समाज

जुम्लामा ७८ करोडको प्राविधिक शिक्षालय निर्माण सुरु

शिक्षालय निर्माण स्थल

जुम्लाको सिँजा गाउँपालिका-६ को दुर्गम भाडगाउँस्थित दिलौरी चौरमा बहुप्राविधिक शिक्षालय निर्माणको काम सुरु भएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) सानोठिमी, भक्तपुरले २०७९ साल माघमा शिक्षालय स्थापना गर्न स्वीकृति दिएपछि भौतिक संरचना निर्माणको काम अघि बढेको हो।

पहिलो चरणमा कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमार्फत १५ लाख रुपैयाँ बजेट विनियोजन भई निर्माण कार्य सुरु गरिएको छ। विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार २४ वटा भवनसहितको शिक्षालय निर्माणका लागि कुल ७८ करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ।

सिँजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार विगत तीन वर्षदेखि गरिएको निरन्तर पहलकै परिणामस्वरूप परियोजना कार्यान्वयन चरणमा प्रवेश गरेको हो। उनले भारतीय दूतावाससँग १९ करोड रुपैयाँ सहयोगका लागि डेढ वर्षदेखि कूटनीतिक तथा प्रशासनिक पहल भइरहेको बताए। प्रस्ताव आवश्यक कागजातसहित दूतावासमा पेस भइसकेको छ।

भारतीय पक्षले १९ करोड रुपैयाँ लगानी गर्ने सर्तमा स्थानीय तहले करिब पाँच प्रतिशत अर्थात् तीन करोड रुपैयाँ बराबरको साझेदारी गर्नुपर्ने सर्त अघि सारेको छ। सीमित आन्तरिक स्रोतका बाबजुद गाउँपालिकाले उक्त सर्त पूरा गर्ने दिशामा पहल गरिरहेको अध्यक्ष धिताल बताउँछन्। उनका अनुसार गाउँपालिकाको आर्थिक क्षमता कमजोर रहे पनि संस्थागत समन्वय र पहुँच विस्तारमा जनप्रतिनिधि तथा कर्मचारी सक्रिय रूपमा लागिरहेका छन्।

यस परियोजनामा स्थानीय समुदायको पनि उल्लेखनीय सहभागिता छ। भाडगाउँका स्थानीयवासीले झन्डै एक लाख वर्गमिटर जग्गा निःशुल्क उपलब्ध गराएका छन्। पन्नलाल रावत, कर्णबहादुर रावत, जोमानसिंह रावत र सौर्य रावतलगायतले जग्गा दान गरेका हुन् भने अन्य स्थानीय पनि थप सहयोगका लागि इच्छुक रहेको बताइएको छ। जग्गा पास प्रक्रियामा गाउँपालिकाले राजस्व व्यहोरेको छ।

सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख टोपबहादुर बुढाका अनुसार ग्रामीण क्षेत्रमा प्राविधिक शिक्षाको पहुँच विस्तार हुनु ठूलो उपलब्धि हो, जसले स्थानीय जनशक्तिलाई दक्ष बनाउन र रोजगारी सिर्जनामा टेवा पुर्‍याउनेछ।

स्थानीय बुद्धिजीवी पूर्णबहादुर रावतका अनुसार सरकारी लगानीमा भाडगाउँजस्तो विकट क्षेत्रमा शिक्षालय स्थापना हुनु सामाजिक न्याय र समावेशी विकासको संकेत हो। उनले यसलाई दीर्घकालीन रूपमा ‘हिमालयन युनिभर्सिटी’ को आधारका रूपमा समेत व्याख्या गरेका छन्। उनका अनुसार सिँजाको जैविक सम्पदा र जडिबुटी स्रोतलाई ध्यानमा राख्दै यहाँ जडिबुटी अनुसन्धान केन्द्र विकास गर्ने सम्भावना समेत प्रबल छ।

प्रकाशित: १७ चैत्र २०८२ १४:१६ मंगलबार