समाज

अपाङ्गता भएका दाजुभाइलाई घरमै नागरिकता

शारिरीक अशक्त दाजुभाइलाई घरमै पुगेर नागरिक्ता प्रमाणपत्र दिदै सिडिओ कँडेल । तस्विरः महेश्वर चामलिङ राई/नागरिक

जिल्ला प्रशासन कार्यालय खोटाङले अपाङ्गता भएका व्यक्तिको घरमै पुगेर नागरिक्ता प्रमाणपत्र प्रदान गरेको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ८ लामीडाँडास्थित मानबहादुर खत्रीका दुई भाइ अपाङ्गता भएका छोराहरुलाई घरमै नागरिक्ता प्रमाणपत्र उपलब्ध गराइएको हो ।

प्रमुख जिल्ला अधिकारी रेखा कँडेल नेतृत्वको टोली मंगलबार लामीडाँडास्थित खत्रीको घरमै पुगेर मानबहादुरका छोराहरु २६ वर्षीय गणेश र २२ वर्षीय थीरबहादुरलाई नेपाली नागरिक्ताको प्रमाणपत्र प्रदान गरेको हो । शारीरिक अशक्तताका कारण जिल्ला प्रशासन कार्यालयसम्म आउन नसक्ने जानकारी पाएपछि उनीहरूलाई घरमै लगेर नागरिक्ता प्रमाणपत्र प्रदान गरेको प्रशासन कर्याालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईले बताईन् ।

जन्मजात अपाङ्गता रहेका उनीहरु नागरिक्ता नभएका कारण राज्यबाट पाउने सेवासुविधाबाट वञ्चित भईरहेका थिए । यसबारे सम्बन्धित वडा कार्यालयबाट जानकारी पाएपछि घरमै गएर नागरिक्ता प्रमाणपत्र दिलाउने व्यवस्था मिलाइएको सहायक सिडिओ राईले बताईन् । नागरिकता पाएसँगै खत्री दाजुभाइले सरकारबाट पाउने सेवासुविधामा पहुँच सुनिश्चित भएकोउनको भनाई छ ।

‘अहिलेसम्म नागरिक्ता प्रमाणपत्र नभएकाले अपाङ्गता नागरिकले पाउने सेवासुविधा पाउन नसकेका रहेछन्’ सहायक सिडिओ राईले भनिन् ‘यो कुराको जानकारी पाएर हाम्र्रै टोली घरमै पुगेर नागरिक्ता दिएका छौँ, अव राज्यबाट पाउने सेवासुविधा प्राप्त गर्ने ढोका खुलेको छ ।’ उनका अनुसार अपाशारिरीक अशक्त नागरिकलाई सामाजिक सुरक्षा शीर्षकअन्तर्गत राज्यले मासिक निर्वाह भत्ता दिदै आएको छ । नागरिक्ता र राािष्ट्रय परिचयपत्र पाएपछि सो सेवा लिने बाटो खुल्ने कानुनी प्रावधान रहेको छ ।

नागरिक्ता प्रदानसँगै जिल्ला प्रशासनले अशक्त दाजुभाइलाई १ एकथान न्यानो कम्बल (ब्ल्याङ्केट) पनि उपलब्ध गराएको वडाध्यक्ष लिला चौहानले बताए । वडाध्यक्ष चौहानका अनुसार स्थानीयतह र जिल्ला प्रशासनको सहकार्यलेशारिरीक अशक्त दाजुभाइलाई धेरै सहज बनाउने छ ।

सिडिओ कँडेलले जिल्लाबासी नागरिकको सहजताका लागि राज्यले गर्ने सेवा प्रवाहमा चुस्तता ल्याउने काम गरिरहेको बताईन् । जिल्ला प्रशासन कार्यालय र आफु नागरिकको आधारभूत सेवा पाउने अधिकारमा प्रतिबद्ध रहेर कामगर्दै आएको र यसलाई निरन्तरता दिदै जाने उनको भनाई छ ।

प्रकाशित: २७ जेष्ठ २०८३ १९:१४ बुधबार