पोखराको फिर्के खोलाको मापदण्ड मिचेर बनाइएका संरचना भत्काउन सुरु भएको छ।
पोखरा महानगरपालिकाले फिर्के खोलाको खोलाघर क्षेत्रमा बनाइएका अवैध संरचना भत्काउन सुरु गरेको हो। आइतबार बिहान तीन फरक ठाउँबाट संरचना भत्काउन सुरु गरेको महानगरले पहिलो दिन २६ वटा संरचना भत्काएको छ। आइतबार पोखरा–१८ का १२ वटा, पोखरा ४ मा १० वटा, पोखरा ५ मा २ वटा र पोखरा ७ र ८ को सिमानामा रहेका २ वटा संरचना भत्काएको छ।
पोखरा १८ मा ६ वटा स्थायी र ६ वटा अस्थायी संरचना भत्काइएको वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले जानकारी दिए। फिर्केखोलको सिरान क्षेत्रमा पर्ने यो वडामा ब्लकले बनेका ६ वटा टहरा भत्काइएको उनले बताए। बाँकी घरका पर्खाल, गेटलगायतका संरचना भत्काइएको उनको भनाइ छ।
पोखरा ४ मा १० वटा घरका संरचनाहरू भत्काइएको छ। कुनै घरका गेट, कुनैका पिल्लर त कुनैका पर्खाल भत्काइएका पोखरा–४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले जानकारी दिए। उनले भने, ‘खोलाघरमा परेका सबै संरचना भत्काएका छौं।'
पोखरा ५ का २ वटा संरचना भत्काइएको सो वडाका वडाध्यक्ष विष्णुप्रसाद बरालले जानकारी दिए। उनका अनुसार दुईवटै संरचना खोलाघरमा बनाइएका घर थिए। उनले भने, ‘हामीले खोलाघरमा बनाइएका घरका पिल्लर र पर्खाल भत्काएर क्लियर गरेका छौं।’
पोखरा–७ र ८ को सिमानामा भने २ वटा संरचना भत्काइएका छन्। जहाँ लायन्सको भवन भत्काएर सुरु गरिए पनि मजबुत कंक्रिटका कारण भत्काउन समय लागेको थियो। त्यही आडको अर्को एउटा मन्दिरको पनि संरचना भत्काउन सुरु गरिएको छ, यद्यपी पूरै भत्काउन भने बाँकी रहेको पोखरा ५ का अध्यक्ष बरालले जानकारी दिए।
आइतबार बिहानदेखि पोखरा ४ र ५ को सिमानामा पर्ने फिर्केपुल नजिकको क्षेत्र र पोखरा ७ र ८ को सिमानामा पर्ने जिरोकिलोमिटरस्थित फिर्केखोला पुल वरपरका ठाउँबाट अतिक्रमित संरचना भत्काउन सुरु गरिएको थियो। अवैध संरचना हटाउन पटक/पटक ३५ दिने सूचनालाई समेत अटेर गरेका उनीहरूले आइतबार भत्काउँदा भने अवरोध गरेनन्। खोलाघरको संरचना भत्काउँदा स्थानीयको पनि सहयोग रह्यो, पोखरा–५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले भने, ‘उनीहरूले केही दिन समय दिए आफैँ भत्काउने थियौं त भने, तर विरोध गर्ने, अवरोध गर्ने काम गरेनन्।’
अवैध संरचना भत्काउने कार्यको औपचारिक सुरुवात भने पोखरा ७ र ८ मा पर्ने जिरोकिलोमिटरस्थित फिर्केखोला मिचेर बनाइएको लायन्स क्लबको भवन भत्काएर सुरु गरिएको थियो। सो भत्काउने कार्यको सुरु गर्न मेयर आचार्य स्वयं उपस्थित भएका थिए।
अवैध संरचना भत्काउने कार्यको सुरु गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा अतिक्रमित संरचना भत्काउने र सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने अभियान सुरु भएको बताए। फिर्के खोलाबाट सुरु भएको यो अभियान पोखरा बसपार्क हुँदै पोखराका सबै क्षेत्रमा पुग्ने उनको भनाइ छ। 'यो सुरुवात हो,' उनले भने, ‘अब यो निरन्तर अघि बढ्छ र सबै सार्वजनिक सम्पत्तिको संरक्षण गरिनेछ।’
फिर्के खोला घरमा सोंपाल तमु समाजदेखि बराल समाज घरसम्म, लिटिल स्टेप र लिंकन कलेजको भवनदेखि लायन्स क्लबको भवनलगायतको संरचना बनाइएका छन्। यी सबै संघसंस्थाले पोखरा महानगरसँग अनुमति लिएर बनाएकाले भत्काउन नपाउने जिकीर गर्दै आएका थिए। तर उनीहरूले हालेको रिटलाई जिल्ला अदालत कास्कीले खारेज गरिदिएपछि अवैध संरचना भत्काउन सुरु गरिएको हो।
यसअघि पोखरा महानगरपालिकाले एक महिना लगाएर फिर्के खोलाको नापजाँच गरि प्रतिवेदन बनाएको थियो। सो प्रतिवेदन अनुसार फिर्के खोलामा मापदण्ड मिचेर १६० वटा संरचना निर्माण भएका छन्। जसमा ४५ वटा स्थायी र ११५ वटा अस्थायी प्रकृतिका संरचना निर्माण भएका छन्। जसमध्ये खोलामाथि १८ वटा स्थायी र १० वटा अस्थायी संरचना निर्माण भएको प्रतिवेदनमा उल्लेख छ। त्यसबाहेक खोलाको मापदण्ड मिचेर थप ३५ वटा स्थायी र ९७ वटा अस्थायी संरचना निर्माण भएका छन्। यी सबै भत्काइने महानगरले जनाएको छ।
अतिक्रमणको चपेटामा परेको करिब ८ किलोमिटरको यो फिर्के खोलामा नापजाँचपश्चात ५८८ सीमा स्तम्भहरू गाडिएका छन्। जसअनुसार खोलाको पश्चिमतर्फ ३०३ वटा र पूर्वतर्फ २८५ वटा सीमा स्तम्भ गाडिएको महानगरको प्रतिवेदनमा उल्लेख छ। सो सीमा स्तम्भभन्दा भित्रपट्टीका अतिक्रमित स्थायी तथा अस्थायी दुवै प्रकारका संरचना हटाइने मेयर आचार्यले जानकारी दिए।
फिर्केखोला साबिक ग्यारजाती, पछि सराङकोट गाविस हुँदै हाल पोखरा महानगरपालिका वडा–नं.१८, २, ४, ५, ७, ८, ६ र १७ भएर फेवातालमा मिसिएको छ। फिर्के खोलाको खोलाघर नापजाँच समितिका संयोजक वासुदेव पौडेलका अनुसार नापजाँचका क्रममा फिर्के खोला न्यूनतम ३.३० मिटरदेखि उच्चतम ४० मिटर चौडाइसम्म फराकिलो भएर फैलिएको पाइएको छ। खोलाको उचाइ ४ देखि ९ मिटरसम्मको गहिराइ रहेको उनले बताए।
प्रकाशित: १० जेष्ठ २०८३ १९:५८ आइतबार