समाज

रसुवाका बाढीपीडितका लागि जुम्लामा पनि जुट्यो आर्थिक सहयोग

फाइल तस्बिर

रसुवा जिल्लामा भदौ १० गते आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि जुम्लाबाट आर्थिक सहयोग गरिएको छ। 

जुम्ला उद्योग वाणिज्य संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख एक हजार रुपैयाँ जम्मा गरेको छ। संघका अध्यक्ष दिलबहादुर रोकायाका अनुसार रसुवामा भएको जनधनको क्षति र भौतिक संरचनाको पुनर्निर्माणमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको हो। बाढीबाट रसुवामा सडक, पुल, घरलगायत विभिन्न भौतिक संरचनामा क्षति पुगेको भन्दै संघले विपद्पीडितको पुनर्स्थापनामा राज्यको प्रयासलाई सहयोग गर्ने उद्देश्यले रकम उपलब्ध गराएको जनाएको छ।

संघका उपाध्यक्ष बालकृष्ण बुढा क्षेत्रीले प्राकृतिक विपद् कुनै एक क्षेत्र वा समुदायको मात्र समस्या नभई साझा संकट भएकाले पीडितको साथमा उभिनुपर्ने बताएका छन्। राहत तथा उद्धारलाई प्रभावकारी बनाउन सरकार, निजी क्षेत्र, सामाजिक संघसंस्था र नागरिक समाजबिच सहकार्य आवश्यक रहेको उनको भनाइ छ।

यसैगरी जुम्ला हार्डवेयर सप्लायर्सका सञ्चालक रवीन्द्र महतले नेपाल सरकारको राहत कोषमा ५५ हजार पाँच सय ५५ रुपैयाँ सहयोग गरेका छन्। प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापना सहयोग पुग्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो। हार्डवेयर सप्लायर्समा कार्यरत कर्मचारीहरूले समेत आफ्नो पारिश्रमिकबाट रकम संकलन गरी राहत कोषमा ४८ हजार पाँच सय रुपैयाँ सहयोग गरेका छन्।

यस्तै, पेस नेपाल जुम्लाका कार्यकारी निर्देशक किशोर न्यौपानेले रसुवा बाढीपीडितका लागि २५ हजार रुपैयाँ सहयोग प्रदान गरेका छन्। रसुवामा आएको विपद्पछि जुम्लाका निजी क्षेत्र, व्यवसायी तथा सामाजिक क्षेत्रसँग आबद्ध व्यक्तिहरूले पीडितको राहत र पुनर्स्थापना लागि सहयोग गर्दै आएका छन्।

प्रकाशित: १६ भाद्र २०८३ ०९:५१ मंगलबार