जुम्लाको चुकेनी विद्युतले आम्दानी गर्न थालेको छ। पातारासी गाउँपालिका–१ गडिगाउँमा अवस्थित चुकेनी विद्युतले आम्दानी गर्न लागेको हो। कुनै बेला विद्युतको अभावमा अन्धकार हुने जुम्ला अहिले उज्यालिएको छ।
चुकेनी खोलाबाट स्थानीय स्तरको ९ सय ९८ (एक मेघावाटको) किलोबाटको विद्युतले सजिलो भएको छ। चुकेनी संहकारी संस्था लिमिटेडका अध्यक्ष गोरबहादुर बुढाका अनुसार गत जेठदेखि चैत महिनासम्म १ करोड ५७ लाख ५५ हजार ९ सय २५ रुपैयाँ ४० पैसा आम्दानी भएको छ भने वैशाखदेखि असार महिनासम्म ३९ लाख २५ हजार दुई सय ७३ रुपैयाँ २० पैसा आम्दानी भइरहेको छ। चुकेनीको बत्ती सदरमुकामसहित जिल्लाका सहायक बजारहरूमा पुगेको छ।
चुकेनीको विद्युत वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र एशियाली विकास बैंकको आर्थिक सहयोग स्थानीय, गाउँपालिकाको स्वलगानी, कृषि विकास बैंकको ऋण लगानी तथा संयुत राष्ट्र संघीय विकास कार्यक्रम अन्तर्गतको ग्रामीण जीविकोपार्जनका लागि नवीकरणीय ऊर्जा कार्यक्रमको प्राविधिक सहयोगमा सम्पन्न भएपछि पातारासीका लासी, तल्फि, चौर, उर्थु र जुम्ला खलङ्गा क्षेत्रका घरधुरीले गुणस्तरको विद्युत सेवाबाट लाभान्वित छन्।
यो विद्युतमा पातारासी गाउँपालिकाका ३ हजार ३ सय नागरिकको सेयर लगानी छ। विद्युत सेवा २४ घण्टा पाएकाले बासिन्दाहरू खुसी छन्। उक्त विद्युतमा लगानी गर्ने मध्यको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र ग्रामीण जीविकोपार्जनका लागि नवीकरणीय ऊर्जा कार्यक्रमका क्लष्टर संयोजक पृथ्वीबहादुर शाहीका अनुसार चुकेनीको विद्युतले अहिले जुम्लामा गुणस्तरीय बत्ती प्रवाह भएको छ।
चुकेनीखोला विद्युत सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको विद्युत आयोजना २०८१ साल वैशाख १८ गते नेपाल विद्युत प्राधिकरणसँगको सम्झौतामा जुम्ला बजार क्षेत्रमा १ सय ८० किलोवाटबाट विद्युत सेवा प्रवाह सुरु गरिएको थियो।
हाल विद्युत सेवा बढ्दै गएर बजारसहित यस क्षेत्रका विद्यालय, स्वास्थ्यचौकी, होटल व्यवसायहरू, स–साना उद्योग व्यवसायहरूका स्टोरमा भएका विद्युतीय सामग्रीहरू पनि संचालनमा आएका छन्। नयाँ उद्योग तथा व्यवसायहरू समेत सन्चालन गर्न सजिलो भएको छ। वैकल्पिक ऊर्जा केन्द्रका संयोजक शाहीका अनुसार पातारासी क्षेत्रमा डिल्लीचौर र डोल्काटीमा लिप्ट सिँचाइ समेत सञ्चालन भएका छन्।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख रामआशिष शाहका अनुसार चुकेनीको विद्युतले नागरिकलाई ठूलो सहयोग गरेको छ। अहिले जुम्लामा वितरण केन्द्रबाट ७ हजार पाँच सय छ। जुम्ला जिल्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत २४ घण्टा विद्युत सेवा प्रर्वाह गर्दा सेवामा सुधार आएको छ। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको २८ करोड ४४ लाख ३० हजार, स्थानीय नागरिकको सेयर लगानी ३ करोड ४५ लाख, पातारासी गाउँपालिकाको एक करोड र प्रदेश सरकारको एक करोड लगानी रहेको वितरण केन्द्र जुम्लाका प्रमुख रामआशिष शाहको भनाइ रहेको छ।
त्यसैगरी सहकारीले विद्युत निर्माण गर्न कृषि विकास बैंकबाट ६ करोड ऋण लगानी, नेपाल सरकारको भूमि सुधार आयकर ५ करोड १३ लाख ५२ हजार नौ सय ९६ गरी ४५ करोड २८ लाख २ हजार ९ सय ९६ रुपैयाँ लागतमा भूमि सुधार आयकरमा नेपाल सरकारले छुट गरेको छ। जुम्ला जिल्लाको सदरमुखाम खलङ्गा बजार अर्थात चन्दननाथ नगरपालिकामा करिब ३० हजार मानिसहरूको बसोबास रहेको छ। यस क्षेत्रमा वि.सं २०३८ सालमा तत्कालीन राजा विरेन्द्र शाहका पालामा जुम्लाको लागि २०० किलोवाटको लघु जलविद्युत आयोजना निर्माण गरी सन्चालनमा ल्याइएको थियो।
पछिल्लो समय बढ्दो जनसंख्याका कारण विद्युत अपुग भएकाले नेपाल विद्युत प्राधिकरण वितरण शाखा जुम्लालाई मिति २०७६ सालमा हस्तान्तरण गरिएको थियो। नेपाल विद्युत प्राधिकरणलाई पनि विद्युत सेवा विस्तारमा कठिनाइ भएपश्चात सुर्खेत जुम्ला ११ हजार लाइन विस्तार गरे पनि भोल्टेज राम्रो नहुँदा उक्त क्षेत्रको विद्युत सेवा प्रवाह पूर्ण रूपमा सुचारु हुन सकेको छैन।
अहिले चुकेनी आउँदा प्राधिकरणले जुम्लाका सबै क्षेत्रमा विद्युत पुर्याइरहेको छ। विकट र अँध्यारो बस्ती गढीगाउँले सिङ्गो जुम्लालाई उज्यालो उपहार मात्र दिएको छैन, यसले समग्र पातारासीकै परिभाषा बदलिदिएको छ। यो सँगै पातारासीमा विकासको ढोका खोलिदिएको आभास गरिएको छ।
प्रकाशित: १३ भाद्र २०८२ १४:१० शुक्रबार