समाज

उदयपुरमा आगलागी हुँदा २२ लाख बराबर क्षति

आगलागीबाट उदयपुरमा घर र फर्निचर पसल जल्दा लाखौँको क्षति भएको छ। सोमबार दिउसो ५:३० बजे चौदण्डीगढी नगरपालिका ४ बर्खेडाँडास्थित बबिना राईको २ तल्ले घरमा आगलागी भएको हो।

आगलागीमा परि घरको भुईँ तलामा रमेश राईले भाडामा सञ्चालन गरेको फर्निचर पसल र घरभित्रका सम्पूर्ण सामान गरी १० लाख बराबरको क्षति भएको छ। त्यसैगरी रमेश राईको फर्निचरका तयारी सामान, नगद २० हजार तथा चाँदीसहित २ लाख बराबरको क्षति भएको छ।

दुवै जनाको गरी १२ लाख  बराबरको भौतिक क्षति भएको घटनास्थलको सार्वजनिक मुचुल्काले जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। आगलागीको जानकारी प्राप्त हुनासाथ खटेको इलाका प्रहरी कार्यालय बेल्टार र प्रहरी चौकी बसाहाको संयुक्त टोली घटनास्थल पुगेर स्थानीय बासिन्दा र चौदण्डीगढी नगरपालिकाको दमकल सहायताले ३ घण्टा लगाएर आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको थियो।

आगलागी के कारणले भयो भन्ने बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

वडाध्यक्ष लुँगराज राईले अग्नि पीडितहरूलाई नजिकै छिमेकीको घरमा बसोबासको व्यवस्था मिलाइएको बताए। उनीहरूलाई तत्कालका लागि खाने, बस्ने र आवासको व्यवस्था वडाबाट गरिएको र थप राहतका लागि नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा सिफारिस पठाएको वडाध्यक्ष राईले बताएका छन्।

प्रकाशित: १९ जेष्ठ २०८३ १०:१२ मंगलबार