बिहानको उज्यालोसँगै चन्दननाथ नगरपालिका–४ की मुनकौरा बुढा काँडाले भरिएको ढटेलोको झाङतिर लाग्छिन्। पिठ्युँमा निगालोको छान्नो, हातमा पञ्जा र लठ्ठी बोकेर उनी दिनभरि ढटेलो टिप्छिन्। साँझ घर फर्किँदा उनीसँग केवल दाना मात्र हुँदैन, परिवार पाल्ने आशा पनि हुन्छ।
जंगलमा बेवारिसे उम्रिने ढटेलो अहिले जुम्लाका ग्रामीण महिलाका लागि नगद आम्दानीको मुख्य आधार बन्न थालेको छ। ढटेलोको दानाबाट निकालिने तेल बजारमा प्रतिलिटर एक हजार रुपैयाँसम्ममा बिक्री हुन थालेपछि गाउँ–गाउँमा यसको संकलन तीव्र बनेको हो।
‘पहिले यसको मूल्य थाहा थिएन,‘ मुनकौराले भनिन्, ‘घरमै प्रयोग गर्थ्यौँ। अहिले बेच्न मिल्ने भएपछि सबै जंगलतिर लागेका छन्।‘
उनका अनुसार पहिलो वर्ष ४५ लिटर र गत वर्ष ३५ लिटर तेल निकालेकी थिइन्। यो वर्ष ढटेलो कम फले पनि झण्डै ५० लिटर तेल निकाल्ने गरी दाना संकलन गरिसकेको उनले बताइन्।
उक्त वडाकी गौरी रोकायाले गत वर्ष ढटेलोको तेल बेचेर ३५ हजार रुपैयाँ आम्दानी गरेको जानकारी दिइन्। यो वर्ष अझ बढी आम्दानी गर्ने लक्ष्यसहित उनी संकलन कार्यमा व्यस्त छिन्।
यता चन्दननाथ–५ का आनन्द अधिकारीका अनुसार चार किलो दानाबाट एक लिटर तेल निस्कन्छ। जुम्लामा मात्रै ८० हजार लिटरभन्दा बढी तेल उत्पादन गर्न सकिने सम्भावना रहेको उनको दाबी छ।
‘व्यवस्थित संकलन र बजारीकरण गर्न सके जुम्लाले वर्षेनि करोडौँ कमाउन सक्छ,‘ उनले भने।
साविक कर्णाली अञ्चलअन्तर्गत जुम्ला, कालिकोट, हुम्ला, मुगु को माथिल्लो भाग तथा डोल्पा का केही क्षेत्रमा ढटेलो प्रशस्त पाइन्छ। एकदेखि दुई मिटरसम्म अग्लो हुने यो बिरुवामा भदौदेखि दाना लाग्न सुरु हुन्छ भने चैतदेखि असारसम्म पाकेर टिप्न मिल्छ।

आयुर्वेद चिकित्सकहरूका अनुसार ढटेलोको तेल बाथरोग, जोर्नी दुखाइ तथा शरीरका विभिन्न पीडामा उपयोगी मानिन्छ। विभिन्न आयुर्वेदिक औषधिमा यसको प्रयोग भइरहे पनि यसको पर्याप्त अध्ययन भने हुन सकेको छैन।
यति ठूलो सम्भावना हुँदाहुँदै पनि ढटेलो अझै राज्यको प्राथमिकतामा पर्न सकेको छैन। किसानसँग आधुनिक प्रशोधन प्रविधि छैन। तेल निकाल्ने मिल नहुँदा धेरैले अझै परम्परागत तरिकाले हातैले तेल निकाल्ने गरेका छन्।
स्थानीयका अनुसार संरक्षण, अनुसन्धान र बजारीकरणमा ध्यान नदिए ढटेलो फेरि जंगलमै सीमित हुने खतरा छ। नयाँ पुस्ताले यसको नामसमेत बिर्सिन थालेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्।
कर्णालीका जंगलमा उम्रिएको यही काँडेदार वनस्पति अहिले गाउँको आत्मनिर्भरताको नयाँ आधार बन्ने संकेत देखिएको छ।
प्रकाशित: ११ जेष्ठ २०८३ १९:२४ सोमबार