खोटाङ सदरमुकाम दिक्तेल रूपाकोट मझुवागढी नगरका प्रमुख तीर्थराज भट्टराईले आफ्नो आमाका नाममा एक विद्यालयमा अक्षयकोष स्थापना गरेका छन्। मेयर भट्टराईले परिवारका सदस्यहरूको साझेदारीमा दिवंगत आमा पदमकुमारी भट्टराईको स्मृतिमा विद्योदय माध्यमिक विद्यालय दोर्पाचिउरीडाँडामा अध्यक्षकोष स्थापना गरेका हुन्।
जिल्लाको शिक्षा क्षेत्रमा योगदान दिने उद्देश्यले मेयर भट्टराई तथा उनको परिवारसमेतको सहकार्यमा ‘गुण–लक्ष्मी–पदमकुमारी शैक्षिक अक्षयकोष ०८२’ को स्थापना गरिएको हो।
अक्षयकोषमा प्रारम्भिक रकम दुई लाख दुई हजार दुई सय २२ रुपैयाँ जम्मा गरिएको छ। आगामी दिनमा कोष रकम बढाउँदै लैजाने योजना लिएको भट्टराई परिवारले अनाथ, टुहुरा र जेहेनदार बालबालिकाको शैक्षिक भविष्य उज्ज्वल बनाउने उद्देश्यले अक्षयकोष खोलेको हो।
पदमकुमारीका सात सन्तानले उनका नाममा पहिलो चरणमा सो परिमाणको रकम जम्मा गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहरमान राईले बताए। ८८ वर्षीया पदमकुमारीको २०८१ कात्तिक १६ मा दिवंगत भएको वार्षिक स्मृतिको अवसर पारेर मेयर भट्टराई परिवारले अक्षयकोष स्थापना गरिदिएको अध्यक्ष राईले बताए।
गाउँको विद्यालय पढ्ने विद्यार्थीलाई सामान्य भए पनि सहयोग पुर्याउने उद्देश्यले स्थापना गरिएको अक्षयकोषले समाजले देख्ने धार्मिक संस्कार र संस्कृतिमा गर्ने अनावश्यक खर्च शिक्षा क्षेत्रमा लगानी गर्न उदाहरण बनोस् भन्ने आफूले चाहेको मेयर भट्टराईले बताए। ‘आमा–बाका नाममा अनावश्यक भड्किलो खर्च गरेर पुराणलगायत विभिन्न धार्मिक गतिविधि गरिन्छ’, मेयर भट्टराईले भने, ‘धर्म–संस्कारका नाममा अनावश्यक खर्च गर्ने प्रवृत्ति निरुत्साहित गर्दै शिक्षामा लगानी बढाउन अक्षयकोष खोलिदिएका हौँ।’
विद्योदय मावि २०१६ सालमा स्थापना भएको हो। प्रधानाध्यापक पेशल आचार्यका अनुसार भट्टराई परिवारले विद्यालयलाई महत्त्वपूर्ण योगदान दिँदै आएको भन्दै सम्मान व्यक्त गरे। जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले मेयर भट्टराईको शिक्षाप्रतिको सहयोग सराहनीय भएको भन्दै उनको सामाजिक उत्तरदायित्वको प्रशंसा गरे।
कार्यक्रममा समन्वय प्रमुख राई र मेयर भट्टराईले अक्षयकोष रकमको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राई, प्रधानाध्यापक आचार्य तथा शिक्षक अभिभावक संघका अध्यक्ष जोशीचन्द्र राईलाई हस्तान्तरण गरे। अक्षयकोषमा जम्मा भएको रकमको ब्याजबाट बर्सेनि पदमकुमारी भट्टराईको वार्षिक तिथि पारेर छात्रवृत्ति वितरण गरिने विद्यालयले जनाएको छ।
प्रकाशित: १८ कार्तिक २०८२ ०९:५६ मंगलबार