारमा रहनुपर्छ नै।
उपर्युक्त क्रममा सञ्चार संस्थाको भूमिकालाई कसरी व्याख्या गर्ने ? केही विज्ञहरूको विचारमा यस दिशामा स्मार्ट आन्तरिक व्यवस्थापन र सञ्चार, निरन्तर संस्थागत विकास, पत्रकारिता र अन्य जनस्रोतको क्षमता वृद्धि, प्रयोगकर्तालाई विश्वासमा लिने विषय बढी सान्दर्भिक हुन्छन्। सञ्चारगृहलाई एकढिक्का भएर एउटै लक्ष्यतिर उन्मुख पार्नेमा प्रतिबद्धता, प्रणाली विकास गर्दा सहज हुन्छ। संकटलाई बेहोर्ने क्षमतामा जोड दिनु उचित छ र गुणस्तरीय सामग्री उत्पादनमा गम्भीर बन्ने, सस्तो लोकप्रियतातिर नजाने, संस्थागत सहयोग, सहकार्य, सेवा भाव प्रवद्र्धन गर्नेतिर विशेष योजना नै हुनुपर्छ। आयका विषयमा नवीन सोच, नयाँ प्रविधि, एआईको सुरक्षित प्रयोग पनि प्राथमिकतामा पार्न आवश्यक छ।
सरकारबाट के अपेक्षा
नयाँ युगमा पत्रकारितालाई जोगाइराख्ने काममा सरकारको सहजीकरण, सहयोग र सद्भावना अपेक्षित रहन्छ। पत्रकारिताले नागरिकलाई सचेत पार्न सुसूचित राख्न र सहभागिताका लागि तयार गर्न योगदान दिई सार्वजनिक चासो र हितका विषयमा आवाज उठाउने हुनाले त्यसको प्रत्यक्ष महत्त्व अन्यका अतिरिक्त सरकारलाई पनि हुन्छ। यसैले पत्रकारितालाई सघाउन सरकार उदार रहन आवश्यक छ, उपयुक्त कानुनी आधार तयार गर्न अनिवार्य आर्थिक संसाधन र प्रविधि जुटाइदिन प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्दा समाज लाभान्वित हुने स्पष्ट छ।
प्रयोगकर्ताले पत्रकारितालाई सघाउने अनेक प्रत्यक्ष–अप्रत्यक्ष आधार छन्। सामग्री प्रयोगदेखि त्यसमाथिको आलोचना टिप्पणी, उत्पादनमा सुझाव, गल्ती औंल्याउने, होसियार गराउने, सञ्चार साक्षरता वा माध्यम ज्ञान फिजाउने दिशामा योगदान पुर्याउने कुरामा ध्यान दिँदा राम्रो हुन्छ। आलेखमा चर्चित सामूहिक प्रयासका आधारमा नेपाली पत्रकारितालाई संवर्धन गर्दा नागरिक लाभान्वित हुने, राष्ट्रिय हित प्रवर्धन हुने र समाज गतिशील हुने स्थिति पैदा हुनेमा विश्वस्त रहन सकिन्छ।
प्रकाशित: २३ श्रावण २०८३ ०८:५० शनिबार