समाज

डिङ्जी काउन्टीका अधिकारीसँगको अन्तरदेशीय सीमा सुरक्षा बैठक स्थगित

टिपताला नाका। फाइल तस्बिर

ताप्लेजुङ र चीनको स्वशासित क्षेत्र तिब्बतको डिङ्जी काउन्टी सरकारका सुरक्षा अधिकारीबिच मंसिर ३ गते हुने गरी तय भएको अन्तरदेशीय सीमा सुरक्षा बैठक तत्काललाई स्थगित गरिएको छ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले तत्कालका लागि उक्त बैठक स्थगित गरिएको र आउँदो चैततिर बस्ने गरी प्रारम्भिक योजना बनाइएको जानकारी दिए।

नेपाल–तिब्बत सीमा नाका टिपताला देखि नै अत्यधिक मात्रामा हिउँ परेका कारण डिङ्जी काउन्टी सरकारका सुरक्षा अधिकारी ताप्लेजुङ आइपुग्न नसक्ने भएका कारण तत्कालका लागि बैठक स्थगित गरिएको प्रजिअ दाहालले जानकारी दिए।

डिङ्जी काउन्टी सरकारका सुरक्षा अधिकारी सुरुमा तातोपानी नाका हुँदै ताप्लेजुङ आउने तयारी थियो। डिङ्जी काउन्टी सरकारका सुरक्षा अधिकारी बैठकका लागि तीन दिनको समय रहेकोले तातोपानी नाका हुँदै ताप्लेजुङ आउन समय अभाव हुने अनुमान गरिँदै आएको बेला टिपतालाबाटै आउने तय भएको थियो।

हिमपातका कारण मंसिर ३ गतेका लागि तय भएको बैठकमा आउन नसक्ने अवस्था भएपछि बैठक स्थगित गरिएको प्रजिअ दाहालले बताए। 

यसैबिच ताप्लेजुङ र पाँचथरका जिल्ला प्रहरी प्रमुखहरूको भर्चुअल बैठकले अन्तर जिल्ला अपराध नियन्त्रण तथा अपराध अनुसन्धानमा सहकार्यसहितका विषयमा छलफल गरेको छ।

ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) कमल बजगाईँ तथा पाँचथरका प्रहरी प्रमुख(डिएसपी)अनिशकुमार कर्णबिच भएको भर्चुअल बैठकमा अपराध नियन्त्रण तथा अपराध अनुसन्धानमा सहकार्यसहित सवारी चेकजाँच,फरार प्रतिवादीको खोजतलास र पक्राउ,शान्ति सुरक्षा व्यवस्थापन,मनसुनजन्य विपद् व्यवस्थापनमा सहकार्य र प्रहरी कार्यालयको कार्य सम्पादनका विषयमा असल अभ्यास आदान–प्रदान भएको छ।

ताप्लेजुङका प्रहरी प्रमुख बजगाईँले सीमा जोडिएको र दुवै जिल्लाबिच यातायातको आवत–जावत समेत एकै क्षेत्रबाट हुने भएकोले समसामयिक र सुरक्षा सन्दर्भलाई केन्द्रित रहेर छलफल गरिएको जानकारी दिए।

पूर्वी नेपालको अन्तिम जिल्ला ताप्लेजुङ आउन–जान मेची राजमार्ग र तमोर करिडोर दुवै सडक मार्गको अधिकांश हिस्सा पाँचथरमा पर्दछ। यसअघि ताप्लेजुङ,पाँचथर र संखुवासभा जिल्लाका प्रहरी प्रमुखहरूले समेत भर्चुअल बैठकमार्फत शान्ति सुरक्षा र अपराध नियन्त्रणका विषयमा छलफल गरेका थिए।

कात्तिक २७ गते ताप्लेजुङ र संखुवासभाका सुरक्षा अधिकारीको अन्तर जिल्ला समन्वय बैठक फुङलिङमा बसेको थियो।

प्रकाशित: १ मंसिर २०८३ १३:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App