समाज

रसुवा बाढीपीडितका लागि बाँसका अस्थायी संरचना बनाउन दिक्तेल नगरको ६२ लाख सहयोग

नगरप्रमुख तीर्थराज भट्टराई

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रसुवा बाढी प्रभावितका लागि बाँसबाट अस्थायी आवासलगायत संरचना निर्माण गर्न ६२ लाख ९ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

नगरप्रमुख तीर्थराज भट्टराईका अनुसार स्थानीयस्तरमा सहजै उपलब्ध, नवीकरणीय र कम लागतमा संरचना बनाउन सकिने बाँसको प्रवद्र्धनसँगै बाढीपीडितलाई राहत उपलब्ध गराउने उद्देश्यले यस्तो निर्णय गरिएको हो।

नगरपालिकाले जनप्रतिनिधिबाट संकलित ९ लाख ८९ हजार तथा कर्मचारी, शिक्षक र विद्यालय कर्मचारीबाट संकलित ५२ लाख २० हजार रकमबाट उक्त सहयोग उपलब्ध गराउने जनाएको छ। साथै जनप्रतिनिधिको एक महिनाको पारिश्रमिक तथा कर्मचारी, शिक्षक र विद्यालय कर्मचारीको तहअनुसार पाँचदेखि सात दिनसम्मको तलब कट्टा गरी विपद् उद्धार तथा पुनःस्थापनामा सहयोग गर्ने निर्णयसमेत गरेको छ।

नगरपालिकाले वडा नं. ३, ६, ७ र १२ तथा ज्येष्ठ नागरिक सङ्घबाट एक–एक गाडी बाँस उपलब्ध गराउने र अन्य वडाले १५ हजार रुपैयाँ बराबरको बाँस खरिद तथा ढुवानी व्यवस्थापन गर्ने निर्णय गरेको छ।

‘खोटाङलाई बाँसको राजधानी बनाउने’ अभियानमा रहेको नगरपालिकाले विपद् प्रभावित क्षेत्रमा बाँस प्रविधिसम्बन्धी विज्ञ तथा अनुसन्धानकर्तासँग सहकार्य गरी वैज्ञानिक र आधुनिक प्रविधिबाट संरचना निर्माणमा सहयोग गर्ने जनाएको छ। यसका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई समेत पत्राचार गरिएको नगरप्रमुख भट्टराईले बताए।

उनका अनुसार उचित प्रशोधन र संरचनात्मक डिजाइन गरे बाँसका संरचना १० देखि ५० वर्षसम्म टिकाउ हुन सक्छन्। अस्थायी आवास, सेवा केन्द्र, प्रतीक्षालय, विद्यालय तथा स्वास्थ्य चौकीलगायत संरचना कम लागत र छोटो समयमै निर्माण गर्न बाँस उपयोगी हुने नगरपालिकाको निष्कर्ष छ।

स्थानीय बाँसको प्रयोगले रोजगारी सिर्जना, स्थानीय श्रमको उपयोग र दिगो पुनर्निर्माणमा समेत योगदान पुग्ने नगरपालिकाले जनाएको छ। सरकारले तोकेको संरचनात्मक मापदण्ड पालना गरी रसुवामा आवश्यक बाँस स्थानीयस्तरबाटै उपलब्ध गराउने वा खोटाङबाट पठाउने तयारीसमेत गरिएको छ।

प्रकाशित: १९ भाद्र २०८३ २०:४६ शुक्रबार