समाज

झोला बनाउने गोदाममा आगलागी हुँदा ३६ लाखको क्षति

ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ४ मा गएराति आगलागी हुँदा ३६ लाख रुपैयाँ बराबरको क्षति भएको छ। कञ्चनजङ्घा चोकमा रहेको महेन्द्र सार्कीको झोला बनाउने गोदाममा मंगलबार साँझ ७ बजे आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको प्रहरीले जनाएको छ। 

सार्कीको एक तले पक्की घरमा विद्युत सर्ट भइ आगलागी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए। बस्नेतका अनुसार गोदाममा आगलागी हुँदा तीन लाख रुपैयाँ बराबरको झोला बनाउने मेसिन, २० लाख रुपैयाँ बराबरको तयारी भएका झोला र १३ लाख रुपैयाँ बराबरको झोला बनाउन प्रयोग गरिने सामग्री गरी जम्मा ३६ लाख रुपैयाँ बराबरको क्षति भएको छ। 

आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरी निरीक्षक बस्नेतको भनाइ छ। आगो प्रहरी, नेपाली सेना, चाडपर्व लक्षित संयुक्त पेट्रोल गस्ती टोली, दमकल र स्थानीय बासीको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।

प्रकाशित: ५ कार्तिक २०८२ ०९:११ बुधबार