जुम्लाको चन्दननाथ नगरपालिका–३ खोलीकोटका ४४ वर्षीय बिर्खबहादुर (बासुदेव) महत र ३९ वर्षीया लक्ष्मी खत्री (महत) दुवै स्वास्थ्यकर्मी पेशामा आबद्ध छन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, खलंगामा कार्यरत यो दम्पतीमध्ये बिर्खबहादुर रेडियोलोजीमा स्थायी कर्मचारी हुन् भने लक्ष्मी अस्थायी स्टाफ नर्सका रूपमा कार्यरत छिन्।
पछिल्लो समय उनीहरू 'गरिकुडा भाइरल जोडी' का रूपमा परिचित हुँदै आएका छन्। डिजिटल प्लेटफर्म टिकटक, युट्युब र फेसबुकमार्फत सामाजिक सन्देश प्रवाह गर्दै आएका उनीहरूले २०७६ सालदेखि भिडियो सामग्री उत्पादन सुरु गरेका हुन्।
नेपालमा कोभिड–१९ महामारीपछि उनीहरूको डिजिटल गतिविधि अझ तीव्र बनेको लक्ष्मी खत्री बताउँछिन्। उनका अनुसार पहिलो भिडियो खडेरीसँग सम्बन्धित थियो। खडेरीका कारण पानीका मुहान सुक्दै गएको र वातावरणीय संकट बढ्दै गएको सन्देशसहित बनाइएको उक्त भिडियो करिब ५० हजार भ्युज पुगेपछि उनीहरूको आत्मविश्वास बढेको थियो।
शुरुमा टिकटकप्रति अनिच्छुक रहेका बिर्खबहादुर पनि भिडियोले पाएको प्रतिक्रियापछि सक्रिय बने। त्यसपछि उनीहरूले सामाजिक कुरीति, बालविवाह, बहुविवाह, मर्यादित महिनावारी, छुवाछूत तथा स्वास्थ्य, शिक्षा र खानेपानीसम्बन्धी विषयमा जनचेतनामूलक सामग्री बनाउन थाले। ‘हामी सन्देशमूलक टिकटक बनाउँछौं,’लक्ष्मी भन्छिन्, ‘समाजका विकृति र कुरीतिविरुद्ध जनचेतना फैलाउनु हाम्रो उद्देश्य हो।’
स्थानीय तह, संघसंस्था तथा विद्यालय र क्लबहरूबाट उनीहरूलाई विभिन्न कार्यक्रम, सडक नाटक तथा जनचेतनामूलक अभियानमा निमन्त्रणा आउने गरेको छ। महोत्सवदेखि विवाह समारोहसम्म उनीहरूको प्रस्तुति हुने गरेको छ। लक्ष्मीका अनुसार ठूला होटल र कलेजहरूमा समेत उनीहरूको प्रस्तुति हुने गर्छ, जहाँ ५ सयभन्दा बढी दर्शक सहभागी हुने गरेका छन्।
उनीहरूलाई पारिश्रमिक भने निश्चित छैन्आयोजकको इच्छाअनुसार ४ हजारदेखि ३५ हजार रुपैयाँसम्म प्राप्त हुने गरेको छ। ‘हामी शुल्क तोक्दैनौं, आफ्नो सीप र कला प्रस्तुत गर्छौं, उहाँहरूले इच्छाअनुसार दिनुहुन्छ,’ लक्ष्मी भन्छिन्। कन्टेन्ट निर्माणबारे उनले भनिन्, ‘म विषय तय गर्छु, बड्डासँग सल्लाह गर्छु, संवाद मिलाउँछौं। स्क्रिप्ट हुँदैन, त्यसैले सामग्री स्वाभाविक हुन्छ।’
सुरुआती समयमा सामाजिक दबाबको डर भए पनि अहिले त्यो अवस्था परिवर्तन भएको छ। ‘महिलाले यस्तो विषयमा काम गर्दा घरपरिवारले के भन्ला भन्ने डर थियो,’ लक्ष्मी भन्छिन्, ‘तर अहिले आत्मविश्वास बढेको छ।’
डिजिटल प्रभावसँगै उनीहरू राजनीतिक व्यङ्ग्यात्मक सामग्रीमा समेत सक्रिय छन्। निर्वाचनका समयमा विभिन्न दलका प्रतिनिधिहरू आफैं घरमै आएर भिडियो बनाउन आग्रह गर्ने गरेको उनीहरू बताउँछन्।
परिवारमा पाँच सदस्य छन्, सासू, एक छोरा, एक छोरी र दम्पती स्वयं। व्यस्तताका कारण समय व्यवस्थापन चुनौतीपूर्ण भए पनि उनीहरूको डिजिटल अभियान निरन्तर जारी छ। युट्युब र फेसबुकबाट मोनेटाइजेसन भए पनि अपेक्षित आम्दानी नआएको उनीहरूको अनुभव छ।
फेसबुकबाट पहिलो पटक १६ हजार, दोस्रो पटक २१ हजार र तेस्रो पटक १४ हजार रुपैयाँ आम्दानी भएको लक्ष्मी बताउँछिन्।‘एक सय डलर पुगेपछि मात्र मोनेटाइज हुन्छ भन्ने सुनिन्छ,’ उनले भनिन्।
ग्रामीण जुम्लाबाट सुरु भएको उनीहरूको डिजिटल यात्रा आज सामाजिक सञ्जालमार्फत राष्ट्रिय स्तरसम्म पुगेको छ। स्वास्थ्यकर्मी पृष्ठभूमिबाट सामाजिक अभियन्तासम्मको रूपान्तरणसहित बिर्खबहादुर र लक्ष्मी अहिले ‘गरिकुडा भाइरल जोडी का रूपमा परिचित छन्।
प्रकाशित: १० जेष्ठ २०८३ १०:३७ आइतबार



