समाज

५ वर्षअघि विस्थापित भएका परिवारले अझै पाएनन् क्षतिपूर्ति

५ वर्षअघि उदयपुरको कटारी नगरपालिका-१० सोरुङछबिसेस्थित तिल्केचौरमा पुरै गाउँ विस्थापित हुने गरी जमिनमा धाँजा फाट्यो। मध्ये वर्षायामका बेला ०७७ भदौमा झण्डै डेढ सय रोपनी क्षेत्रफल ओगटेको तिल्केचौरको जमिन चिरा परेर फाटेपछि स्थानीयहरू आत्तिए ।

उनीहरुले भनेपछि प्रशासन, प्रहरी र कटारी नगर जनप्रतिनिधिसहितको टोलीले स्थलगत अनुगमन गर्न पुग्यो । टोलीले केही समयपछि बस्ती स्थानान्तरण गर्ने आश्वासन दिँदै तत्काल सुरक्षित ठाउँमा अस्थायी बसोबास गर्न भन्यो । नगरपालिकाले विपद् व्यवस्थापन कोष र भूगर्भ विभागसँग पनि समन्वय गरेर प्रतिनिधि मगाई स्थलगत अध्ययन अवलोकन गरायो ।

विभागले सो ठाउँ मानव बस्ती बस्न लायक नभएको प्रतिवेदन दिँदै सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सिफारिस गर्‍यो । बस्तीकै जमिन फाटेपछि स्थानीय बालकृष्ण थापा,  मीनबहादुर थापा, गीता गिरी, डाकबहादुर थापा, यज्ञबहादुर थापा र केशव बस्नेत गाउँ छाडेर विस्थापित भए । उनीहरुलाई सोही वडाको अन्य बस्ती र कटारीकै अन्य वडामा स्थानान्तरण गर्न भनियो ।

मीनबहादुर र डाकबहादुर ०८१ भदौ दोस्रो सातातिरसोरुङ छबिसेकै सुरक्षित ठाउँमा बसाइँ सरे । बालकृष्ण भने जन्मथलोको माया हुँदाहुँदै घरै भत्काउने गरी जमिन चिरा परेपछि०८१ वैशाख दोस्रो साता तिल्केचौरबाट कटारी ५ स्थित बरमझिया बसाइँ सरे।

भूगर्भ विभागले जमिन धाँजा फाटेर बस्न नमिल्ने ठहर गर्दै नगरपालिकाले त्यहाँ बसोबास गर्दै आएका १७ घरधुरीमध्ये ६ परिवारलाई अन्यत्र सुरक्षित हुन भनेको थियो । १२ घर परिवार भने अझै चर्केको जमिनमै अहिले पनि जोखिम मोलेर बसिरहेका छन्।

बसाई सरेका परिवारलाई सरकारले घर बनाउने रकम सहयोग गर्ने बचन दिएको थियो ।तर, यत्तिका दिनसम्म कसैले सहयोग नपाएको गुनासो उनीहरूको छ । जोखिम मोलेर बसिरहेका परिवार तथा सुरक्षित ठाउँमा बसाई सरिसकेकालाई बसाइँ सरेर गएको ठाउँमा नयाँ घर बनाउन रकम दिने आश्वासन दिइएको थियो ।

भूगर्भ विभागको प्रतिवेदनका आधारमा क्षतिको कारण बसाइँ सर्न बाध्य भएका पीडित घरधुरी परिवारलाई नगरपालिकाको विपद् व्यवस्थापन कोषमार्फत स्थानीय सरकार, प्रदेश र संघीय सरकारको साझेदारीमा नयाँ घर बनाउन सहयोग गर्ने भनेर दिएको वचन पुरा नगरेकोमा पीडितहरू दुःख मनाउ गर्दै छन् ।

‘५ वर्षअघिदेखिको समस्यामा अझै सरकारले आँखा देखेको छैन’ बालकृष्णले भने ‘सुरक्षित हुने गरी कतै बसाइँ सरिराख्नु, हामी पाउनुपर्ने रकमको व्यवस्था गरिदिन्छौँ भनेका थिए, तर यत्तिका वर्ष भयो अत्तोपत्तो छैन ।’अन्य पीडित परिवारको पनि गुनासो उस्तै छ । घर बनाउने बजेट दिन्छौँ भनेकाले ऋण गरेर बनाएको झुप्रोमा बसार्इँ सरेको भन्दै उनीहरुले अहिलेसम्म सहयोग नपाउँदा ऋण तिर्न नसकेर थप पीडा भएको दुःखेसो गरे ।

तिल्केचौरमा २०७२ सालको भूकम्पपछि जमिन खलबलिएर यस्तो समस्या आएको भूगर्भ विभागको ठहर छ । विभागको प्रतिवेदन उद्धृत गदै कटारी नगरप्रमुख राजेशचन्द्र श्रेष्ठ भन्छन् ‘भूकम्पमा हल्लिएर जमिनको भित्री सतह खलबलिएकाले वर्षायाममा धाँजा फाटेको हो । अग्लो थुम्को भएकाले भित्री सतह खल्बलिदा यस्तो समस्या आएको भन्ने छ ।’

स्थानीय अशोक विष्टका अनुसार तिल्केचौरको जमिन भूकम्पकै बेला केही भासिएको महसुस भएको थियो ।भूकम्प लगत्तै बारी भासिएको देखिएको तर, २०७७ को मध्ये वर्षामा भने धाँजा फाटेकाले त्यहाँका घर गोठहरू भत्कन थालेपछि गाउँ विस्थापित हुन पुगेको उनले बताए ।

कटारी १० का वडाध्यक्ष क्षेत्रबहादुर खड्काले विस्थापित परिवारलाई घर बनाउने बजेट दिने निर्णय भएको बताउँदै के कारण नपाएको भन्नेबारे थाहा नभएको बताए । जमिन फाटेपछि घर मतान भत्कन थालेकाले अन्यत्र सुरक्षित गर्न नगरपालिकाले घर बनाउन राहत र क्षतिपूर्ति दिने निर्णय गरेको भए पनि कसरी त्यो काम बाँकी रह्यो भन्ने बुझ्ने उनले बताए ।

मेयर श्रेष्ठले जमिन फाटेपछि सबभन्दा पहिला उनीहरुलाई सुरक्षित गर्नेतर्फ ध्यान दिएको बताउँदै घर बनाउने सहयोग रकम उपलब्ध गराउन प्रक्रियागत ढिलाई भएको बताए । तीन तहको सरकारको साझेदारीमा रकम दिनुपर्ने भएकाले कानुनी प्रक्रियाहरू नमिलेर ढिलाई भएको भन्दै मेयर श्रेष्ठले सबै पीडितले रकम पाउने बताएका छन् ।  

प्रकाशित: ६ भाद्र २०८२ १३:३७ शुक्रबार