उदयपुरमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ।
गाईघाट–दिक्तेल सडकखण्डअन्तर्गत त्रियुगा नगरपालिका–१० बोक्से करमगाछीमा प्रदेश नं ३–०२–०१४ प ०७७५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकल यात्री त्रियुगा नगरपालिका–१० यलम्बरमार्गका ६० वर्षीय सन्तबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ।
बरुवा पुलदेखि गाईघाट बजारतर्फ आउँदै गरेको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका राईको उपचारको क्रममा उदयपुर जिल्ला अस्पतालमा मृत्यु भएको हो।
मोटरसाइकल चालक त्रियुगा नगरपालिका–१२ का १९ वर्षीय मोहम्मद सबिव राईन पनि घाइते भएका र उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
प्रकाशित: ७ भाद्र २०८३ १७:५७ आइतबार