समाज

दहमा डुबेर बालिकाको निधन

उदयपुरमा एक बालिकाको खोलाको दहमा डुबेर निधन भएको छ। बुधबार साँझ ५ः०० बजेको समयमा चौदण्डीगढी नगरपालिका-९ देवधारकी १४ वर्षीया आयुसा सदाको डुबेर निधन भएको हो।

प्रहरीका अनुसार चौदण्डीगढी नगरपालिका-१० देवधारस्थित खोला दहमा साथीहरूसँगै पौडी खेलिरहेकी सदा अचानक डुबेर बेपत्ता भएकी थिइन्। घटनाबारे जानकारी भएलगत्तै खटेको स्थानीय प्रहरी चौकीको टोलीले खोजबिनका क्रममा राति ७ः३० बजे मृत अवस्थामा भेटिएको हो।

मृतक आयुसा स्थानीय बुधन सदाको छोरी रहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बेलटारको टोलीले घटनास्थलको भर्खरै सर्जमिन मुचुल्का सकेर मृतकको शव पोष्टमार्टमका लागि बेलटारस्थित चौदण्डीगढी नगर अस्पताल लगेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रकाशित: ४ असार २०८३ ०७:०३ बिहीबार