समाज

बेपत्ताको पहिचानका लागि आफन्तको डिएनए परीक्षण सुरु

रसुवाको भोटेकोशीमा आएको बाढीमा बेपत्ता भएका जुम्लाका नागरिकको अवस्था अहिलेसम्म पनि पत्ता नलागेपछि उनीहरूको पहिचानका लागि आफन्तको डिएनए परीक्षण गरिने भएको छ।

त्यसका लागि जुम्लामा आफन्तको रगतको नमुना संकलन सुरु गरिएको छ। जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका अनुसार सोमबार पातारासी गाउँपालिकाका विभिन्न गाउँमा ३२ जनाको रगतको नमुना संकलन गरिएको छ।

पातारासीका लाम्री, तिर्खु, माथिल्लो लोर्पा, तल्लो लोर्पा, बाता, लुम र जप्न गाउँका ४९ जना बाढीपछि सम्पर्कविहीन छन्। बाढीपछि लामो समयसम्म खोजी गर्दा पनि बेपत्ता नागरिकको अवस्था पत्ता नलागेपछि जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार डिएनए परीक्षणका लागि नमुना संकलन सुरु गरिएको हो।  

‘केही आफन्तले काठमाडौंमा र केहीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पुगेर रगत दिइसक्नुभएको छ,’ जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख किरण शर्माले भने, ‘बाँकी आफन्तको गाउँमै पुगेर नमुना संकलन गरेका हौं।’

नमुना संकलनको दोस्रो दिन गुठिचौर गाउँपालिकामा पनि टोली पुगेको थियो। गोठीगाउँ, मुडुरी र चौत्रा गाउँका सम्पर्कविहीन नागरिकका आफन्तमध्ये ६ जनाको रगतको नमुना संकलन गरिएको कार्यालयले जनाएको छ।बेपत्ताको खोजी तथा उद्धारमा लामो समय बितिसक्दा पनि अवस्था पत्ता नलागेपछि डिएनए परीक्षणको प्रक्रिया अघि बढाइएको प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईले बताए।

‘लामो पर्खाइपछि पनि उद्धारका क्रममा हराइरहेका व्यक्तिहरू नभेटिएकाले डिएनए परीक्षणका लागि रगत संकलन सुरु गरिएको हो,’ प्रसाईले भने।  

नमुना संकलनका लागि जनस्वास्थ्य सेवा कार्यालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्यकर्मी तथा चिकित्सक परिचालन गरेका छन्। जनस्वास्थ्य निरीक्षक प्रेमबहादुर सुमाइ, ल्याब टेक्नेसियन मानबहादुर बुढा, मनोपरामर्शविद् नन्दप्रसाद आचार्य, ल्याब असिस्टेन्ट र फरेन्सिक चिकित्सक टोलीमा सहभागी थिए।गाउँमा संकलन गरिएको नमुना प्रहरीको प्रत्यक्ष निगरानीमा सदरमुकाम खलंगा ल्याइएको छ।

तापक्रम व्यवस्थापन गरी नमुना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा सुरक्षित राखिएको जनस्वास्थ्य प्रमुख शर्माले बताए। संकलित नमुना काठमाडौं पठाउने तयारी भइरहेको छ। बाढीमा बेपत्ता आफन्तको अवस्था अहिलेसम्म  पनि पत्ता नलागेपछि परिवारजनले खोजी तथा उद्धारलाई तीव्र बनाउन माग गरेका छन्।

जीवित भए उद्धार गर्न र मृत्यु भएको भए शव उपलब्ध गराएर अन्तिम संस्कार गर्न पाउने अवस्था बनाउन उनीहरूको माग छ।जिल्ला प्रशासन कार्यालयका अनुसार पातारासी, गुठिचौर, चन्दननाथ र सिंजा गाउँपालिकाका गरी जुम्लाका ६३ जना नागरिक बाढीपछि सम्पर्कविहीन छन्।

प्रकाशित: २ आश्विन २०८३ १२:२४ शुक्रबार