सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष ज्ञानबहादुर बमजनलाई सेटिङ मिलाएर धरौटीमा छाडेको सहकारी पीडितहरुले आशंका गरेका छन् । सूर्यदर्शन सहकारी पीडितहरुले सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर यस्तो आशंका व्यक्त गरेका हुन् । बमजन सहकारी ठगीको प्रमुख योजनाकार मानिएका जिवी राईका नातेदार (जेठान) हुन् ।
जिल्ला अदालत कास्कीले आइतबार बमजनलाई १० लाख धरौटीमा छाड्ने आदेश गरेको थियो । अमेरिकामा रहेका उनी आइतबार जिल्ला अदालतमा उपस्थित भएका थिए । बमजनलाई एकै दिनमा थुनछेक बहस सकेर धरौटीमा छाडिएको थियो ।
सहकारी पीडितहरुले भने सरकारी वकीलको बहस बिना नै एकलौटी रुपमा धरौटीमा छाड्ने आदेश आउनुले सेटिङको सम्भावना रहेको बताएका छन् । साथै सोहि सहकारीको उपाध्यक्षलाई २० लाख धरौटी लिइएकोमा कार्यकारी अधिकार भएको अध्यक्षलाईचाहिं १० लाख मात्रै धरौटी लिनुले पनि आशंका उब्जाएको उनीहरुको भनाई छ । अर्कोतर्फ बमजन अमेरिकाबाट पोखरा आउँदासमेत प्रहरीले सुईंकोसमेत नपाउनुले पनि आशंकालाई बल पुर्याएको उनीहरु बताउँछन् ।
पीडितले आइतबारको थुनछेक बहसमा सरकारी वकील सहभागी नभएको दाबी गरिरहँदा आदेशमा भने सरकारी वकीलले थुनछेक बहसमा सहभागिता जनाएको उल्लेख छ । सरकारी वकीलको तर्फबाट सहायक जिल्ला न्यायाधिवक्ता सुजाता पौडेल तथा जाहेरवालाको तर्फबाट अधिवक्ता बेदबहादुर विष्ट (विवि), युवराज पराजुली र दीपक शर्मा पौडेलले बहस गरेको आदेशमा उल्लेख छ ।
थुनछेक बहसअघि लिइएको बयानमा बमजनले सहकारी ठगी सम्बन्धमा ईन्कारी बयान दिएका छन् । उनले आफ्नो कार्यकाल २०६५ साल भदौ २७ गतेदेखि २०६७ साल पुष ९ गतेसम्म मात्रै भएकाले त्यस समयमा कुनैपनि रकम दुरुपयोग नभएको जिकीर गरेका छन् । त्यसबाहेकको समयमा भएका आर्थिक गतिविधिको जिम्मेवार आफू नहुने उनको भनाई छ ।
पत्रकार सम्मेलनमा बोल्दै सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले अदालतदेखि प्रहरीसम्मको सेटिङमा आदेश आएको आशंका व्यक्त गरे । थुनछेक बहसमा अभियोजनकर्ता सरकारी वकीलले बहस नगरी आदेश किन दिईयो ? उनले भने,‘अदालतमा हामी दिनभर बस्दा सरकारी वकील देखिएन तर न्यायाधीसलाई सोध्दाचाहिं बहस गरेर अघि नै फर्किनु भयो भनेर भनियो । यसले जालझेल र षडयन्त्र हो भन्ने प्रष्ट हुन्छ ।’
अदालतप्रति अझै पनि विश्वास रहेको उनले बताए । तर दोषिलाई उन्मुक्ति दिनेगरी आदेश आएपछि आफूहरु झस्किन पुगेको संयोजक श्रेष्ठले बताए । अदालतको आदेश नमान्ने भन्ने होईन,उनले भने,‘अदालतको आदेशको हामी सम्मान गर्छौं,तर आउँदैनआएको सरकारी वकील आयो भन्नु, एउटै कार्य समितिको उपाध्यक्षलाई २० लाख धरौटी माग्ने अदालतले सोहि कार्यसमितिको अध्यक्षलाईचाहिं किन १० लाख मात्र लिईयो ? यसले आशंका उब्जाएको छ ।’
सहकारी पीडितहरुले आइतबारको आदेश बदर गर्न माग गरेका छन् । साथै सरकारी वकीलसहितको अर्को थुनछेक बहस गरी नया आदेश दिने व्यवस्था गर्न उनीहरुको माग छ । हिजोको बहसलाई हामी पूरै खारेज गर्न माग गर्दछौं,संयोजक श्रेष्ठले भने,‘जिल्ला अदालतले नै यो खारेज गरोस् र फेरी पेशी चढाएर थुनछेक बहसमा लैजान आग्रह गर्दछौं ।’ सहकारी पीडितहरुले अमेरिकाबाट बमजन पोखरा आउँदासम्म पनि प्रहरीले पक्राउ नगर्नु आश्चर्यजनक भएको बताएका छन् । संयोजक श्रेष्ठले भने,‘हिजो सहकारीको सामान्य केशमा परेकालाई उड्न लाग्दा होस् वा फर्किन लाग्दा समात्ने प्रहरीले बमजन आउँदाचाहिं किन हेरेर बसेको हो ? के यो सेटिङ होईन ? ।’ बमजनलाई समातेर अनुसन्धान गर्ने हो भने जिवी राईको बारेमासमेत खुल्नसक्ने बताए । तर यसतर्फ प्रहरी र अदालतको ध्यान नगएको उनको टिप्पणी छ ।
सहकारी पीडित ७० वर्षिया बृद्द भीमप्रसाद चपाईले न्यायाधीसको हर्कतले आफूहरु अन्यायमा परेको बताए । दोषीलाई कारवाही गनुपर्नेमा सेटिङमा उन्मुक्ति दिईयो,उनले भने,‘अदालतबाटै अन्याय हुन्छ भने अब हामी न्याय खोज्न कहाँ जाउँ ? कोबाट आशा गरौं ? ।’ उनले यसरी दोषीलाई उन्मुक्ति दिदै जाने हो भने सरकारबिरुद्द नै आन्दोलन गर्नुपर्ने दिन आउने चेतावनी दिए ।
सूर्यदर्शन सहकारी ठगीमा पहिलो पटक १९ जना र दोस्रो पटक पुरक अभियोजनमार्फत ४४ जना गरी ६३ जनाविरुद्ध मुद्दा चलाइएको छ । यस मुद्दामा मुख्य योजनाकार जीबी राईसहित छविलाल जोशी, रवि लामिछाने लगायत छन् । रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाडिएको थियो ।
प्रकाशित: ९ भाद्र २०८२ १९:४४ सोमबार