आजभोलि नेपालका केही समुदायका मानिसले आफूलाई हामी खस हौं भन्न थालेको सुनेर मलाई उदेक लाग्छ। इतिहासका प्राडा प्रेमबहादुर कुँवरसँग काठमाडौंमा भेट हुँदा ‘हामी त खस हौं’ भनेको सुनेर मैले खस र क्षत्रीको भिन्नता भन्न भ्याएँ। तर डाक्टरको मनमस्तिष्कमा खसले वास गरेको देखेर म चकित भएँ। काठमाडौैंको यो संवादलाई मैले खासै महत्त्व दिइनँ। जब मैले पोखरामा अर्का इतिहासकार प्रा. दिलबहादुर क्षत्रीसँग भेटेँ, उनले त अझ हामी क्षत्री, यहाँका रैथाने, ब्राह्मण तथा वैष्णव भारततिरबाट आयातित हुन भन्न भ्याए। क्षत्री समाजका केन्द्रीय अध्यक्षको कुरा सुनेर म किंकर्तव्यविमूढ भएँ। मैले जवाफ फर्काउने कसरत गरें तर त्यो निरर्थक प्रयासका लागि थप जोड गर्नै चाहिनँ। उनको यो भनाइमा गहिरो रहस्य लुकेको छ। यसमा नेपालमा घनिभूत रूपमा मिलेर बसेका क्षत्री–ब्राह्मण समुदायबिच साम्प्रदायिक विभेद फैलाउन खोज्ने षड्यन्त्रको गन्ध ह्वास्सै आउँछ।
खस जातिका सम्बन्धमा इतिहासका तथ्यलाई विवेचना गर्दा ‘नेपालको प्राचीन र मध्यकालीन इतिहास’ (पृ. १२९) मा इतिहासकार श्रीरामप्रसाद उपाध्याय लेख्नुहुन्छ– पृथ्वी मल्लको १४१४ सालको दुल्लुको स्तम्भलेखमा कर्णाली प्रदेशको पाल तथा खस राजाहरूको नाम दिइएको छ। यसबाट खसहरूभन्दा अघि पालहरूले त्यहाँ शासन गरेको प्रस्ट हुन्छ।
उक्त स्तम्भलेखमा अथः खरिप्रदेश्यस्यो यो जावेश्वरतामगान्तेन श्रीनागराजेन सेजापुर्या स्थिति कुर्ता अर्थात् खरी प्रदेशका नागराज जावेश्वर हुनुभयो। उहाँले सिन्जा सहरमा स्थिति बसाल्नुभयो। यसका आधारमा नागराज पूर्वमध्यकालीन समय अर्थात् ११ औं शताब्दीमा तिब्बतको खरी प्रदेशबाट कर्णाली प्रदेशमा आएका थिए।
उक्त पुस्तकको पृष्ठ सङ्ख्या १२८ मा लेखिएको छ– बुद्ध जन्मेको देश नेपालमा बौद्ध धर्मको प्रचार गर्ने पहिलो राजा खस थिए। सुर्खेतको काक्रेविहारमा बौद्ध धर्मको शिक्षा दिइन्थ्यो। तिब्बतबाट आएको हुँदा उनीहरूको भाषा भोट–बर्मेली थियो। खस राजाको शासनकालमा कर्णाली प्रदेशमा अनेक बौद्ध स्तूप, मठ तथा विहारहरूको निर्माण गरेको पाइन्छ।
खस जातिका सम्बन्धमा वैदिक साहित्यमा उल्लिखित तथ्यलाई विवेचना गर्दा–
किरातहूणान्ध्रपुलिन्दपुल्कशा
आभीरशुम्भा यवनाः खसादयः।
येऽन्ये च पापा यदपाश्रयाश्रयाः
शुध्यन्ति तस्मै प्रभविष्णवे नमः।
(श्रीमद्भागवतम् २.४.१८)
अर्थात् किरात, हूण, आन्ध्र, पुलिन्द, पुल्कश, आभीर, शुम्भ, यवन, खस आदि जातिका सदस्य साथै पापकर्ममा लिप्त व्यक्तिहरू पनि परम शक्तिशाली भगवान्का शरणमा परेपछि शुद्ध हुन सक्छन्।
महाराज भरतले सम्पूर्ण किरात, हूण, यवन, पौण्ड्र, कंक, खस, शक तथा ब्राह्मण संस्कृतिको वैदिक नियमका विरोधी राजाहरूलाई परास्त गर्नुभयो वा मार्नुभयो। उता ब्राह्मण संस्कृतिको वैदिक नियमका विरोधी खस राजालाई पराजित गरेको कुरा उल्लेख छ।
यता नेपालमा सनातन धर्मका रक्षक भन्न रुचाउने क्षत्रीहरू आफूलाई खस भन्न हिच्किचाउँदैनन्। नेपालका क्षत्रीका थरवाहक बुद्धिजीवीहरू वैदिक संस्कृतिविरोधी खस हुन पनि तयार हुनु भनेको उदेक लाग्दो विषय हो। क्षत्रीले आफूलाई आदिवासी ठान्ने र ब्राह्मणहरूलाई दक्षिणबाट आएका वैष्णव हुन् भन्ने भ्रमको साम्प्रदायिक बिउ रोपण गरेर एकापसमा द्वन्द्व, काटमार, हत्याहिंसा गराई दङ्गा फैलाउने कुत्सित मनसाय लिएको देखिन्छ। यस्तो द्वेष खडा गरेर ‘धमिलो पानीमा माछा मार्ने’ दाउमा विदेशी शक्ति ढुकेर बसेका छन्।
नेपालका सबै नागरिकलाई खस बनाएर विद्यमान ब्राह्मण र वर्णाश्रम पद्धतिको अन्त्य गर्ने यो माखेजालो हो। यसभित्र स्वयं स्वनामधन्य बुद्धिजीवीहरू नै यसको निर्माताका चास्नीमा फसेका छन्। यिनीहरू सिन्जा सभ्यता भनेकै खस सभ्यता हो, यो सभ्यता विकास गर्नेहरू नै खस हुन् भन्ने भाष्य खडा गर्न खोजिरहेका छन्। तर सिङ्गो सिन्जा सभ्यता नै सनातन धर्मको जगमा उभिएको छ। सनातन धर्म भनेकै ब्राह्मण संस्कृति र वर्णाश्रम पद्धति हो। ‘श्रीमद्भागवतम्’मा खसलाई ब्राह्मण संस्कृतिका विरोधी हुन् भनिएको छ।
यदि सिन्जा साम्राज्यका सबै नागरिक खस हुन् भने उनीहरूले कसरी सनातन धर्मलाई आत्मसात गरेर सिन्जा सभ्यताको विकास गरे? अनि नेपालमा क्षत्री, ब्राह्मण को हुन्? संस्कृत मातृभाषा रहेको सिन्जा भाषा भोट बर्मेली भाषा बोल्ने वा ब्राह्मण संस्कृति विरोधी खसहरूले विकास गरे भनेर कसरी प्रमाणित हुन सक्छ? विशुद्ध सनातन धर्ममा आधारित सिन्जा संस्कृति बौद्ध धर्म मान्ने खसहरूले विकास गर्न कसरी सम्भव छ?
मानवशास्त्री एवं साहित्यकार पूर्णप्रकाश नेपाल ‘यात्री’को अनुसन्धानमा दैलेखको दुल्लुमा रहेको शिलालेखमा दशौं शताब्दीमा सिन्जामा दशरथ पाल राजाको शासनकालमा सिन्जा भाषाले औपचारिकता प्राप्त गर्यो। संस्कृत भाषा मातृभाषा रहेको यो भाषा र सनातन धर्म आधारशीला रहेको सिन्जा संस्कृति स्थानीय समुदायमा प्रचलनमा स्थापित भइसकेको आधिकारिक, ऐतिहासिक, प्रामाणिक संस्कृति हो।
खसहरूले पाललाई पराजित गरेर ११ औं शताब्दीमा शासन आफ्नो हातमा लिएका थिए। तसर्थ सिन्जा भाषा न खस भाषा हो न संस्कृति खस हो। यो विशुद्ध सिन्जा सभ्यता हो र सिन्जा सभ्यताले सिर्जना गरेको संस्कृति र भाषा नै अहिलेको नेपाली संस्कृति र भाषा हो।
राष्ट्रिय जनगणना, २०७८ मा धर्मको कोठामा सनातन हिन्दुको साटो मस्टो लेखाउन युवराज कार्कीले अभियान नै चलाएका थिए। नेपालमा सनातन धर्म मान्ने जनसङ्ख्याको प्रतिशतलाई कम देखाउन यसो गरिएको हुनुपर्छ। मस्टो संस्कृतिबारे उपलब्ध तथ्यलाई विश्लेषण गर्दा महादेव र देवी पार्वतीका सहस्र नाममध्ये मस्ट्रो र त्रिपुरासुन्दरी पनि एक हो।भगवान् शिव अर्थात् शम्भु वा भोलेनाथ वा महादेव वा शिवजी नै मस्टो हुनुहुन्छ। यस अर्थमा मस्टो धर्म वा संस्कृति पनि सनातन धर्मपरम्पराकै अभिन्न अङ्ग हो।
धनञ्जय गोत्रीय कुँवर वंश परम्पराअनुसार पाँच हजार वर्ष पहिले गर्ग मुनिले गायत्री मन्त्र प्रदान गर्नुभएका एक युवकले सान्दीपनि ऋषिसँग धनुर्विद्याको शिक्षा ग्रहण गर्दा पाण्डुपुत्र अर्जुनजस्तै धनुर्विद्यामा पारङ्गत भएकाले ती युवकलाई अर्जुनको अर्को नाम धनञ्जयबाट धनञ्जय गोत्र प्रदान गरियो। खस नागराजले सिन्जा राज्यमा पालवंशको शासनमाथि विजय प्राप्त गरेपश्चात् कञ्चनपुरको ब्रह्मदेउबाट राजा ब्रह्मदेवका सन्तति लीलापन्धीरदेवका कान्छा छोरा डाडुदेव १२ औं शताब्दीमा सिन्जा राज्यअन्तर्गतको अछाम जनालीकोटमा आउनुभयो। त्यहाँको नौ वटा खुवाको कर उठाएर सिन्जामा पठाउनुहुन्थ्यो। नौ खुवाको राजा भएकाले उहाँलाई खुलाल भनिन्थ्यो।
इतिहासकार उपाध्यायले आफ्नो पुस्तकको ‘कर्णालीको खसमल्ल राज्य’ पृ. १२९ मा लेख्नुहुन्छ– १२८० सालको कुमाउँ बालेश्वरको मन्दिरको अभिलेखअनुसार राजा क्राचल्लले कुमाउँमा आक्रमण गरेर यसलाई आफ्नो अधीनमा पारेका थिए। यस अभियानमा आठ मण्डालिका र दुई जना राजाले भाग लिएका थिए। ब्रह्मदेउबाट आउनुभएका डाडुदेव कुमाउँ क्षेत्रबारे जानकार हुनुहुन्थ्यो। उहाँले कुमाउँ विजयमा वीरता र साहस देखाएको हुँदा सिन्जाका खस राजाले खुलाल राजा डाडुदेवलाई ‘कुँवर’ उपाधिले विभूषित गरेका थिए।
आजभन्दा करिब ६०० वर्ष पहिले पश्चिम नेपालको अछामबाट जुम्ला, दैलेख, म्याग्दी हुँदै कुँवर, शाही, बाँस्तोला, तिम्सिनालगायतका ब्राह्मण, क्षत्री, ठकुरी थरका समुदायहरू एकैसाथ ब्रह्म घले राजाको शासनकालमा कास्की राज्यको सिम्पालीमा आइपुगेको इतिहास साक्षी छ।
धनञ्जय गोत्रीय कुँवर र गर्ग गोत्रीय बाँस्तोला कम्तीमा पनि पाँच हजार वर्षपहिले अर्थात् द्वापरयुगदेखि गुरुशिष्य एकैसाथ छन्। क्षत्री समाजका अध्यक्षले आरोप लगाएझैं नेपालका बाँस्तोलालगायतका ब्राह्मणहरू भारतबाट आएका वैष्णव र कुँवरलगायतका क्षत्रीहरू मस्टो मान्ने खस हुन् भन्ने भनाइमा कुनै तादम्य छैन। यस्तो तर्कमा कुनै दम छैन। सम्पूर्ण तथ्यगत प्रमाणका आधारमा म यो कुरा कदापि स्वीकार गर्दिनँ।
खस नागराजले सिन्जा राज्यमा विजय प्राप्त गरेपश्चात् १२ औं शताब्दीमा सिन्जा राज्यअन्तर्गतको अछाम आएका पुर्खाको सन्तान र ओठमाथि बाक्ला जुँगा भएको म कसरी खस हुन्छु ? खस राजाहरूबाट कुँवर उपाधि पाएकाले म उनीहरूप्रति अनुगृहीत हुनुपर्ने हो। तर सबाल म जन्मेको देश सिन्जा सभ्यता र संस्कृतिको हो। यो देशको भविष्यसँग जोडिएको विषय हो। यो देशमा विगत एक दशकदेखि एकाएक खस भन्ने विषय घनीभूत रूपमा कसरी उठान भयो ? क्षत्री, ठकुरी, दशनामी, दलित थरसहितलाई ब्राह्मण थर भएका समुदायबाट अलग गर्ने प्रपञ्चमा यसो गरिएको हो भन्नुमा कुनै अत्युक्ति नहोला। नेपालको संविधानमा पनि खसआर्य भन्ने उल्लेख गरिएको छ।
श्रीकृष्णले श्रीमद्भगवद्गीतामा अर्जुनलाई अनार्य अर्थात् जीवनको मूल्य नबुझ्ने व्यक्तिले जस्तो कुरा नगर भन्नुभएको छ। जसले जीवनको मूल्य बुझ्छ, उसलाई आर्य भनिन्छ। जसले जीवन भनेको खानु, सुत्नु, बच्चा जन्माउनु र झगडा गर्नु मात्रै होइन भन्ने बुझ्छ र परम लक्ष्यको बोध गर्छ, त्यो नै वास्तवमा आर्य हो।
गत पुसमा देवघाटधाममा एक जना विद्वान् पण्डितले हामी पनि खस हौं भन्नुभयो। मैले ‘यवन खसादयः’ भनेपछि उहाँले त्यसो भए त हामी खस होइनौं भन्नुभयो। यो विषय अत्यन्त सोचनीय छ। खस हौं भन्ने भाष्यले देशको सीमासमेत पार गरेर यसको हावाले मेचीपारिको समुदायलाई पनि छोएको छ। मेचीवारिका ओठमाथि बाक्लो जुँगा भएका शर्माहरूलाई पनि खस हुनुमा गर्व लागेको रहेछ। समुदायमा विभाजनको यो विषवृक्षको नसालु रस यसरी पिलाइएको छ कि हामी खस होइनौं भन्ने कुरा कसैले पत्याउने अवस्था पनि छैन। यो भ्रमको वृक्ष रोपण गर्न सम्पूर्ण शक्ति लगाइएको छ।
विदेशीहरू यो देशमा जाति, धर्म, भाषा एवं क्षेत्रीयताजस्ता साम्प्रदायिक विषयहरू उछालेर समुदायमा विभाजन ल्याउन चाहन्छन्। ब्राह्मणहरू भारतबाट आयातित वैष्णव सनातनी र क्षत्रीहरू मस्टो संस्कृति मान्ने आदिवासी समुदाय हुन् भन्नु बेतुकको प्रसङ्ग हो।
यसबारे हामीले बेलैमा चनाखो भएर एक ढिक्का एवं मजबुत रहेको ब्राह्मण, क्षत्री, जनजाति, आदिवासी, मधेसी, थारू, दलित, मुस्लिम समुदायबिचको सहअस्तित्वमा बाँच्ने सशक्त र सुमधुर सम्बन्धलाई कुनै पनि खालको विभाजनविरुद्धमा सतिसालझैं उभिन सक्ने शक्ति आपसमा निर्माण गदै एकताबद्ध भएर अगाडि बढ्नु हामी सबैको कर्तव्य, दायित्व र जिम्मेवारी हो।
- कुँवर ऐतिहासिक पुस्तक ‘महान् नेपाली’का लेखक हुन्।
प्रकाशित: २४ श्रावण २०८२ ०७:५८ शनिबार