त्रियुगा नगरपालिका ७ चुहाडेस्थित नमूना चोकका जीतेन्द्र राईले छोराको जन्मदिन पारेर बिहीबार साँझ भव्य भोज आयोजना गरे । जन्मदिनमा छिमेकीदेखि टाढा टाढाका आफन्तजनसमेत उनको निमन्त्रण मान्न आए। छोराको सुस्वास्थ्य, दीर्घायु र आरोग्यको कामना गर्दै बिहानदेखि पूजा आराधना गरे ।
साँझपख बालकको जन्मदिन ‘सेलिब्रेट’ गरिसकेपछि आगन्तुक निम्तालुले थरिथरिका खाद्य परिकारको भोज खाए। तर, भोज खाएर बिदा भएको केही बेरमै उनीहरू बिरामी हुन थाले । भोजमा सहभागी एक/दुईजना मात्र होइन, सबै आगन्तुक बिरामी परेपछि नजिकको मेडिकलदेखि जिल्ला अस्पतालसम्म भर्ना हुन पुगे । स्वास्थ्य परीक्षणको क्रममा चिकित्सकको सबैलाई एउटै जवाफ थियो ‘तपाईँलाई फुड पोइजन भएछ ।’
भोजमा खुवाइएको विषाक्त खानाका कारण मध्यरातसम्म जिल्ला अस्पताल गाईघाटमा मात्र २७ जना बिरामी भर्ना भएको प्रहरीले जनाएको छ । जन्मदिनमा भोज खानेहरू जलजले, चुहाडे र गाईघाट बजारका मेडिकलदेखि जिल्ला अस्पतालसम्म एउटै प्रकारका बिरामीले भरिए ।
भोज खाएर बिरामी परेकी सम्झना कार्कीका अनुसार सेल रोटी, अचार, पुरी, बुनिया, पुवा,तरकारी र मोही खुवाइएको थियो । खाएको आधा/एक घण्टादेखि अचानक पेट गडबड, रिँगटा छुट्ने हुँदै झाडा पखाला र बान्ता हुने गरेपछि अस्पताल आउनु परेको बिरामीहरूको भनाई थियो ।
अस्पतालका अनुसार भोजमा अखाद्य वस्तु प्रयोग भएका कारण यस्तो समस्या आएको हो । अस्पताल आएकामध्ये ३ पुरुष, ११ महिला, ५ बालबालिका र ८ बालक रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जसमध्ये शुक्रबार बिहानसम्ममा २ दर्जन निको भएर डिस्चार्ज भइसकेका छन् भने एक जना बालक अझै उपचारमै रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी केदारमान दोङले बताए ।
उनका अनुसार विषाक्त खानाले बिरामी परेको निश्चित भए पनि कुन खाना विषालु थियो भन्ने यकिन भईसकेको छैन । मैदा, तेल, अचार वा अन्य कुनै खाद्य पदार्थ बिषमा परिणत हुँदा यस्तो समस्या आउने गरेको डिएसपी दोङले बताएका छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग गाईघाटका प्रमुख मेनस श्रेष्ठका अनुसार बढी जसो अचारमा विषाक्त पदार्थ हुने गर्दा फुड पोइजन हुने गरेको छ । अचार काँचो खाद्य पदार्थबाट बनाइने परिकार भएकाले पकवानभन्दा अचारका कारण बढी फुड पोइजन हुने श्रेष्ठले बताए ।
‘भात, रोटी, तरकारी, पुरीजस्ता पकाएर बनाइने परिकारबाट फुड पोइजन हुने सम्भावना कमै हुन्छ’ खाद्य प्राविधिक श्रेष्ठले भने ‘तर, काँचो पदार्थबाट बनाइने अचारजस्ता परिकारले अलि बढी हानिकारक हुने गरेको छ ।’ पकाइएको परिकार पनि लामो समय राखेर (बासी) खायो भने चाहिँ फुड पोइजन हुने सम्भावना हुने हाकिम श्रेष्ठले बताएका छन् ।
प्रकाशित: २३ श्रावण २०८२ १४:४८ शुक्रबार