समाज

अवैध उत्खननले संकटमा जवा नदी : जिम्मेवार निकाय मौन, स्थानीयलाई विपद् निम्तिने डर

जुम्लाको पातारासीमा गिट्टी-बालुवाको अवैध उत्खनन गरेको तस्बिरहरू गोल्डेन बुढा, जुम्ला/नागरिक

जुम्लाको पातारासी गाउँपालिकामा अनियन्त्रित रूपमा भइरहेको गिट्टी–बालुवाको अवैध उत्खननले जवा नदी अस्तित्व संकटमा परेको छ। नियमन निकायको मौनता र स्थानीय सरकारको उदासीनताका कारण वर्षौंदेखि निरन्तर दोहन भइरहेको नदी अहिले बाढी, कटान र पर्यावरणीय विनाशको मुख्य केन्द्र बनेको छ। 

पातारासी गाउँपालिका–५ स्थित लाम्रीगाउँदेखि लोर्पासम्मको जवा नदी वरिपरिको भू–भाग कहिल्यै हरियालीले ढाकिएको थियो। त्यो हरियाली अब सम्झनामा मात्रै बाँकी छ। पहिले पशुचरन हुने मैदान अहिले ठूला–ठूला खाल्डाखुल्डीले भरिएका छन्। नदी जहाँ एक धारमा बग्थ्यो, अहिले ठाउँ–ठाउँमा चिराचिरा पारेर बहिरहेको छ। सामान्य वर्षा हुँदा पनि नदी उर्लिन्छ, बस्ती र खेतीयोग्य जमिनमा कटान गर्छ।  

स्थानीय लोर्पा गाउँका मानबहादुर बोहरा भन्छन्, ‘पहिले यो नदी वरिपरि हरियालीले ढाकिएको थियो। अहिले बालुवा निकाल्ने क्रममा नदी गहिरिएको छ, बाढी आउँदा खेतमै पस्छ।’ नदीजन्य पदार्थ उत्खननका लागि गाउँपालिकाले कर निर्धारण गरे पनि त्यसको कार्यान्वयन छैन। गाउँपालिका प्रशासन प्रमुख दानबहादुर विष्टका अनुसार २०७६/०७७ तिर ढुंगा प्रति चट्टा २ सय ५०, बालुवा प्रति ट्र्याक्टर ५ सय र टिपर २ हजार, गिट्टी प्रति ट्र्याक्टर ५ सय र टिपर २ हजार, ग्राभेल–बोल्डर मिक्स प्रति ट्र्याक्टर २ सय र टिपर ८ सय निर्धारण गरिएको छ। तर, बिना अनुमति र बिना कर, नदीमा डोजर चलेको महिनौं भइसक्यो।

स्थानीय सरकारको आँखा चिम्लिँदा एकातिर करोडौंको आन्तरिक राजस्व गुमिरहेको छ भने अर्कातिर प्राकृतिक स्रोतको अन्धाधुन्ध दोहनले दीर्घकालीन विनाशको खतरा बढाएको छ। जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले भने, ‘गत असारमा सम्पन्न आठौं जिल्ला सभाले ‘नदीजन्य पदार्थ, खनिज उत्खनन तथा संलनका लागि प्रक्रिया अघि बढाउने’ निर्णय गरेको थियो। तर त्यो निर्णय पनि कागजमै सीमित छ, कार्यान्वयन शून्य।’ नदीजन्य पदार्थ उत्खननका लागि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) अनिवार्य हुन्छ। तर पातारासीमा वर्षौंदेखि अनुमति बिना नै डोजर चलेको छ। नदीको धार परिवर्तन हुने गरी उत्खनन हुँदा न त वातावरणीय मापदण्ड पालना गरिएको छ, न त कानुनी कारबाही भएको छ।  

स्थानीय प्रशासन र प्रहरी कार्यालयले ‘जानकारीमा लिने’ भन्दा अघि बढेर कुनै ठोस कदम चालेको छैन। त्यसको परिणामस्वरूप अवैध उत्खनन झन् मौलाउँदै गएको छ। स्थानीय विष्णुबहादुर बुढा भन्छन्, ‘यो केवल नदीको समस्या होइन, पुरै जलवायु सन्तुलनमा असर पार्ने खतरा हो। यस्ता दोहन रोकिएन भने बाढी, पहिरो र भूक्षयजस्ता विपत्ति नियन्त्रणबाहिर जान सक्छन्।’ जवा नदीको स्वरूप बिस्तारै लोप हुँदैछ, तर जिम्मेवार निकायहरू मौन छन्। 

नदीनजिकै बनेका ठूला–ठूला भवनहरू, डोजरको गर्जन र टिपरको भीडले गाउँको शान्त वातावरणलाई बजारको हल्लाजस्तो बनाइदिएको छ। बालुवा र गिट्टी निकालेर बनेका कंक्रिटका घरहरूले बस्तीमा आधुनिकताको आभास त ल्याएका छन्, तर त्यसको मूल्य प्रकृतिले महँगो तिर्न थालेको छ। यदि तत्काल नियन्त्रण नगरे केही वर्षमै जवा नदीको प्राकृतिक स्वरूप हराउनेछ, अनि पातारासी बाढी–कटान र भूस्खलनको स्थायी जोखिममा फस्नेछ। स्थानीय सरकार, जिल्ला समन्वय समिति र सरोकारवाला निकायबिच समन्वय गरी तत्काल अनुगमन, कानुनी कारबाही र दीर्घकालीन पुनः संरचना योजना नबनाइए, यो संकट अझ गहिरिँदै जाने निश्चित छ।

प्रकाशित: ७ कार्तिक २०८२ २१:०४ शुक्रबार