जुम्लाको सिञ्जा–६ की मोतिकला रावतले १२ वर्षअघि ६ क्विन्टलसम्म चिनो फलाउँथिन्। आफूले खाएर बचेको छिमेकीलाई सापटी दिन्थिन्। तर, अहिले उनको खेतमा मुस्किलले ३० केजी चिनो उत्पादन हुन्छ।
मोतिकला भन्छिन्, ‘पहिले चिनोको भात खाने चलन थियो। आयातित चामल आएपछि सबैले चिनो खान छोडे, खेती पनि गर्न छोडे।’ उनले पुरानो खेतीको बीउ जोगाउन मात्र थोरै खेती गरेको बताइन्। चिनो मात्र होइन, उनको गाउँमा कोदो, कागुनो, फापरजस्ता रैथाने बालीको खेती गर्न छोडिएको छ। खाद्य संस्थानको चामल भित्रिनुअघि कोदोको खेती गर्नेहरू पनि अहिले घटेका छन्।
चिनो र फापरको खेती घट्नुको कारणबारे उनले भनिन्, ‘कोदो, चिनो, कागुनो र फापर खानेलाई हेप्ने चलन अहिलेसम्म छ। ६/७ वर्षअघि भात खानेहरूको सान बेग्लै हुन्थ्यो। त्यसैले चामल पाइन थालेपछि धेरैले यस्ता बाली लगाउन छोडे।’ उनका अनुसार कागुनो र फापर त पाइँदैन। ‘फाट्टफुट्ट कसैले थोरै चिनो र कोदोको खेती गर्छन्।’
मोतिकला मात्र होइन, जुम्लाको सिञ्जा र पातारासी क्षेत्रका गाउँमा यी बालीको खेती लोप हुँदै गएको छ। ‘अहिले घर–घरमा मसिनो चामल पुगेको छ। चिनो, कोदो, फापर र कागुनो खाने दिन गएजस्तै भएको छ,’ अर्की दुधकला बुढाले भनिन्, ‘यसको खेती नै सबैले छोडिसके। हाम्रोतिर बीउ खोजे पनि पाइँदैन।’ रैथाने बालीहरू मासिएको स्थानीयवासी बताउँछन्। अर्की ७६ वर्षीया पानसरी बुढा भन्छिन्, ‘यस्ता बालीको खेती अचेल कसले गर्छ र? धेरैले नामै बिर्सिसके होलान्।’
खाने बानी बदलिए, कोदो, कागुनो, चिनो, फापर खानेलाई हेला गरिए, स्थानीय स्याउखेतीतिर आकर्षित भएको, नयाँ पुस्ताले परिश्रम गर्न नरुचाएको र आयातित खाद्यान्नको उपलब्धता बढेका कारण रैथाने बाली लोप भएको कृषि क्षेत्रका जानकार बताउँछन्। ‘यस्ता बालीमा आयातितभन्दा धेरै पौष्टिक तत्त्व पाइन्छ भन्ने जानकारी स्थानीयलाई छैन,’ कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले भने, ‘रैथाने बालीको उत्पादन उन्नत जातको भन्दा कम हुने भएकाले कृषक यतातिर आकर्षित भए।’
रैथाने बालीको औषधीय गुण र जलवायु अनुकूलन क्षमता उन्नत जातभन्दा बढी हुने अधिकारी बताउँछन्। ‘यी बालीको पौष्टिक महत्त्व त छँदैछ,’ उनले भने, ‘परिवर्तित जलवायुमा अनुकूलन हुने क्षमता पनि यिनमा बढी छ।’ हाइब्रिड बीउको प्रचलन बढे पनि बीउ संरक्षणका लागि रैथाने बाली उत्तम भएको उनले बताए। ‘उन्नत र हाइब्रिड बीउ सबैले उत्पादन गर्न सक्दैनन्। तर, रैथाने बालीको बीउ सामान्य किसानले सजिलै उत्पादन गर्छन्,’ उनले भने।
रैथाने बालीको संरक्षण र प्रवर्द्धनमा सरकारी उदासीनताले धेरै बाली लोप भएको र केही लोप हुने क्रममा रहेको अधिकारीले बताए। ‘किसानले त बिर्से, राज्यले पनि यस्ता बालीको संरक्षणमा चासो दिएको छैन,’ उनले भने, ‘अन्य बालीमा जस्तो अनुदान र अनुसन्धान छैन। सरकारको बेवास्ताले रैथाने बाली छिटो लोप भए।’ विशेष संरक्षित क्षेत्र घोषणा नगरे बीउसमेत लोप हुने खतरा छ।
कृषि विकास कार्यालय जुम्लाको आर्थिक वर्ष २०८०/०८१ को तथ्यांकअनुसार चिनो २ सय हेक्टरमा खेती हुन्छ, २ सय ५० मेटिकटन उत्पादन हुन्छ। कागुनो १३ हेक्टरमा खेती हुँदा १३ मेटिकटन उत्पादन हुन्छ। कोदो तीन हजार हेक्टरमा खेती हुँदा ४ हजार ५० मेटिकटन र फापर ८७ हेक्टरमा खेती हुँदा ९६ मेटिकटन उत्पादन हुन्छ।
प्रकाशित: २३ भाद्र २०८२ १०:०२ सोमबार