कास्कीको अन्नपूर्ण गाउँपालिका-१ स्थित घट्टेखोलामा आज दिउँसो सुक्खा पहिरो खस्दा पोखरा-बागलुङ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार दिउँसो करिब ३ बजे खसेको पहिरोका कारण राजमार्गमा दुवैतर्फको सवारी आवागमन ठप्प भएको हो।
पहिरो पन्छाएर अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी, प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए।
उनका अनुसार पहिरो खसेलगत्तै वडा प्रहरी कार्यालय बगरका प्रहरी निरीक्षक राम सापकोटाको नेतृत्वमा २० जनाको प्रहरी टोली डोजरसहित घटनास्थलमा परिचालन भएको छ।
‘पहिरो खुलाउने प्रयास सुरु भइसकेको छ, सम्भवतः साँझसम्ममा अवरुद्ध बाटो खुल्नेछ,’ प्रहरी निरीक्षक रिजालले भने। बाटो बन्द भएपछि पोखरा र बागलुङतर्फ जाने सवारीसाधनहरू बाटोमै रोकिएका छन्।
प्रकाशित: २३ कार्तिक २०८३ १७:५३ सोमबार