जुम्लाको चन्दननाथ नगरपालिका-५ काले खोलीस्थित कमला बुढाको तीनतले घरमा आगलागी भएको छ। बिहीबार राति करिब १ बजेको समयमा रहस्यमय ढंगले आगलागी भएको थियो।
आगलागीबाट घरको तल्लो तलामा रहेका दुई कोठा जलेर नष्ट भएका छन् भने माथिल्लो कोठामा समेत आंशिक क्षति भएको छ। आगलागीबाट घरको सटर भाडामा लिई मोबाइल पसल सञ्चालन गर्दै आएका जीवन महताराको बिहानी मोबाइल रिपेयरिङ सेन्टरमा रहेका सामान पूर्ण रूपमा जलेका छन्।
प्रत्यक्षदर्शीहरूले राति एक्कासि ठूलो आवाज आएको भनेका छन्, त्यसपछि स्थानीय बासिन्दाहरू बाहिर निस्कँदा पसलको सटर सडकमा थियो। आगो नियन्त्रणमा लिइएको थियो। राति झन्डै १:३० बजे आगलागीको विषयमा जानकारी भएपछि सोही घरमा सुतिरहेका तारा बहादुर बुढा, श्रीमती र छोरी भाग्न सफल भएका थिए।
प्रत्यक्षदर्शी तारा बुढाले आगलागी भएपछि स्थानीय, प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको बताए। उनको अनुमानित रु. आठ लाखको क्षति भएको छ तर क्षतिको विवरण जिल्ला प्रहरीमा एकिन गर्ने तयारी भइरहेको छ।
आगलागी क्षेत्रमा डिजेलको ग्यालन भेटियो
कुनै अज्ञात व्यक्तिले पसल चोरी गरेपछि सटर निकालेर भागेको हुन सक्ने अनुमान गरिएको स्थानीयहरूको भनाइ छ। पसलको ढोका सटर नजिकको भागमा न काठ जलेको छ, न सिसामा धुवाँ लागेको छ। जसले गर्दा सो स्थानमा आगो लागेको प्रमाण भेटिएको छैन।
घरको पछाडिको गल्लीमा रहेको च्यानल गेट खुला रहेकोले त्यहीँबाट पसलमा प्रवेश गरिएको हुन सक्ने आशंका गरिएको छ। यता जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी असिम हमालले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए। प्रहरीको प्रारम्भिक अनुसन्धानमा आगलागी भएको घर नजिक भित्र डिजेलको ग्यालन भेटिएको छ। तर अहिलेसम्म त्यो डिजेल कसको हो भन्ने खुलेको छैन।
क्षतिको विवरण आउन बाँकी छ। प्रहरीले घटनामा संलग्न दोषी पत्ता लगाउन कुनै कसर बाँकी नराख्ने बताएको छ। यता स्थानीय बासिन्दाहरूले पनि घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै अपराधमा संलग्न व्यक्तिलाई तत्काल कारबाहीको माग गरेका छन्।
प्रकाशित: २ श्रावण २०८२ २१:४१ शुक्रबार



