केही दिनअघि कर्णाली प्रदेशको सुर्खेत वीरेन्द्रनगरकी किशोरी इनिशा बिश्वकर्माको सामूहिक बलात्कारपछि हत्या भएको घटनाप्रति यहाँका डेढ दर्जन सामाजिक अधिकारकर्मी संघसंस्थाले विरोध प्रदर्शन गरेका छन्। जिल्लामा क्रियाशील संघसंस्थाहरूले एक विज्ञप्ति प्रकाशित गर्दै घटनाप्रति खेद व्यक्त गरेका छन्। साथै, उनीहरूले दोषी उपर कडा कारबाही र आगामी दिनमा यस्ता घटना हुन नदिन सरोकारवाला पक्षलाई सचेत समेत गराएका छन्।
जिल्लामा क्रियाशील १७ वटा संघसंस्थाले जारी गरेको संयुक्त विज्ञप्तिमा फागुन २३ गते विहान ट्युसन पढ्न निस्केकी इनिशाको सामूहिक बलात्कारपछि भएको हत्याजस्तो क्रुर र जघन्य अपराधमा संलग्न अपराधीलाई हदैसम्मको कानुनी कारबाही गर्न माग गरिएको छ। इनिशाको बलात्कारपछि हत्याजस्तो अमानवीय र क्रुर घटना समाजका लागि मात्र नभई सिंगो राष्ट्रकै लागि बद्दाम र स्तभ्द मार्ने विषय भएको भन्दै यसप्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।
घटनामा संलग्नहरूमाथि सरकारले तत्काल कानुनी कारबाही गर्न कदम चाल्नमाग गर्दै विज्ञप्तिमा भनिएको छ, ‘यस्तो घटनाले हाम्रो समाजमा बालबालिका, महिला र खासगरि दलित समुदायका बालबालिकको सुरक्षा, स्वतन्त्रतापूर्वक हिँड्डुल गर्न र बाँच्न पाउने अधिकार कुण्ठित गरेको ठहर हामीले गरेका छौँ।’
घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका चा।र जना किशोरहरूलाई उन्मुक्ति दिलाउन प्रेमी, नाबालक, सहमतिमा घटना भएको आदिजस्ता विभिन्न बहाना गरिरहेको सञ्चारमाध्यममा सार्वजनिक भइरहेको घटनाप्रति सचेत गराउँदै घटनालाई कमजोर बनाउने कुचेष्टा गरेको भए आफूहरूलाई किमार्थ मान्य नहुने चेतावनी दिइएको छ।
संयुक्त विज्ञप्तीमा दलित महिला संघ (फेडो) प्रदेश कमिटी, गैसस महासंघ प्रदेश समिति, मासवेस, आभासा, गैसस महासंघ उदयपुर, ओरेक, महिला मानवअधिकार केन्द्र, दलित अधिकार सञ्जाल, नेस्पेक, संकल्प, दलित महिला संघ, सेतो गुराँस, नव प्रभात, मन फाउण्डेसन, सामाजि उत्थान केन्द्र र हुरेन्डेकका प्रमुख तथा प्रतिनिधिले हस्ताक्षर गरेका छन्।
घटनाको विरोधमा अधिकारकर्मी संघसंस्थाहरुले शनिबार विहान सदरमुकाममा विरोध प्रदर्शन पनि गरेका छन्। गाईघाट बजारको परिक्रमा गरी लोकतान्त्रिक चोक (पिपल चोक)मा पुगेर विसर्जन भएको प्रदर्शन कोणसभामा बोल्दै अधिकारकर्मी रमा मगरले इनिशा बिकको बलात्कार र हत्याको घटना अत्यन्त अमानवीय, दुःखदायी र मानव अधिकार हननको चरम नमूना भएको भन्दै भर्त्सना गरिन्। यस्ता जघन्य अपराध हुन नदिन सरकारले घटनामा संलग्नहरूलाई कडाभन्दा कडा कानुनी कारबाही गर्नुपर्ने बताउँदै उनले ६ वर्षअघि भएको निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणजस्तो सेलाउन नहुने बताइन्।
‘इनिशा बिकमाथिको घटना एकदम अमानवीय, खेदजनक मात्र नभएर समाज र राष्ट्रकै लागि कलंक हो,’ मगरले भनिन्, ‘यस्ता घटना दोहोरिन नदिन संलग्नहरुमाथि कडाभन्दा कडा कारबाही हुनुपर्छ।’ यस घटनालाई निर्मला पन्तको जस्तो ढाकछोप र झारा टार्ने गरी अनुसन्धान हुनसक्ने खतरा भएको भन्दै उनले त्यसप्रति सबै पक्ष अहिलेदेखि सचेत हुन आग्रह गरिन्।
प्रकाशित: ३० फाल्गुन २०८२ १३:५९ शनिबार