जुम्लाका किसानलाई दसैँ सकिएलगत्तै मार्सी धान भित्र्याउन भ्याइनभ्याइ छ। बिहानै खेतमा पुग्ने किसान साँझ अबेरसम्म धान काट्ने र घर भित्र्याउने काममा व्यस्त छन्।
रोगकिराको संक्रमणले उत्पादनमा चुनौती थपिए पनि जुम्ली किसानले पुस्तौँदेखि खेती गर्दै आएको मार्सी धान रोप्न छाडेका छैनन्। जुम्लाको पहिचान, संस्कृति र किसानको आम्दानीसँग जोडिएको मार्सी धानको बजार माग उच्च छ। यस वर्ष मौसम अनुकूल रहेकाले उत्पादनसमेत बढ्ने अनुमान गरिएको छ।
सदरमुकाम खलंगामा अहिले मार्सी चामल प्रतिकिलो एक सय ८० रुपैयाँमा किनबेच भइरहेको छ। किसानले उत्पादन गरेको अधिकांश चामल सदरमुकामका कोसेली घरमा बिक्री गर्ने गरेका छन्। कर्णाली घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले समेत मार्सी चामल कोसेलीका रूपमा लैजाने गरेका छन्। अडिलो, स्वादिलो र पोषिलो मानिने मार्सी चामल ठूला होटलको खान्कीसमेत बनेको छ।
बजारमा राम्रो मूल्य र माग रहेकाले किसान यसप्रति आकर्षित छन्। मार्सी धानको आफ्नै कृषि चक्र छ। चैतमा बीउ राख्ने, जेठ–असारमा रोपाइँ गर्ने, साउन–भदौमा गोडमेल गर्ने र असोज–कात्तिकभित्र बाली भित्र्याउने गरिन्छ। यही चक्रअनुसार अहिले जुम्लाका धानखेतमा किसानको चहलपहल बढेको चन्दननाथ नगरपालिका–४ की देविकन्या चौलागाईंले बताइन्। उनका अनुसार दसैँपछि मार्सी धान काट्ने र थन्क्याउने कामले किसानलाई व्यस्त बनाएको छ।
जुम्लाको तातोपानी, गुठीचौर, पातारासी, चन्दननाथ, सिँजा, कनकासुन्दरी र हिमा गाउँपालिकाका विभिन्न क्षेत्रमा धानखेती हुँदै आएको छ। मार्सीसँगै किसानले कृषि अनुसन्धान केन्द्रले सिफारिस गरेका चन्दननाथ–१, चन्दननाथ–३, लेकाली–१ र लेकाली–३ जातका धानसमेत लगाउने गरेका छन्। रोगकिराको संक्रमणका कारण मार्सी उत्पादनमा उतारचढाव देखिए पनि स्थानीय पहिचान र बजारसँग जोडिएकाले यसको खेती निरन्तर भइरहेको छ।
कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा दुई हजार आठ सय ८८ हेक्टर क्षेत्रफलमा धानखेती हुँदा छ हजार एक सय २५ मेट्रिक टन उत्पादन भएको थियो। चालु आर्थिक वर्ष २०८३/८४ मा पनि सोही क्षेत्रफलमा धानखेती गरिएको छ।
यस वर्ष सात हजार मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको अधिकारीले बताए। गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन १५ देखि १६ प्रतिशतसम्म बढ्ने अपेक्षा गरिएको छ। ‘यस वर्ष रोगकिराको ठूलो प्रकोप देखिएको छैन। बाढीपहिरो र असिनाजस्ता प्राकृतिक विपत्तिले पनि उल्लेख्य क्षति नगरेकाले उत्पादन बढ्ने अनुमान गरेका छौँ,’ अधिकारीले भने। उनका अनुसार मौसम र प्राकृतिक प्रकोपको प्रभाव कम हुनु उत्पादन बढ्ने अपेक्षाको मुख्य आधार हो।
मार्सी धानको इतिहास जुम्लाको संस्कृति र परम्परासँग जोडिएको छ। करिब सात सय वर्षअघि जुम्लीका इष्टदेवता चन्दननाथले भारतको काश्मिरबाट मार्सी धानको बीउ ल्याएको विश्वास गरिन्छ। राणा शासनका बेला केन्द्रमा रहेका शासकका लागि यही धानको चामल हुलाकमार्फत काठमाडौंसम्म पुर्याउने गरिएको जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्य बताउँछन्।
कृषि विवरणअनुसार मार्सी चामलबाट जुम्लामा वार्षिक तीन करोड ५० लाख रुपैयाँ आम्दानी हुने गरेको छ।जुम्लामा २०२७ सालमा स्थापना भएको कृषि अनुसन्धान केन्द्रले १३ वर्षसम्म स्वदेशी तथा विदेशी जातका धानको बीउमा अनुसन्धान गरेको थियो। मार्सीको सक्कली बीउ अनुसन्धानका लागि केन्द्रमा राखिए पनि अन्यत्र हराइसकेको बताइन्छ।
समुद्र सतहबाट दुई हजारदेखि तीन हजार ५० मिटर उचाइसम्मका बेँसी, मध्य तथा उच्च क्षेत्रमा धानखेती हुने गरेको छ। पातारासी गाउँपालिका–३ स्थित छुमचौर ज्युलो समुद्र सतहबाट दुई हजार आठ सय ५० मिटर उचाइमा छ, जहाँ मार्सी धान फल्छ। उच्च भूभागमा धान फल्ने यही विशेषताले जुम्ली मार्सीलाई विशिष्ट पहिचान दिएको छ।
मार्सी धानसँगै जुम्लाका किसानलाई पाकेको कोदो, फापर, सिमी, मकै, भटमास र आलुलगायतका बाली भित्र्याउन पनि भ्याइनभ्याइ छ। यतिबेला किसान खेतबारीमा पाकेका बाली संकलन गरेर घर भित्र्याउन व्यस्त रहेको कृषि विकास कार्यालयका प्रमुख अधिकारीले बताए। तर, मार्सी धानको बजार र मूल्यले किसानलाई उत्साहित बनाइरहेका बेला जुम्लामा परम्परागत कोदोखेतीको क्षेत्रफल भने बर्सेनि खुम्चिँदै गएको छ।
अधिकारीका अनुसार आर्थिक वर्ष २०७७/७८ मा जुम्लामा तीन हजार आठ सय ४० हेक्टरमा कोदोखेती भएको थियो। आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा यसको क्षेत्रफल घटेर तीन हजार सात सय हेक्टरमा सीमित भयो। गत वर्ष दुई हजार सात सय ३५ हेक्टरमा कोदोखेती हुँदा तीन हजार आठ सय २१ मेट्रिक टन उत्पादन भएको थियो। चालु आर्थिक वर्षमा कोदोखेतीको क्षेत्रफल थप घटेर दुई हजार सात सय ३३ हेक्टरमा झरेको छ।
जुम्लामा कोदोको पिठो प्रतिकिलो एक सय ५० रुपैयाँ र कोदोको दाना प्रतिकिलो एक सय रुपैयाँमा बिक्री भइरहेको छ। सिमी दाल प्रतिकेजी २ सय ८०, दाना कालाे २ सय ७० र मिक्स २ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ।
फापरकाे पिठो २ सय ५० रुपैयाँ बिक्री भइरहेको छ। बजारमा राम्रो मूल्य हुँदाहुँदै पनि कोदोखेतीको क्षेत्रफल घट्दै जानुले यसको उत्पादन र संरक्षणमा चुनौती थपिएको देखाउँछ। उपलब्ध विवरणमा चालु आर्थिक वर्षको कोदो उत्पादन र उत्पादकत्व भने खुलाइएको छैन।
मार्सी धानको बढ्दो बजार माग र सम्भावित उत्पादन वृद्धिले जुम्ली किसानलाई परम्परागत खेतीप्रति उत्साहित बनाएको छ। तर, रोगकिराको जोखिम, खेतीयोग्य जमिनको उपयोग र कोदोखेतीको खुम्चिँदो क्षेत्रफलले स्थानीय कृषि प्रणालीको दिगोपनबारे प्रश्न उठाएको छ। जुम्लाका मौलिक बालीको संरक्षणसँगै उत्पादन वृद्धि, रोगकिरा नियन्त्रण र बजार व्यवस्थापनमा ध्यान दिन सके मात्रै कृषि उपजबाट किसानको आम्दानी बढाउन सकिनेछ।
प्रकाशित: ८ कार्तिक २०८३ ०९:०० आइतबार