समाज

जुम्ला कारागारमा कैदीबन्दीको स्वास्थ्य तथा मानसिक अवस्था परीक्षण

कारागारभित्र रहेका कैदीबन्दीहरू प्रायः राज्यको स्वास्थ्य प्रणालीबाट ओझेलमा पर्ने वर्ग मानिँदै आए पनि जुम्लामा भने उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यप्रति गम्भीर चासो दिइएको छ । जनस्वास्थ्य कार्यालय जुम्लाले जिल्ला कारागार जुम्लामा रहेका कैदीबन्दीहरूको आधारभूत स्वास्थ्य तथा मानसिक स्वास्थ्य परीक्षण सम्पन्न गरेको हो ।

कैदीबन्दीहरूको स्वास्थ्य अवस्था पहिचान गरी आवश्यक उपचार, औषधि र परामर्श उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा जनस्वास्थ्य कार्यालय जुम्लाको नेतृत्वमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी तथा मानसिक स्वास्थ्य परामर्शदाताको टोली परिचालित थियो ।

स्वास्थ्य परीक्षणका क्रममा कैदीबन्दीहरूको सामान्य शारीरिक जाँचसँगै रक्तचाप, मधुमेह, पोषण अवस्था, दीर्घरोगको जोखिम र मानसिक स्वास्थ्यसम्बन्धी समस्यामा विशेष ध्यान दिइएको थियो । जनस्वास्थ्य कार्यालयका अनुसार कुल ७२ जना कैदीबन्दीको स्वास्थ्य जाँच गरिएको हो ।

परीक्षणको नतिजाले कारागारभित्रको स्वास्थ्य अवस्था चुनौतीपूर्ण रहेको संकेत गरेको छ । जाँच गरिएका मध्ये ८ जनामा उच्च रक्तचाप, १२ जनामा मधुमेहसम्बन्धी समस्या देखिएको छ भने २५ जनालाई मानसिक स्वास्थ्य परामर्श तथा थप परीक्षण आवश्यक परेको जनाइएको छ ।

जनस्वास्थ्य कार्यालयका अनुसार कारागारभित्र रहेका व्यक्तिहरू पनि संविधानले सुनिश्चित गरेको समान स्वास्थ्य अधिकारका हकदार नागरिक हुन् । ‘कारागारभित्र रहेका नागरिकलाई बेवास्ता गर्नु राज्यको जिम्मेवारीबाट पन्छिनु हो,’ शर्माले भने, ‘त्यसैले यस्ता स्वास्थ्य परीक्षण कार्यक्रम नियमित रूपमा सञ्चालन गर्ने योजना बनाएका छौं ।’

कार्यक्रमप्रति जिल्ला प्रशासन कार्यालयले पनि सकारात्मक प्रतिक्रिया जनाएको छ । प्रमुख जिल्ला अधिकारी दीपक पौड्यालले कैदीबन्दीहरूको स्वास्थ्य सुरक्षाका लागि गरिएको पहल सराहनीय रहेको भन्दै यसले मानवअधिकार संरक्षणमा समेत टेवा पुग्ने बताए ।

No description available.

स्वास्थ्य परीक्षणपछि कैदीबन्दीहरूले पहिलोपटक व्यवस्थित रूपमा स्वास्थ्य सेवा पाएको अनुभूति व्यक्त गरेका छन् । स्वास्थ्यकर्मीहरूका अनुसार यस्ता कार्यक्रमले रोगको प्रारम्भिक पहिचान, समयमै उपचार र मानसिक सन्तुलन कायम गर्न सहयोग पुर्‍याउनुका साथै कारागारभित्रको समग्र जीवनस्तर सुधारतर्फ महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

प्रकाशित: २६ पुस २०८२ २१:१८ शनिबार