ताप्लेजुङमा छुट्टाछुट्टै घटनामा एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ भने घर जाने क्रममा हिँडेका एक वित्तीय संस्थाका कर्मचारी सम्पर्कविहिन भएका छन्।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार सिदिङ्वा गाउँपालिका–४ साब्लाखुकी ५० वर्षीया सीता बर्देवाको भीरबाट लडेर मृत्यु भएको हो। स्थानीय चुहानडाँडा भीरबाट लडेकी बर्देवा सोही भीरको पुछार क्षेत्र ढाँडवारीमा मृत अवस्थामा फेला परेकी थिइन्।
स्थानीयका अनुसार उनी किराना पसलबाट सामान खरिद गरी घर फर्कने क्रममा भीरबाट लडेको हुन सक्ने अनुमान गरिएको छ। प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवको पोस्टमार्टमपछि आफन्तलाई बुझाएको जनाएको छ।
यसैबीच, फुङलिङस्थित ग्रामीण लघुवित्त वित्तीय संस्था लिमिटेडका कर्मचारी २३ वर्षीय सिद्धार्थ अधिकारी सम्पर्कविहिन भएका छन्।
झापाको भद्रपुर नगरपालिका–८ निवासी अधिकारी कार्यालय बिदापछि घर जाने क्रममा हिँडेका थिए। तर उनी घर नपुगेपछि परिवारले खोजीका लागि प्रहरीमा निवेदन दिएका छन्।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी बिध्यालाल कुमार शाहका अनुसार अधिकारीको खोजी सुरु गरिएको भए पनि अहिलेसम्म सम्पर्क स्थापित हुन सकेको छैन। प्रहरीले परिवारसँग समेत सम्पर्क गरी अवस्थाबारे जानकारी लिएको जनाएको छ।
प्रहरीका अनुसार शुक्रवार कार्यालय बिदापछि घरतर्फ लागेका अधिकारी सोमबार कार्यालय खुल्दा पनि उपस्थित भएका थिएनन्। मंगलबार अपराह्नसम्म पनि उनी सम्पर्कमा नआएको र उनको मोबाइल फोनसमेत बन्द रहेको प्रहरीले जनाएको छ।
प्रहरीले अधिकारीको खोजी कार्य जारी राखेको जनाएको छ।
प्रकाशित: ५ श्रावण २०८३ १६:१६ मंगलबार