समाज

विकासको नमुना: पुरानो पक्की पुलमाथि नयाँ झोलुंगे!

भत्किएको पक्की पुलमाथि बनाइएको झोलुङ्गे पुल

पक्की पुल निर्माण सुरु भएको डेढ दशकसम्म पूरा नहुँदा उदयपुरको चौदण्डीगढी नगरपालिका–५ शिवाईस्थित त्रियुगा नदीमा झोलुङ्गे पुल निर्माण गरिएको छ। झण्डै १५ वर्षअघि अर्थात् २०६७ सालमा सुरु गरिएको शिवाई पुल ४ वर्षअघि बाढीले बगाएपछि अलपत्र परेको थियो। त्यसपछि मर्मत गर्ने वा नयाँ पुल बनाउने टुंगो नलाग्दा स्थानीयवासी वर्षेनी समस्यामा पर्दै आएका थिए।

निर्माण सुरु भएको १२ वर्षपछि सम्पन्न भई उद्घाटन गर्ने तयारीमा रहेको पुल २०७८ असार १९ गते आएको बाढीले बीचका दुई वटा पिलर बगाएपछि भत्किएको थियो। त्यसै वर्ष साउन १२ गते आएको अर्को बाढीले थप पिलर बगाउँदा १३ स्पानमध्ये ३ वटा स्ल्याबसमेत क्षतिग्रस्त बनेका थिए। प्राविधिक टोलीले स्थलगत निरीक्षण गरे पनि लामो समयसम्म मर्मत गर्ने कि नयाँ निर्माण गर्ने भन्ने निर्णय नहुँदा समस्या झन् बढ्दै गएको थियो।

पुल नहुँदा वर्षायाममा वडा नं. ५, ९ र १० का बासिन्दालाई नगर केन्द्र बेलटार आवतजावत गर्न निकै कठिन हुने गरेको थियो। लामो समयसम्म पक्की पुल नबन्दा र बनेको पुलसमेत बाढीले बगाएपछि अन्ततः त्यही स्थानमा झोलुङ्गे पुल निर्माण गरिएको हो।

प्रदेशसभा निर्वाचन क्षेत्र १(१) का सांसद राजन किरातीले पक्की पुल निर्माणमा ढिलाइ भएपछि चालु आर्थिक वर्षको बजेटबाट झोलुङ्गे पुल निर्माण गरिएको बताए। उनका अनुसार १५ वर्षदेखि अलपत्र परेको पक्की पुल समयमै सम्पन्न हुन नसक्दा र बाढीले भत्काएपछि वैकल्पिक रूपमा झोलुङ्गे पुल निर्माण गर्नुपरेको हो।

पक्की पुल भत्किएको स्थानमै ८१ मिटर लामो र १.६ मिटर चौडाइको झोलुङ्गे पुल हालै निर्माण सम्पन्न भएको छ। समयमै निर्माण सम्पन्न भएपछि अब स्थानीयवासीलाई वर्षायाममा समेत सहज रूपमा आवतजावत गर्न सकिने भएको छ। वडा अध्यक्ष तुलसीप्रसाद ढकालका अनुसार पक्की पुल नबने पनि झोलुङ्गे पुल बनेपछि स्थानीयले ठूलो राहत पाएका छन्।

चौदण्डीगढी–५ शिवाई, सुन्दरपुर, बेल्ही तथा वडा नं. ९ र १० का हडिया र जोगीढुङ्गा क्षेत्रका बासिन्दालाई त्रियुगा नदी पार गरेर बेलटार बजार पुग्नुपर्ने बाध्यता थियो। हिउँदमा सहज भए पनि वर्षायाममा बाढीका कारण जोखिमपूर्ण अवस्था रहँदै आएको थियो।

प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालय गाईघाटले निर्माण गरेको उक्त पुल करिब ६० लाख रुपैयाँ लागतमा सम्पन्न भएको हो। कार्यालय प्रमुख इन्जिनियर गंगासागर यादवका अनुसार निर्माण सामग्री कार्यालयले उपलब्ध गराएको र बाँकी काम उपभोक्ता समितिमार्फत सम्पन्न गरिएको हो।

झोलुङ्गे पुल निर्माण भएपछि मोटरसाइकल र साइकल आवतजावत समेत सहज भएको छ। स्थानीयका अनुसार अब वर्षायाममा समेत आवतजावतमा समस्या नहुने भएको छ।

यसअघि निर्माणाधीन पक्की पुल भौतिक पूर्वाधार मन्त्रालयमार्फत ९ करोड ७६ लाख रुपैयाँमा ठेक्का लागेको थियो। विभिन्न कारणले पटक–पटक म्याद थपिँदै लागत बढेर करिब ११ करोड २७ लाख रुपैयाँ पुगेको थियो। तर अन्ततः बाढीले क्षति पुर्‍याएपछि योजना अधुरै रह्यो।

लामो समयसम्म पक्की पुल नबन्दा स्थानीयले झोलुङ्गे पुलबाटै राहत पाएका छन्। स्थानीयवासीका अनुसार ढिलाइ भए पनि पुल निर्माणले दैनिक जीवनमा ठूलो सहजता ल्याएको छ।

प्रकाशित: ५ चैत्र २०८२ १६:५२ बिहीबार