समाज

दोभान आ’गलागीमा १४ करोड ५६ लाखको क्षति

ताप्लेजुङको दोभान बजारमा बिहीबार भएको आगलागीबाट कुल साढे १४ करोड रुपैयाँ भन्दा बढीको क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विन्देश्वर यादवका अनुसार १४ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

यादवका अनुसार सबैभन्दा बढी क्षति चन्द्र पौडेलको पक्की घर र उक्त घरमा रहेको किराना सामानको मूल्य गरी कुल ५ करोड रुपैयाँको क्षति भएको छ।

घनश्याम खरेलको अर्धपक्की घर,पसल र अलैँची गोदाम गरी २ करोड, याम लिम्बूको घर र उक्त घरमा रहेको होटेल गरी ८० लाख रुपैयाँको क्षति भएको प्रहरीले जानकारी दिएको छ।

आगलागीमा राजु शेर्पा भनिने आङमिङमा शेर्पाको अर्धपक्की घर जल्दा ३५ लाख, सोही घरमा भाडामा बस्ने अनुष्का आङवुहाङको ९ लाख र मोहन आङवुहाङको मासु पसलमा २ लाख बराबरको क्षति भएको छ।

आगलागीमा सुकविर लिम्बूको अर्धपक्की घर जल्दा ३१ लाख ५० हजार रुपैयाँ,उनको घरमा भाडामा बस्ने पवन लिम्बूको मासु पसलमा १ लाख ५० हजार, भाडामा बस्ने हरि तामाङको १ लाख र भाडामा बस्ने कमल बर्देवाको कपडा पसलको ३ लाख मूल्य बराबरको क्षति भएको छ।

आगलागीमा डण्डु शेर्पाको अर्धपक्की जर जल्दा २ करोड, भीम लिम्बूको दुईवटा अर्धपक्की घर जल्दा ९० लाख रुपैयाँ भीम लिम्बूको घरमा भाडामा बस्ने श्याम लिम्बूको होटेल जल्दा २५ लाख, सुमन लिम्बूको २५ लाख, लाक्पा शेर्पाको होटेल जल्दा ३० लाख रुपैयाँ क्षति भएको प्रहरीले जनाएको छ।

भीम लिम्बूको घरमै भाडामा बस्ने सुकराज गहतराजको सुनचाँदी पसल जल्दा ५० लाख, योगेन शेर्पाको १० लाख, फुर्वा शेर्पाको १ लाख ५० हजार, सविन चुँडालको २० लाख, लक्ष्मी लिम्बूको १० लाख र घनश्याम खरेलको १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ।

आगलागीबाट राजेन्द्र पौडेलको पक्की घर र घरमा रहेको किराना पसल जल्दा १ करोड ३० लाख रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ।

बिहीबार भएको आगलागीमा ८ जना घरधनीका १० घर जलेका छन् भने डेरा गरी बस्ने ९ गरी कुल  १७ घर परिवार विस्थापित भएका छन्।

प्रकाशित: ९ आश्विन २०८३ १४:३६ शुक्रबार