मंगलबार रातिदेखि बुधबार बिहानसम्म परेको अविरल वर्षापछि उदयपुरका विभिन्न स्थानमा बाढी र पहिरोले भौतिक क्षति पुर्याएको छ। पहिरोका कारण सडक अवरुद्ध हुनुका साथै खेतबारीमा क्षति पुगेको छ भने त्रियुगा नगरपालिका–१६ जालपा चिलाउनेस्थित भोर्ले माध्यमिक विद्यालय उच्च जोखिममा परेको छ।
विद्यालयको मुख्य प्रवेशद्वार नजिकै करिब १५ मिटर लामो पहिरो गएपछि पक्की भवन तथा करिब ३ सय विद्यार्थीको सुरक्षामा जोखिम बढेको वडाध्यक्ष मानबहादुर राईले बताए। स्थानीय जनप्रतिनिधि र प्राविधिक टोलीले स्थलगत निरीक्षण गरी मर्मत, पहिरो नियन्त्रण र राहतका लागि सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
वर्षाका कारण त्रियुगा–१६, रौतामाई, लिम्चुङबुङ र ताप्लीका विभिन्न सडकहरू पहिरोले अवरुद्ध भएका छन्। रौतामाई गाउँपालिका–७ मा बाढी–पहिरोले करिब एक दर्जन घरधुरीको धान र मकैबालीमा क्षति पुर्याएको छ भने निर्माणाधीन मुर्कुची–रौतापोखरी सडकका विभिन्न खण्ड भत्किएर यातायात पूर्ण रूपमा बन्द भएको छ।
स्थानीयले निर्माणाधीन सडकका कारण माटो खुकुलो भई पहिरो गएको दाबी गर्दै क्षतिपूर्तिको माग गरेका छन्। प्रभावित क्षेत्रका सडक सञ्चालन र जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायलाई पत्राचार गरिएको जनप्रतिनिधिहरूले बताएका छन्।
प्रकाशित: ३१ असार २०८३ १९:५८ बुधबार