समाज

याक्चे र निगुरो बेचेर पढाइ खर्च जुटाउँदै पातारासीका बालबालिका

जुम्लाको खलंगामा याक्चे र निगुरो बिक्री गर्दै बालबालिका।

जुम्लाको पातारासी गाउँपालिका–३ तल्फी गाउँका बालबालिकाले लेकाली क्षेत्रमा पाइने याक्चे (चुक) र निगुरो बेचेर आफ्नो पढाइ खर्च जुटाउने गरेका छन्। बिदाको समय सदुपयोग गर्दै उनीहरू वन क्षेत्रबाट याक्चे र निगुरो संकलन गरी सदरमुकाम खलंगामा बिक्री गर्न पुग्छन्।

गाउँबाट करिब चार घण्टा टाढाको पाटन क्षेत्रबाट याक्चे संकलन गर्दै आएका १२ वर्षीय रमित बोहराले आफूजस्तै धेरै साथीहरूले चुक बेचेर कापी–कलमदेखि अन्य शैक्षिक सामग्रीसम्मको खर्च जुटाउने गरेको बताए। आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकाका लागि याक्चे र निगुरो अतिरिक्त आम्दानीको स्रोत बनेको छ।

“सिजनभरिमा पाँचदेखि सात हजार रुपैयाँसम्म कमाउन सकिन्छ,” रमितले भने, “लेकमा प्रशस्त पाइने याक्चे टिपेर बजारमा बेच्दा पढाइ खर्च आफैं जुटाउन सजिलो भएको छ।”

खलंगास्थित कनिकानिशा बोर्डिङमा अध्ययनरत १३ वर्षीया विमला बुढा पनि सडकछेउमा बसेर याक्चे र निगुरो बेच्ने बालबालिकामध्ये एक हुन्। उनी दिनमा आठ सय रुपैयाँसम्म आम्दानी हुने बताउँछिन्।

“बिदाको समय खेर फाल्नु भन्दा आफ्नै खर्च आफैं जुटाउन खोजेका हौं,” उनले भनिन्, “बुबाआमाको कमाइ घरखर्चमै सकिने भएकाले कापी–कलम र अन्य व्यक्तिगत खर्चका लागि याक्चे र निगुरो बेच्ने गर्छु।”

यस्तै, १२ वर्षीय चेतन बुढाले निगुरो र याक्चे बिक्रीबाट आएको रकमले पढाइ खर्च मात्र नभई घरको आर्थिक भार कम गर्न पनि सहयोग पुगेको बताए। “लगानी केही लाग्दैन, समय र मेहनत मात्रै चाहिन्छ,” उनले भने।

स्थानीय होटल व्यवसायी नमराज श्रेष्ठका अनुसार यतिबेला बालबालिकाले दिनमा आठ सयदेखि एक हजार रुपैयाँसम्म कमाउने गरेका छन्। खुला जंगलमा पाइने निगुरो र याक्चेको माग राम्रो भएकाले बजारमा सहजै बिक्री हुने गरेको उनको भनाइ छ।

चन्दननाथ बहुउद्देश्यीय सहकारीका व्यवस्थापक ऋषिराम पाण्डेले बालबालिकाले बिदाको समयलाई उत्पादनमूलक काममा लगाएर श्रमको सम्मान गर्ने उदाहरण प्रस्तुत गरेको बताए। “जहाँ इच्छा, त्यहाँ उपाय भनेझैँ उनीहरूले आफ्नै मेहनतबाट पढाइ खर्च जुटाइरहेका छन्,” उनले भने।

जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार पौष्टिक गुणले भरिपूर्ण निगुरोको बजार माग राम्रो रहेकाले बालबालिकाको आकर्षण बढेको हो। यतिबेला उनीहरूले याक्चे प्रतिमुठा २० रुपैयाँ र निगुरो प्रतिमुठा ५० रुपैयाँमा बिक्री गर्दै आएका छन्।

सहरका धेरै बालबालिका प्रविधिमा रमाइरहेका बेला जुम्लाका यी बालबालिका भने लेकबाट निगुरो र याक्चे बोकेर बजारसम्म पुगिरहेका छन्। उनीहरूको पसिनाले पढाइ खर्च जुटाइरहेको मात्र छैन, श्रमप्रतिको सम्मान र आत्मनिर्भरताको पाठ पनि सिकाइरहेको छ।

प्रकाशित: १७ जेष्ठ २०८३ २१:०० आइतबार