जुम्ला, जेठ २
जुम्लाको चन्दननाथ नगरपालिका–४ मालाभिडमा बिहानको उज्यालो फैलिन नपाउँदै धनलाल बुढाको गोठमा दिन सुरु भइसकेको हुन्छ। घडीले चार बज्नुअघि नै उनी उठिसकेका हुन्छन्। गोठको ढोका खुल्छ, चिसो हावा भित्र पस्छ, गाईभैंसी कराउन थाल्छन् र स्टिलका बाल्टिनमा दूधका धार झर्न सुरु हुन्छन्। त्यही आवाजमा उनको संघर्ष छ, त्यही दूधको गन्धमा उनको सपना।
२९ वर्षीय धनलाल कुनै समय पोखरामा हस्पिटालिटी म्यानेजमेन्ट अध्ययन गरिरहेका युवा थिए। पढाइ सकेपछि होटल व्यवसाय, पर्यटन क्षेत्र वा विदेशतर्फ लाग्ने अवसर उनीसँग प्रशस्तै थियो। उनका धेरै साथी त्यही बाटोमा अघि बढिरहेका थिए। परिवार र चिनेजानेकाले पनि जागिर वा विदेश रोज्न सुझाव दिइरहेका थिए। तर धनलालले फरक निर्णय गरे। उनी आफ्नै गाउँ जुम्ला फर्किए र गोठ सम्हाल्न थाले।
बिहान पाँचदेखि सात बजेसम्म र बेलुका छदेखि आठ बजेसम्म उनी दूध वितरणमै व्यस्त हुन्छन्। बाइकमा दूधका क्यान बाँधेर घरघर पुग्ने धनलालका जुम्ला सदरमुकाम खलंगामा करिब १ सय ५० नियमित ग्राहक छन्।
“९० प्रतिशत दूध म आफैं ग्राहकको घरमा पुर्याउँछु,” उनी भन्छन्, “बाँकी डेरीले लैजान्छ।”
दैनिक करिब १० हजार रुपैयाँ बराबरको दूध बिक्री हुने गरेको छ। मासिक आम्दानी ३ लाख ६० हजार रुपैयाँभन्दा बढी छ भने वार्षिक कारोबार ३६ लाख रुपैयाँ नाघेको छ।
धनलालको सफलताको अर्को आधार बनेको छ गोबर मल। कुनै समय फालिने गोबर अहिले आम्दानीको महत्त्वपूर्ण स्रोत बनेको छ। गोठबाट उत्पादन हुने गड्यौला मल प्रतिकेजी २५ देखि ३० रुपैयाँमा बिक्री हुन्छ। गोठेमल ट्रकको ५ हजार ५ सय रुपैयाँ र प्रतिवोरा १ सय ५० रुपैयाँमा बिक्री हुने गरेको छ। गोबरबाट मात्रै वार्षिक ५ लाखदेखि साढे ६ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनी बताउँछन्।
“पहिले गोबर फालिन्थ्यो,” उनी मुस्कुराउँदै भन्छन्, “अहिले किसान मल खोज्दै गोठमै आउँछन्।”
“गाईपालनले मलाई पैसा मात्रै दिएको छैन,” उनी भन्छन्, “समाजमा सम्मान पनि दिएको छ।”
यही व्यवसायबाट उनले खलंगामा घरसमेत बनाएका छन्। एक समय “गाई पालेर के हुन्छ ?” भन्नेहरू अहिले उनलाई उदाहरणका रूपमा प्रस्तुत गर्न थालेका छन्।
पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका अनुसार कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ देखि दुग्ध प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्दै आएको छ। दूध बिक्री गर्ने कृषकलाई प्रतिलिटर १० रुपैयाँ प्रोत्साहन भत्ता दिने व्यवस्था छ। सहकारीलाई ७० प्रतिशत र उद्यमी कृषकलाई ५० प्रतिशतसम्म अनुदान उपलब्ध गराइँदै आएको छ।
तर धनलालका लागि सबैभन्दा ठूलो पूँजी सरकारी अनुदान होइन, श्रम र आत्मविश्वास हो। उनी विश्वास गर्छन्—गोठमा पसिना बगाउन सक्ने मानिसलाई गाउँले कहिल्यै भोकै राख्दैन।
आज धेरै युवा गाउँ छाडेर भविष्य खोज्न शहर र विदेशतिर लागिरहेका बेला धनलाल भने गाउँमै बसेर भविष्य उत्पादन गरिरहेका छन्। उनको गोठबाट निस्किने दूधले चिया मात्रै सेतो बनाएको छैन, जुम्लाका युवाको सोचसमेत बदल्न थालेको छ।

प्रकाशित: २ जेष्ठ २०८३ २०:२८ शनिबार