समाज

उत्पादनलाई जोड दिँदै हलेसी, बाहिरका कुखुरा भित्र्याउन बन्देज

हलेसी तुवाचुङ नगरपालिका भवन

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले मासुका उपभोगलाई बाहिरबाट ब्रोईलर कुखुरा भित्रउन बन्देज लगाएको छ । नगरभित्रका किसानलाई व्यवसायिक बनाउँदै आयआर्जन गर्न सहयोग गर्ने उदेश्यले आयातित कुखुराको मासुमा प्रतिबन्ध लगाउन लागेको हो ।  

नगरभित्रका किसानले लोकल तथा ब्रोईलर कुखुराको व्यवसायिक पालन गर्दा मासुमा आत्मनिर्भर हुन मद्दत पुगोस भनेर बाहिरका कुखुरा आयातमा रोक लगाउने निश्कर्षमा पुगेको नगरप्रमुख बिमला राईले बताईन् । उनकाअनुसार नगरबासीले व्यवसायिक कुखुरा पालन गर्दा उनीहरुले गाउँघरमै बसेर आयआर्जन गर्ने तथा रोजगारी पनि सृजना हुने भएकाले यस्तो कदम चाल्ने योजना नगरले बनाएको हो ।

‘गाउँघरमै स्थानीयले कुखुरा पालन गर्न सके नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउन सकिने तथा रोजगारी सृजना पनि हुने ठहर छ’ मेयर राईले भनिन्, ‘त्यसले आयआर्जन बढाएर नगरबासीलाई आत्मनिर्भर बनाउने अर्को सकारात्मक पक्ष । त्यसैले बाहिरबाट मासुका लागि कुखुरा भित्र्याउन ननिने योजना ल्याइएको हो ।’  

बाहिरबाट कुखुरा भित्र्याउँदा रोग तथा प्रकोप भित्रिने जोखिमबाट बँच्न पनि यो तरिका अपनाउनु आवश्यक देखिएको उनको भनाई छ ।  

यसबारे नगरपालिकाले औपचारिक निर्णय भने गरिसकेको छैन । तर, केही दिनभित्रै नगर कार्यपालिका बैठक राखेर यो नीति लागू गर्ने मेयर राईको भनाई छ । कार्यपालिका बैठकले स्थानीय कुखुराको मासु मात्र बिक्री गर्न पाउने र बाहिरबाट कुखुरा ल्याउन पूर्ण रुपमा बन्देज लगाउने निर्णय गर्ने तयारी अनुसार आवश्यक खाका बनाईरहेको मेयर राईले बताएकी छिन् । 

प्रकाशित: १७ कार्तिक २०८२ १७:३३ सोमबार