समाज

स्थायी जागिरभन्दा बगैंचामा हरिबहादुरको भविष्य

बिहानको चिसो हावासँगै जुम्लाको चन्दननाथ नगरपालिका–२ भण्डारी गाउँकाबाडामा रहेको हरिबहादुर कामीको बगैंचामा स्याउका पात हल्लिन्छन्। ती पातसँगै उनका तीन दशकका सपना, पसिना र संघर्षका कथा पनि हल्लिरहेका जस्तो देखिन्छ। जहाँ धेरैले दुर्गम भूगोल देखे, त्यहीँ हरिबहादुरले सम्भावना देखे।

३ हजार ७ सय ८० वर्गमिटर क्षेत्रफलमा फैलिएको यो बगैंचा आज केवल उनको मात्र होइन, सात जनाको परिवारको भविष्यको आधार बनेको छ। ३२ वर्षअघि सुरु गरेको कृषि कर्म आज ‘राजेश पब्लिक फलफूल नर्सरी एण्ड स्याउ प्रशोधन उद्योग’का रूपमा विस्तार भएको छ। यही बगैंचाले उनका छोराछोरीको शिक्षा, घरखर्च र आत्मसम्मान धानेको छ।

हाल उनको बगैंचामा २ सय ७६ वटा फल्ने स्याउका बोट छन्, जसबाट वार्षिक ५ देखि ७ लाख रुपैयाँ आम्दानी हुन्छ। यस्तै, १ सय ६० वटा फल्ने ओखरका बोटबाट वार्षिक ४ देखि ५ लाख रुपैयाँ बराबरको उत्पादन हुने गरेको छ। यो बगैंचाले केवल आम्दानी मात्र होइन, जुम्लाको माटोमा लुकेको सम्भावनाको उदाहरण पनि प्रस्तुत गरेको छ।

हाल हरिबहादुर कामी जुम्लाको दुर्गम पातारासी गाउँपालिका अन्तर्गतको पशु भेटेरिनरी शाखामा प्राविधिकका रूपमा कार्यरत छन्। तर उनी भन्छन्, ‘मेरो मासिक तलब ५० हजार रुपैयाँ मात्रै हुन्छ। त्यसले जीवन धान्न सक्दैन। छोराछोरीको पढाइ, घरखर्च सबै यही फर्मले धानेको छ। जागिर त देखाउने मात्रै हो।’

जुम्लाका धेरै युवालाई शहर पलायनबाट रोक्ने जीवित उदाहरण बनेका हरिबहादुरको कथाले आत्मनिर्भर कृषिको सम्भावना देखाएको छ। जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार चालू आर्थिक वर्ष ०८२/०८३ मा ४९१ जनाले राहदानीका लागि फाराम भरेका छन्। आर्थिक वर्ष ०८१/०८२ मा यो संख्या १ हजार ९४ थियो भने २०८०/०८१ मा १ हजार २ सय २५ जनाले राहदानी लिएका थिए।

‘संघर्षबाट भाग्ने होइन, सम्भावनालाई रोप्न जान्नुपर्छ,’ उनी भन्छन्।

 

प्रकाशित: ६ पुस २०८२ २०:३० आइतबार