समाज

पचास हजार नहुँदा सफल परियार उपचारबाट वञ्चित

यहाँका एक दलित बालक आर्थिक अभावमा उपचार पाउनबाट वञ्चित भएका छन् । घरको आर्थिक अवस्था कमजोर भएका कारण त्रियुगा नगरपालिका ७ बागचौरीका १३ वर्षीय सफल परियारको उपचार असंभव भएको हो । 

५ महिनाअघि साईकल दुर्घटनामा परि गम्भीर घाईते भएका उनलाई सुरुमा जिल्ला अस्पताल र त्यहाँ उपचार हुन नसक्ने भएपछि विराटनगर लगिएको थियो । सुरुवाती चरणमै अप्रेसन र अन्य उपचार गर्दा घरको सिरिखुरी सकिएकाले फलोअप उपचार गर्न नसकेर घरमै थन्किनु परेको बावु सुबास परियारले बताए । 

फलोअप उपचार गर्न ४०–५० हजार लाग्ने भए पनि आफुसँग हाल एकै रुपैँया नभएकाले छोराको उपचार गर्न नसकेको दुखेसो सुबासले सुनाए । ‘पैसा नभएकै कारण अस्पताल लान नसकेर बिरामी छोरालाई घरमै थन्क्याएर राख्नु परेको छ’ उनले आँसु खसाउँदै भने ‘के गर्नु धनी हुन जानिएन हजुर, साह्रै दुःख पाइयो !’ 

स्कुलबाट साईकलमा बागचौरी घर फर्कदै गर्दा गत असार २१ गते सफल दुर्घटनामा परेका थिए । पेटमा गहिरो चोट लागेर घाईते भएका उनको बिराट टिचिङ हस्पिटलले सल्यक्रिया (अप्रेसन) गरेर एक महिना राखेपछि फलोअपमा आउने गरि डिस्चार्ज गरेको थियो । २ महिनाअघि नै फलोअपमा लानुपर्ने उनलाई पैसा अभावकै कारण ५ महिना बितिसक्दा पनि घरमै राख्नुपरेको परिवारले जनाएको छ ।

५० हजार ठूलो रकम नभए पनि गरिब परिवारका लागि पहाड बराबर भएको सुबासले सुनाए । ‘हस्पीटलले अस्ती नै बोलाएको थियो, तर खर्च नभएरै जान सकेको छैन’ उनले भने ‘पहिला उपचार गर्दा भएभरको सबै जेथाले नपुगेपछि ऋण लिएको तिर्न सकेको छैन । अहिले ऋण खोज्दा पाईन्न, बेचबिखन गर्न केही बाँकी छैन ।’

परियारले छोराको उपचारका लागि सहयोगी व्यक्ति र सङ्घ सँस्थासँग याचना गरेका छन् । ‘ऋण पाए छोरालाई सञ्चो भएपछि कमाएर पनि तिर्थ्यो होला’ उनले भने ‘तर, निको पार्नै खर्च पाइएन र सहयोगको मुख ताक्नु परेको छ ।’ सुन्दर हृदय भएकाहरुसँग सहयोगको अपेक्षा गर्दै उनले भने ‘मेरो छोरा बचाउन कृपया केही सहयोग पाउँ !’

पढालेखा भए पनि जागीरविहीन रहेका परयारले छोरा बचाउन दिनरात हात फैलाउदै हिडेको बताए । खोटाङ पुर्ख्यौली घर भएका उनी बागचौरीमा झुप्रो घरमा बस्छन् भने बनिबुतो गरेर परिवार चलाउँदै आएका छन् । कमजोर आर्थिक अवस्थाकै कारण छोराको उपचार गराउन नसकेकोमा उनलाई पर्नु चिन्ता परेको छ ।

प्रकाशित: १८ कार्तिक २०८२ १९:५६ मंगलबार