समाज

६ महिनापछि खुल्यो गाईघाट–जाँते सडक

सडक मर्मतपछि सञ्चालनमा आएको यात्रुबाहक बस । <br>

वर्षाले अवरुद्ध भएको गाईघाट–जाँते सडक ६ महिनापछि खुलेको छ । पुनर्निर्माण सकिएपछि यो सडकमा यात्रुबाहक बस सञ्चालन भएको छ ।  

सदरमुकाम गाईघाटबाट रौतामाईको मुर्कुची–पुँवारे–भुट्टार–लाफागाउँ हुँदै लिमचुङबुङको ५ नं. वडा जाँते जोड्ने खण्डको सडक मर्मत सकिएलगत्तै सञ्चालनमा आएको हो । वर्षा सुरु भएसँगै गत वैशाखदेखि नै बन्द भएको बस सेवा सञ्चालनमा आएपछि यात्रु खुसी भएका छन् भने लामो समयपछि व्यवसाय सञ्चालन गर्न पाएको खुसी व्यवसायीले साटेका छन् ।  

साँघुरो र घुमाउरो पहाडी कच्ची सडकहरु बिग्रेपछि यात्रुबाहक बसहरु चल्न नसक्ने हुँदा बोलेरो जीपबाट कठिनाईपूर्वक यात्रुहरु सदरमुकाम आउने जाने गरेका छन् । बोलेरो पनि बाटोमा फस्ने समस्याले यात्रा कष्टकर हुने गरेको थियो ।  

गाईघाटदेखि मुर्कुचीसम्म कालोपत्रेसहितको मदन भण्डारी लोकमार्ग भए पनि त्यसभन्दा उता मुर्कुचीदेखि जाँतेसम्मको सडक भने कच्ची मात्र भएकाले धेरै सकशपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । बीचमा रसुवा, खारी, हिले र खकिङ खोला पर्ने भएकाले थप समस्या झेल्नुपर्ने अवस्था छ ।  

भुट्टारकै हुल्मास्थित रसुवा खोलामा एउटा पुल गतवर्ष प्रदेश सरकार, पूर्वाधार विकास कार्यालयको लगानीमा असारबाट चल्ने गरि निर्माण भईसकेको छ ।  

रौतामाई गाउँपालिका अध्यक्ष वीरेन्द्र मगरले रसुवामा एउटा पुल सञ्चालनमा आएपछि धेरै सहज भएको तर, अझै ३ वटा पुल अत्यावश्यक भएको बताए । खारीमा बन्न थालेको र अब रसुवामा थप एउटा र हिले र खकिङमा कल्भर्ट टाईपकै भए पनि पुल जति छिटो बन्छ उत्ति सडक सहज हुने अध्यक्ष मगरले बताए ।  

मुर्कुची–भुट्टार २८ र भुट्टार लाफागाउँ १४ गरि रौतामाईभित्र ४२ किलोमिटर काटेपछि थप ३ किलोमिटर पार गरेपछि लिमचुङबुङ ५ जाँते पुग्ने यो सडक पहाडी भेगलाई जोड्ने सडकमध्ये मध्यमार्ग हो ।  

प्रकाशित: २८ कार्तिक २०८२ १९:४२ शुक्रबार