समाज

जुम्लामा दसैँ-तिहारका लागि सुपथ मूल्य पसल सुरु

जुम्लामा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ। आउँदै गरेको दसैँ र तिहारलाई लक्षित गरी पसल सञ्चालनमा ल्याइएको हो। सोमबारदेखि सुरु भएको सुपथ मूल्य पसलको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खाद्य व्यवस्था समितिका अध्यक्ष गौरीनन्द आचार्यले गरेका छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाका अनुसार ६ वटा आइटम चामल र चिनी बिक्री वितरण हुनेछ।  

खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा प्रमुख मनोज जोशीका अनुसार प्रतिकेजी ५ रुपैयाँ छुट दिइनेछ। उनका अनुसार सुपथ मूल्य पसल सञ्चालनका लागि कुल ११ सय क्विन्टल चामल र २ सय क्विन्टल चिनी छुटाइएको छ। जसमा अरुवा मोटा चामल प्रतिबोरा २५ किलोको १ हजार ४ सय २५ रुपैयाँ, एफआर अरुवा मोटा १ हजार ४ सय २५ रुपैयाँ, अरुवा मध्यम चामल १ हजार ५ सय, एफआर अरुवा सोना मन्सुली १ हजार ५ सय, स्टिम जिरा मसिनो चामल २ हजार १ सय २५ रुपैयाँ र एफआर स्टिम जिरा मसिनो चामल २ हजार १ सय २५ रुपैयाँमा बिक्री हुने उल्लेख छ।  

चामलका प्याक २५ किलोका छन्। प्रतिकेजी ५ रुपैयाँ छुट दिएर बिक्री गरिनेछ। सुपथ मूल्य पसलबाट उपभोक्ताले प्रतिबोरामा १ सय २५ रुपैयाँ छुट पाउने छन्। चिनी प्रतिकेजी १ सय रुपैयाँमा बिक्री गरिनेछ। बजारको न्यूनतम चामल २ हजार देखि २ हजार ५ सय रुपैयाँ पर्छ। विपन्न नागरिकलाई राहत पुग्ने छ। यता जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले हरेक वर्षजस्तै जुम्लामा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन भइरहेकोमा खुसी लागेको बताए। नागरिकलाई सेवा लिन अपिल गरे। गत वर्ष एकै दिन डेढ सय क्विन्टलसम्म सुपथ मूल्यको चामल बिक्री भएको थियो।  

चालु आर्थिक वर्षका लागि जुम्लामा कुल ६ हजार क्विन्टल चामल स्वीकृत भएको छ। आवश्यकता अनुसार चामल ढुवानी भइरहेको खाद्य संस्थानले जनाएको छ। हाल खाद्य संस्थानको गोदाममा कुल मौज्दात २२ सय क्विन्टल चामल छ, चार हजार क्विन्टल कारागारका लागि छुटाइएको छ। सुपथ मूल्य पसल आगामी कात्तिक १० गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित: ३१ भाद्र २०८२ ११:४८ मंगलबार