खोटाङको उत्तरी भेगको रावाबेँसी गाउँपालिकाको हौँचुरस्थित लोचाखोलामा मोटरेबल पक्की पुल निर्माण सुरु भएको छ।
प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको बहु वर्षीय योजना अन्तर्गत पुल बनाउने काम सुरु भएको हो।
चालु आर्थिक वर्ष विनियोजित ५ करोड ११ लाख ४६ हजार रुपैँया बजेटमा पुल निर्माण कार्य सुरु भएको पूर्वाधार विकास कार्यालय दिक्तेलले जनाएको छ।
कार्यालयका अनुसार सो मूल्यको ठेक्का आव्हान गर्दा आरके/देन्धुप जेबी सोलुखुम्बुले लागतभन्दा न्यून (बिलो) २ करोड ८० लाख ७५ हजार २ सय ८८ रुपैयाँमा निर्माण गर्ने सम्झौता गरेको पूर्वाधार कार्यालय प्रमुख (डिई) विनम दाहालले बताए।
डिई दाहालका अनुसार निर्माण कम्पनीले आउँदो ०८४ जेठ ३१ गतेभित्र पुल सम्पन्न गरेर हस्तान्तरण गर्ने सम्झौता गरेको छ।
१५ मिटर लामो निर्माण हुने पक्की पुलले रावाबेँसी गाउँपालिका-१ कुभिण्डे र ६ को हौँचुरलाई जोड्ने छ। वर्षौँदेखि लोचाखोलाको बाढीबाट पीडित हुँदै आएका कुभिण्डे र हौँँचुरबासीलाई यो पुलले वर्षायाममा आउजाउ गर्न प्रत्यक्ष फाइदा पुग्ने भएपछि स्थानीय खुसी छन्।
सम्झौताको केही सातापछि प्रदेश सांसद तथा पूर्व भौतिक योजनामन्त्री भूपेन्द्र राईले पुलको औपचारिक शिलान्यास गदै हरेक वर्षायाममा अत्यन्त दुःख पाइरहेका स्थानीयबासीलाई सदाका लागि मुक्ति दिलाउन पुलको योजना अघि बढाइदिएको बताए।
आफू मन्त्री भएका बेला स्थानीयको समस्यालाई नजिकबाट अनुभूत गरेर लोचाखोलामा पक्की पुल बनाउन बजेट छुट्ट्याइदिएको भन्दै उनले समयमै काम सम्पन्न गर्न सम्बन्धित ठेकेदार र नियमन निकाय पूर्वाधार कार्यालयलाई राईले आग्रह गरे।
पूर्व मन्त्री राईले लोचाखोलाजस्तै अन्य थुप्रै खोला खोल्सामा पक्की पुल, कल्भर्ट र सडक निर्माणका लागि पर्याप्त बजेट विनियोजन गरिदिएको स्मरण गराउँदै तर, सबै योजना छिटो गतिमा निर्माण गर्नुपर्नेमा जोड दिए।
पहाडी भूगोल खोटाङमा सडक र पुल नहुँदा स्थानीयले धेरै दुःख कष्ट भोग्नु परेको भन्दै यातायात र उपचार समस्याकै कारण बढ्दो बसाइसराइ रोक्न पनि योजना निर्माणमा तीव्रता दिइनुपर्ने बताए।
लोचाखोलामा बाढी आउँदा ढुंगा माटोसहित बगाउने भएकाले बालबालिका विद्यालय आउजाउ गर्न तथा बिरामी परे उपचार गर्न स्वास्थ्य चौकी जानसमेत जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता छ। यस्तो समस्या वर्षौँदेखि झेल्दै आएका स्थानीयवासी ढिलै भए पनि मोटरेबल पक्की पुल निर्माण हुने भएपछि हर्षित भएका छन्।
निर्माण व्यवसायी बुद्धिबहादुर मगरले पुल निर्माण कार्य निर्धारित समयभन्दा अगाडि नै सम्पन्न गर्ने गरि काम भइरहेको जनाए।
खोलामा धेरै अवरोध नभएकाले निर्माण काम गर्न सहज भएको भन्दै आउने वर्षमायाभित्र पिल्लर उठाइसक्ने योजना सफल भए तोकिएको समयभन्दा पहिल्यै पुल बनाइसकेर सञ्चालनमा ल्याउने योजना उनले सुनाए।
स्थानीयबासीहरुका अनुसार लोचाखोलाले हरेक वर्षायाममा बाढीले दुईचार जनालाई बगाउँदै आएको र कतिपयको ज्यान जाने गरेको तथा कतिलाई गम्भीर घाइते बनाउने गरेको छ।
सरकारले पुल बनाउन ध्यान नदिएका कारण स्थानीयवासीले हरेक वर्ष श्रमदानबाट काठे पुल बनाएर आउजाउ गर्ने गरेका थिए।
प्रकाशित: १९ वैशाख २०८३ १७:२६ शनिबार