ताप्लेजुङका सरोकारवालाले बालबालिकामाथि हुने हिंसा र दुर्व्यवहारका विषयमा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै कार्यान्वयनमा लैजानेसहित सातबुँदे प्रतिबद्धता जनाएका छन्।
नेपाल सरकारको राष्ट्रिय बाल अधिकार परिषद्, कोशी प्रदेश समन्वय समितिले बिहीबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा आयोजना गरेको ‘बाल संरक्षण प्रणालीको स्थापना तथा सुदृढीकरण’ विषयक कार्यशालाका क्रममा सरोकारवालाले उक्त प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन्।
राष्ट्रिय बाल अधिकार परिषद्का कोशी प्रदेश समन्वय अधिकृत सुमन अधिकारीका अनुसार स्थानीय तहले बालबालिकासम्बन्धी नीति, कार्यक्रम र बजेटमा उल्लेखनीय प्राथमिकता दिने, बालबालिकाको हक–अधिकारको संरक्षण तथा प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्ने लगायतका प्रतिबद्धता जनाएका छन्।
प्रतिबद्धतापत्रमा बालबालिकासम्बन्धी ऐन, २०७५ मा व्यवस्था गरिएका प्रावधान, बालबालिकासम्बन्धी कार्यविधि, स्थानीय बाल अधिकार समितिको गठन, बाल कल्याण समितिको व्यवस्था, बालकोषको व्यवस्थापन, बाल मनोविज्ञ तथा समाजसेवीको सूचीकरण, बाल क्लब गठन तथा दर्ता लगायतका आधारभूत विषयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उल्लेख गरिएको छ।
त्यसैगरी, बाल संरक्षण तथा प्रवर्द्धनका विषयमा स्थानीय तहले सरोकारवालाबीच समन्वय गरी नेतृत्वदायी भूमिका निर्वाह गर्ने, बाल अधिकार संरक्षणका लागि सम्बन्धित सबै निकायसँग सहकार्य गर्दै घरपरिवारदेखि राज्यको मूल प्रवाहसम्म पुग्ने अभियान सञ्चालन गर्ने तथा बालबालिकामाथि हुने हिंसा र दुर्व्यवहारका घटनालाई कानुनी दायरामा ल्याई जिम्मेवारीपूर्वक कारबाही प्रक्रिया अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरिएको अधिकृत अधिकारीले जानकारी दिए।
यसअघि कार्यक्रममा अधिकृत अधिकारीले बाल अधिकारको संरक्षण तथा प्रवर्द्धनसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्थालगायतका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।
कार्यक्रममा जिल्ला समन्वय समिति ताप्लेजुङका कार्यवाहक प्रमुख (उपप्रमुख) कृष्णप्रसाद लिङखिम, फुङलिङ नगरपालिकाकी उपप्रमुख भीमादेवी ओझा, पाँचथरको फालेलुङ गाउँपालिकाका उपाध्यक्ष महेन्द्रहाङ जवेगु, सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराई लगायतले आ–आफ्नो धारणा राखेका थिए।
कार्यक्रममार्फत फुङलिङस्थित युवावर्ष माध्यमिक विद्यालय, कैंजलेमा गठन भएको बाल क्लबलाई फुङलिङ नगरपालिकाकी उपप्रमुख ओझा, फालेलुङ गाउँपालिकाका उपाध्यक्ष जवेगु तथा सोही गाउँपालिकाको सामाजिक विकास समितिका संयोजक एवं वडा नं. ८ का वडाध्यक्ष श्रीहाङ केरुङले आफूहरूले कार्यक्रममा प्राप्त गरेको यातायात खर्चबापतको रकम हस्तान्तरण गर्नुभएको कार्यक्रम संयोजक दीपेन्द्र सुबेदीले जानकारी दिए।
ताप्लेजुङका स्थानीय तहहरूले हाल बालमैत्री स्थानीय तह घोषणा गर्ने अभियान अघि बढाएका छन्। मैवाखोला र आठराई त्रिवेणी गाउँपालिकाले आउँदो माघभित्र बालमैत्री स्थानीय तह घोषणा गर्ने लक्ष्यसहित आवश्यक अधिकांश सूचक पूरा गर्ने गरी कार्ययोजना कार्यान्वयनमा ल्याएको जनाएका छन्। अन्य स्थानीय तहहरूले पनि बालमैत्री स्थानीय तह घोषणा गर्ने तयारी अघि बढाइरहेका छन्।
प्रकाशित: २५ असार २०८३ १८:३० बिहीबार



