अर्थ

डिडिसी घाेटाला: किसानको १२ करोड कर्मचारीका खातामा

गत जेठ ७ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा एउटा उजुरी आयो। उजुरीमा उल्लेख थियो– दुग्ध विकास संस्थान (डिडिसी) बिक्री हुने दुधको रकम किसानको खातामा होइन, कर्मचारीको खातामा गइरहेको छ। यही सूचनाका आधारमा सिआइबीले गरेको अनुसन्धानपछि तत्कालीन महाप्रबन्धक सञ्जीव झासहितले १२ करोडभन्दा बढी रकम घोटाला गरेको खुलेको छ।

किसानका फार्मबाटै कर्मचारीका नाममा रकम बुझेको अनुसन्धानबाट खुलेपछि सिआइबीले झासहित आठ जनालाई पक्राउ गरेको थियोे। जेठ ७ गते आएको उजुरीका आधारमा सिआइबीले जेठ १३ गते डिडिसीको केन्द्रीय कार्यालय लैनचौर र काठमाडौं दुग्ध कार्यालय बालाजुमा छापा मारेर सबै कागजात नियन्त्रणमा लिएको थियो।

बरामद कागजातका आधारमा किसानबाट संकलन भएको दुधका लागि संस्थानबाट भुक्तानी भएको रकमबाट केही हिस्सा त्यहीँकै कर्मचारीको खातामा आएको देखिएको छ। सिआइबीमा अनुसन्धान गरिरहेका एक अधिकृतका अनुसार किसानले पाउनुपर्नेभन्दा बढी मूल्य भुक्तानी गर्ने र पछि केही रकम आफ्नै खातामा ल्याउने गरिएको थियो। त्यसरी १७ वटा कृषि तथा पशुपालन सहकारीबाट कर्मचारीहरूले रकम बुझेको खुलेको छ। सबै रकमको हिस्सा महाप्रबन्धक झासम्म पुगेको दाबी सिआइबीको छ। झाको खातामा सिधै रकम भने आउँदैनथ्यो । सिआइबी प्रमुख एआइजी उमाप्रसाद चतुर्वेदीका अनुसार डिडिसीमा हुने घोटालाको विस्तृत अनुसन्धान भएको छ।

किसानले आफ्नो दुधको मूल्य किन पाइरहेका थिएनन् र त्यहाँको पैसा कसरी कर्मचारीको खातामा जान्छ भन्ने विस्तृत अनुसन्धान गरेर अदालत बुझाउने तयारी भइरहेको एआइजी चतुर्वेदीले जानकारी दिए। करिब चार महिनाको अनुसन्धानपछि आफूहरू डिडिसीमा भएको संगठित मिलेमतोलाई बाहिर ल्याउने चरणमा पुगेको उनले बताए। अहिले पक्राउ परेका बाहेक अन्य केही फरार रहेको पनि एआइजी चतुर्वेदीले जानकारी दिए।

यसरी हुन्थ्यो घोटाला

विभिन्न दुग्ध तथा कृषि सहकारी संस्थाहरूले संकलन गरेर डिडिसीमा दुध ल्याउने गर्छन्। त्यसरी ल्याइएको दुधको होइन, दुधमा भएको चिल्लो पदार्थ, दुध र पानी छुट्याएपछि बन्ने पदार्थ (एसएनएफ) हेरेर मूल्य तय हुन्छ। किलोका दरले बिक्री हुँदा चिल्लो पदार्थको मूल्य एसनएफको तुलनामा बढी हुन्छ। डिडिसीका कर्मचारीले त्यसैमा किसानलाई दुधमा भएको चिल्लो पदार्थ र एसएनएफ कति छ भन्ने यकिन जानकारी गराउँदैनथे।

सहकारी संस्थाबाट आफूले पठाएको दुधमा कति चिल्लो पदार्थ छ र कति एसएनएफ निस्कियो भनेर कुनै किसानले कहिल्यै पत्तो पाएनन्। डिडिसीका कर्मचारीले कहिल्यै किसानलाई सही विवरण देखाएनन्। कर्मचारीले किसानलाई सम्पर्क गर्थे र आफूले चिल्लो पदार्थको मात्रा बढाएर पैसा आउने व्यवस्था मिलाएकाले सो रकम आफूलाई फिर्ता गर्न भन्थे।

उनीहरूको घोटालाको अर्को पनि शैली छ। किसानलाई तपार्इंको दुधमा समस्या आयो अर्काको पनि मिसाएर बढाइदिएको छु भन्ने र त्यसरी बढाइदिएको रकम मागेर आफैंले लिने गर्थे। त्यसैको एउटा उदाहरण हो– भैरवपुर भैंसी पालन पशुपन्छी फार्म। उक्त फार्मबाट किसानले एक हजार लिटर दुध पठाए।

यता डिडिसीका कर्मचारीले दुधमा समस्या भएको जानकारी गराए। त्यही एक हजार लिटरको पैसा नआउने भएपछि डिडिसीकै कर्मचारीले अर्काको एक हजार लिटर मिसाएर दुई हजार बनाइदिने र थप गरेको एक हजार लिटरको रकम आफ्नै खातामा फिर्ता मागे। किसानले पनि आफ्नो एक हजार पनि गुम्ने डरले कर्मचारीकै सर्तमा काम गरे। ‘यो डिडिसीका कर्मचारीले रकम असुल गर्ने अर्को तरिका हो,’ सिआइबीका एक अनुसन्धान अधिकृतले भने। सिआइबीले अहिले २०७८ सालयता भएका घोटालाको मात्रै अनुसन्धान गरिरहेको छ। पक्राउ परेका तत्कालीन महाप्रबन्धक झाका पालामा मात्र पाँच करोड घोटाला भएको अनुसन्धानले देखाएको छ।

कृषि फार्मबाट कसले कति रकम बुझे?

सिआइबीले गरेको अनुसन्धानमा १७ वटा कृषि फार्मबाट कर्मचारीले रकम बुझेको खुलेको छ। कर्मचारीहरूले सुशान्त पशुपालन केन्द्र, लालीगुराँस पशुपालन फार्म, एमएनएमबी भैंसी पालन तथा कृषि फार्म, सिर्जना पशुपालन तथा कृषि फार्मबाट रकम बुझेको तथ्य खुलेको छ।

त्यस्तै जयनरी पशु विकास फर्म, सक्रिय महिला दुग्ध उत्पादन सहकारी संस्था, सर्लाही एकीकृत कृषि तथा पशुपन्छी फार्म, सर्लाही डेरी उद्योग, जयप्रिय कृषि तथा सहकारी संस्था लिमिटेड, अन्नपूर्ण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, जोरपाटी दुग्ध उत्पादन सहकारी संस्था लिमिटेडलाई डिडिसीमा प्राप्त दुधभन्दा बढीबाट रकम भुक्तानी गरेर पछि आफ्नै खातामा लिएका थिए। सिम्ले दुग्ध खरिद बिक्री फार्म, राप्ती हरियाली दुग्ध उत्पादन सहकारी संस्था लिमिटेड, सर्लाही कृषि तथा पशुपन्छी फार्म, पन्त पशुपालन फार्म, सोडारी गाई फार्म, भैरवपुर भैंसी पालन पशुपन्छी फार्मबाट पनि कर्मचारीहरूले रकम बुझेको अनुसन्धानबाट खुलेको छ।

लालीगुराँस पशुपालन फार्मबाट मात्रै कर्मचारीको खातामा चार करोड ४२ लाख रुपैयाँ आएको छ। तत्कालीन महाप्रबन्धक झानिकट रामकेवल रायका नाममा विभिन्न कृषि फार्मबाट रकम आएको छ। दुर्घटनामा मृत्यु भएका रितेश राय यादवको खातामा लालीगुराँस पशुपालन फार्मबाट एक करोड ८६ लाख गएको छ। भैरवपुर भैंसी पालन पशुपन्छी फार्मबाट मात्रै रितेशका नाममा ६९ लाख ११ हजार जान्छ। रितेशको खातामा कृषि फार्महरूबाट दुई करोड ७८ लाख जम्मा भएको छ।

रितेश र रामकेवल पारिवारिक सदस्य हुन्। रामकेवलले आफ्ना छोरा जितेन्द्रकुमार यादवलाई पनि डिडिसीमै राखेका थिए। छोरा जितेन्द्रको खातामा किसानले २७ लाख रुपैयाँ दिएका छन्। सिआइबीको हिरासतमा रहेका रामकेवले विभिन्न कृषि फार्महरूबाट एक करोड १४ लाख बुझेको अनुसन्धानबाट खुलेको छ।

जितेन्द्रको खातामा एक करोड ३२ लाख जम्मा भएको छ। उनी पनि पक्राउ परिसकेका छन्। त्यस्तै जुनियर टेक्निसियनका रूपमा कार्यरत मनहरि शर्माको खातामा कृषि फार्महरूबाट एक करोड १५ लाख रुपैयाँ जम्मा भएको छ। उनको खातामा जोरपाटी दुग्ध उत्पादन संस्था भरतपुरबाट पैसा आएको हो।

जुनियर प्राविधिक सहायक विजय कुमार यादवले ‘सिम्ले दुग्ध खरिद बिक्री फर्म’बाट ४६ लाख १३ हजार रकम अवैध रूपमा बुझेका छन्। डिडिसीमै कार्यरत शिवनन्द रायले दैनिक पारिश्रमिकका नाममा विभिन्न कृषि फार्मबाट एक करोड ६९ लाख लिएको सिआइबी स्रोतले जनाएको छ।

पक्राउ परेका अर्का आरोपी नवीन राय यादवले एक करोड ९३ लाख लिएको तथ्य छ। अहिले आठ जना मात्रै पक्राउ परेका छन्। किसानसँग अवैध रूपमा पैसा असुल गर्ने र डिडिसी डुबाउने अन्य केही फरार छन्। उनीहरूको खोजी भइरहेको एआइजी चर्तुवेदीले बताए। ‘यसमा प्रधानमन्त्रीज्यूको पनि चासो छ। किसानको पैसा नेतृत्वकर्तादेखि तलको कर्मचारीसम्मले कसरी मिलेर लिन्थे भन्ने खुलेको छ। सबैलाई आपराधिक विश्वासघात र संगठित अपराधमा अनुसन्धान भइरहेको छ,’ एआइजी चर्तुवेदीले भने। उनीहरूलाई सात दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंबाट म्याद थप भइसकेको छ।

प्रकाशित: १६ कार्तिक २०८३ ०६:३६ सोमबार