समाज

ताप्लेजुङमा विपद् नमूना अभ्यास

सम्भावित बाढी पहिरोको विपद्का समयमा खोला किनार र नदीखोँचमा परेर उद्धारको पर्खाइमा रहेका पीडितलाई उद्धार गर्ने तरिका बारे जानकारी दिदैं बिहीबार ताप्लेजुङमा विपद् नमूना अभ्यास गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको अगुवाई,यहाँस्थित नेपाली सेनाको दुर्गादल गुल्मको संयोजन तथा जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाको सहभागितामा नमूना विपद् उद्धार नमूना अभ्यास गरिएको छ ।

दोभानस्थित मैवाखोलामा गरिएको नमूना अभ्यासका क्रममा उद्धारका क्रममा हेलिकोप्टरको उपलब्धता नभए डोरीको सहायाताले खोलाको बिच तथा किनार पुगी खोला किनार र नदीखोँचमा परेर उद्धारको पर्खाइमा रहेका पीडितलाई कसरी उद्धार गर्ने भन्ने बिषयमा अभ्यास शिक्षण गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले जानकारी दिए ।

अभ्यास शिक्षणका क्रममा नदी तथा खोलामा फसेकाहरुलाई नदी तथा खोलाबाटै डोरीको सहायताले गरिने उद्धार तथा खोला तथा नदीको माथि भागबाट डोरीको सहायताले गरिने उद्धार गरी तीन प्रकृतिका विपद् उद्धार अभ्यास शिक्षण गरिएको दुर्गादल गुल्मले जनाएको छ ।  

कार्यक्रममा मेरिङदेन गाउँपालिकाका अध्यक्ष युकहाङवीर(डम्बर)हाङगाम,प्रमुख जिल्ला अधिकारी अधिकारी सेढाइँ,दुर्गादल गुल्मका गुल्मपति सेनानी उमेश खड्का,जिल्ला प्रहरी प्रमुख(डिएसपी)उमेश जोशी,सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति (सशस्त्र डिएसपी)प्रमोदप्रकाश पाठक,फुङलिङ नगरपालिका वडा नं २ का वडाध्यक्ष मोहन न्यौपाने,मैवाखोला गाउँपालिकाका प्रवक्ता तथा वडा नं १ का वडाध्यक्ष चन्द्रकुमार तामाङ,मेरिङदेन गाउँपालिका वडा नं ३ का वडाध्यक्ष गजिन्द्रकुमार लिम्बूसहितको उपस्थिति रहेको थियो ।  

मनसुनजन्य विपद्को सम्भावित जोखिमलाई ध्यान दिदैं विपद् प्रतिकार्यका बारेमा सुरक्षा निकायले अपनाउने विपद् उद्धारका बारेमा समुदायलाई समेत जानकारी दिन अभ्यास शिक्षण गरिएको प्रजिअ सेढाइँले बताए । 

प्रकाशित: १४ जेष्ठ २०८३ १८:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App