समाज

ऊनबाट टोपी, टोपीबाट आम्दानी

जुम्लामा खरायोको ऊनले बुन्दैछ आत्मनिर्भरताको कथा

जुम्लाको चन्दननाथ नगरपालिका–८ कोटिला गाउँका ४८ वर्षीय रतन बुढाको हातमा अहिले पनि खरायोको ऊनसँगै भविष्य बुन्ने सीप छ। झन्डै २५ वर्षअघि सुरु गरेको सीप अहिले उनको परिवारको आम्दानीको भरपर्दो आधार बनेको छ।

२०५८ सालदेखि खरायोको ऊनबाट टोपी बुन्दै आएका रतनले घरमै सिकेको सीपलाई विस्तारै व्यवसायमा बदले। अहिले उनको गोठमा ४० देखि ४५ वटा ‘अंगुर’ जातका खरायो छन्। खरायो पालन र त्यसबाट हुने विभिन्न आम्दानीबाट उनले वार्षिक १ लाख ८० हजार रुपैयाँभन्दा बढी कमाउँदै आएका छन्।

खरायोको ऊनबाट एउटा टोपी तयार गर्न करिब तीन दिन लाग्छ। हातले बुनेको एउटा टोपी ३ हजारदेखि ३ हजार ५ सय रुपैयाँसम्ममा बिक्री हुन्छ। चन्दननाथ बहुउद्देश्यीय सहकारीले उनका टोपी खरिद गर्दै आएको छ। मागअनुसार उनका उत्पादन कालीकोट, सुर्खेतलगायत जिल्लासम्म पुग्छन्।

‘खरायोको टोपीको माग बढ्दो छ, पुर्‍याउन सकिँदैन,’ रतन भन्छन्, ‘यो चोखो आम्दानी हो। लगानी र परिश्रम त चाहिन्छ, तर आफ्नै मेहनत र सीपबाट राम्रो कमाइ गर्न सकिन्छ।’

रतनका लागि खरायो एउटा पशुमा मात्र सीमित छैन। एउटै पालनबाट आम्दानीका धेरै बाटा खुलेका छन्। टोपीका लागि ऊन उत्पादन हुन्छ, खरायोका बच्चा बिक्री हुन्छन् र ठूलो भएका खरायोसमेत बजारमा पुग्छन्। उनका अनुसार खरायोको बच्चा प्रतिजोडी ६ सय रुपैयाँ र ठूलो खरायो १ हजार रुपैयाँसम्ममा बिक्री हुन्छ।

खरायोबाट ऊन, ऊनबाट टोपी र टोपीबाट बजार-यही चक्रले उनको परिवारको दैनिकी धानेको छ।

‘तीन परिवारको लुगाफाटा, खाना, छोरा पढाउने सबै यही आम्दानीबाट भइरहेको छ,’ उनी भन्छन्।

यही आम्दानीबाट उनले प्रदेश राजधानी सुर्खेतमा जग्गा किनेर घरसमेत बनाएका छन्। श्रीमती र एक छोराको परिवारमा अहिले उनका छोरा कक्षा १२ मा अध्ययनरत छन्।

ऊन निकाल्न तीन महिना, हिउँदमा बुन्ने टोपी

रतनले खरायोको ऊन उत्पादनका लागि वर्षमा करिब तीन महिना ऊन निकाल्छन्। वर्षायाम सकिएपछि हिउँदका चार महिनामा खरायोको ऊन काट्ने गर्छन्। त्यसरी संकलन भएको ऊनलाई प्रशोधन गरेर टोपी बुन्ने गरिन्छ।

२०५८ सालमा सुरु भएको उनको टोपी बुन्ने यात्रा अहिले लामो अनुभवमा परिणत भइसकेको छ। यही सीपका कारण उनी अहिले आफैँ प्रशिक्षकसमेत बनेका छन्।

घरेलु तथा साना उद्योग कार्यालयले चार वर्षअघि उनलाई दुईपटक प्रशिक्षकका रूपमा जिम्मेवारी दिएको थियो। उनले हालसम्म २५ जनालाई खरायोको ऊनबाट टोपी बुन्ने सीप सिकाइसकेका छन्।

‘अहिले प्रशिक्षक भएर तालिम पनि दिन्छु,’ उनी भन्छन्।

राममायाको हातमा कुरुस, घरमा खरायो

कोटिला गाउँकै ३९ वर्षीया राममाया बुढाको कथा पनि खरायोको ऊन र कुरुससँगै जोडिएको छ। उनको घरमा अहिले ४० वटा खरायो छन्। खरायो पाल्छिन्, त्यसबाट ऊन निकाल्छिन् र त्यही ऊनबाट टोपी बुन्छिन्।

उनका लागि कुरुस र ऊन अहिले घरायसी आम्दानीको माध्यम मात्रै होइन, बचत र भविष्य सुरक्षित गर्ने आधारसमेत बनेका छन्।

राममाया विगत १० वर्षदेखि टोपी बुन्दै आएकी छन्। उनले पनि ‘अंगुर’ जातका खरायो पालेकी छन्। एउटा टोपी ३ हजारदेखि ३ हजार ५ सय रुपैयाँसम्ममा बिक्री गर्छिन्। एउटा टोपी तयार गर्न करिब चार दिन लाग्छ। काममा ढिलाइ भए एउटै टोपी बनाउन हप्तौँसम्म लाग्ने उनी बताउँछिन्।

वर्षमा न्यूनतम ३० देखि ३५ वटा टोपी बिक्री गर्ने गरेको उनको भनाइ छ। यसबाट उनले न्यूनतम १ लाख ३० हजार रुपैयाँ वार्षिक आम्दानी गर्छिन्।

टोपी बिक्रीबाट आएको रकमले घरका दैनिक आवश्यकताका सामग्री खरिद गर्छिन्। नुन, तेल, लुगाफाटा र साबुनजस्ता सामान किनेपछि बचेको रकम भने भविष्यका लागि बचत गर्छिन्।

‘बचेको रुपैयाँले पाँच वर्षदेखि जीवन बिमा गरेको छु,’ उनी भन्छिन्।

उनका अनुसार जीवन बिमामा वर्षको ५ हजार रुपैयाँ जम्मा गर्दै आएकी छन्। पाँच वर्षमा उनले २५ हजार रुपैयाँ जम्मा गरेकी छन्। त्यस्तै, चन्दननाथ सहकारीमा पनि नियमित बचत गर्दै आएकी छन्। मासिक ३ हजार रुपैयाँका दरले तीन वर्षदेखि बचत गरेकी उनको सहकारीमा करिब १ लाख ८ हजार रुपैयाँ जम्मा भएको छ।

सानैदेखि बुन्ने हात, अहिले आम्दानीको आधार

राममायाको टोपी बुन्ने यात्रा भने खरायोबाट सुरु भएको होइन। उनी सानैदेखि घरमै मोजा र पञ्जा बुन्ने गर्थिन्। हातले बुन्ने कामप्रति रहेको त्यही रुचिले उनलाई अहिले व्यवसायसम्म ल्याइपुर्‍याएको हो।

‘सानैदेखि मोजा, पञ्जा घरमै बुन्ने काम गर्थें। रुचाउने भएकाले आफ्नै प्रयासले यहीँसम्म पुगेकी हुँ,’ उनी भन्छिन्।

तीन वर्षअघि वडाले एकमहिने टोपी बुन्ने तालिम दिएपछि उनको सीपमा थप निखार आयो।

‘तालिमपछि झनै सजिलो भयो,’ उनी भन्छिन्।

तालिमकै क्रममा वडाले उनलाई ३ हजार रुपैयाँमा एक जोडी खरायो उपलब्ध गराएको थियो। त्यहीबाट विस्तार गर्दै अहिले उनको घरमा ४० वटा खरायो पुगेका छन्।

राममायाको परिवारमा श्रीमान्, दुई छोरा र एक बुहारी छन्। जेठो छोरा र श्रीमान् खेतीपाती गर्छन्। कान्छो छोरा नजिकैको सामुदायिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छन्।

खेतीपाती र खरायो पालनसँगै राममाया टोपी बुन्ने कामलाई निरन्तरता दिइरहेकी छन्।

‘टोपी बुन्ने कुरुस र ऊन मेरो साथी जस्तै भइरहेका छन्,’ उनी भन्छिन्।

औपचारिक शिक्षा धेरै अगाडि बढाउन नपाएकी राममायाले जीवनमा भने आफ्नै सीपलाई शिक्षाजस्तै बनाएकी छन्।

‘सानोमा अक्षरसम्म चिन्ने, पढेँ,’ उनी भन्छिन्।

बढ्दैछ खरायो पालन, बढ्दैछ टोपीको बजार

जुम्लामा पछिल्ला वर्षमा खरायो पालनसमेत बढ्दै गएको तथ्यांकले देखाउँछ। पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका अनुसार आर्थिक वर्ष २०७७/७८ मा जिल्लामा २ हजार ५ सय ७९ वटा खरायो थिए। आर्थिक वर्ष २०७९/८० मा यो संख्या बढेर ३ हजार पुगेको छ।

गत वर्ष मात्रै जुम्लामा करिब ७० लाख रुपैयाँ बराबरका खरायोका ऊनबाट बनेका टोपी बिक्री भएको कार्यालयको तथ्यांक छ।

खरायो पालनसँगै त्यसको ऊनबाट स्थानीय उत्पादन तयार गर्ने अभ्यासले जुम्लामा थप आर्थिक सम्भावना देखाएको छ। स्थानीय स्रोत, परम्परागत सीप र बजारलाई जोड्ने यस्तो अभ्यासले गाउँमै रोजगारी र आम्दानी सिर्जना गर्न सक्ने सम्भावना देखाएको छ।

जुम्लामा स्थानीय समारोह, स्वागत–विदाइ, विवाह, व्रतबन्धदेखि यहाँ आउने उच्च अधिकारी तथा विशिष्ट पाहुनाको स्वागतमा समेत स्थानीय टोपी प्रयोग गर्ने क्रम बढ्दो छ। पूर्वप्रधानमन्त्रीहरूले समेत जुम्लाको टोपी लगाइसकेका छन्।

खरायोको ऊनबाट बुनेको एउटा टोपी रतन र राममायाका लागि केवल पहिरन होइन, उनीहरूको श्रम, सीप र आत्मनिर्भरताको पहिचान बनेको छ।

प्रकाशित: ३ आश्विन २०८३ २०:२३ शनिबार