समाज

सवारी दुर्घटनामा भारतीय नागरिक घाइते

मदन भण्डारी लोक मार्गमा भएको सवारी दुर्घटनामा परि एक जना भारतीय नागरिक घाइते भएका छन्। अर्को दुर्घटनामा एउटा घरमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आइतबार (आज) काठमाडौंबाट पूर्वतर्फ जाँदै गरेको डब्लुबी ७४१३ एम ५०२२ नम्बरको भारतीय कार मदन भण्डारी लोक मार्गअन्तर्गत गाईघाट–बेल्टर खण्ड त्रियुगा नगरपालिका १ फुलजोरमा दुर्घटनामा परेको थियो। उक्त घटनामा फुन्चोक शेर्पा घाइते भएका हुन्। ३८ वर्षीय शेर्पा भारत पश्चिम बंगाल प्रदेश खर्साङका भएको प्रहरीले जनाएको छ । 

घाइते शेर्पाको तत्काल उद्धार गरी उदयपुर जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए। पोलमा ठोक्किएर कारको अघिल्लो भाग तथा बाहिरी भाग कुच्चिएको छ। खड्काका अनुसार सो कारमा सवार चालक दार्जिलिङका ४३ वर्षीय विवेक रोक्कासहित ४ जना भने सकुशल रहेका छन्।

उता, ओखलढुङ्गाको खिजिफलाँटेबाट उतिसको काठ बोकेर झापातर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०५३७ नम्बरको मालवाहक ट्रक पनि दुर्घटनामा परेको छ। सो ट्रक मदन भण्डारी लोक मार्गको कटारी–गाईघाट खण्डअन्तर्गत कटारी नगरपालिका ५ बलाहामा दुर्घटनाग्रस्त हुँदा एक स्थानीयको घर भत्किएको छ।

आफै अनियन्त्रित भएको ट्रकले स्थानीय बाबुराम दनुवारको घर र पसल भत्काउँदा घरको अघिल्लो भागमा क्षति भएको छ । ट्रकको ठक्करले भत्केको घरभित्र रहेका दनुवार दम्पती केही बेर थुनिन पुगेका थिए। गाउँलेहरू भेला भई घरको भित्ता फुटाएर उनीहरूलाई सकुशल बाहिर निकालेका थिए। दुवै घट्नाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए।

प्रकाशित: २२ चैत्र २०८२ १३:२७ आइतबार