उदयपुरको चौदण्डीगढी नगरपालिकाले जटिल खाले रोगका बिरामीलाई नियमित औषधि खाने खर्च दिने निर्णय गरेको छ । नगरपालिकाभित्र बसोबास गर्ने क्यान्सर, मृगौला, मेरुदण्ड भाँचिएकाजस्ता जटिल खाले रोगी तथा विपन्न विरामीलाई औषधि खर्चवापत मासिक सहयोग गर्ने निर्णय गरेको हो ।
नगरकार्यपालिका बैठकले दीर्घ रोगीलाई औषधि खर्चबापत मासिक पाँच हजारका दरले सहयोग दिने निर्णय गरेको नगरप्रमुख कालुमान लामाले बताए । उनका अनुसार औषधि खानै खर्च नहुने गरिव तथा विपन्न वर्गको खाँचो टार्ने उदेश्यले सो सयहोग उपलब्ध गराउने निर्णय गरेको हो ।
मेयर लामाका अनुसार चौदण्डीगढी नगरमा यस्ता बिरामीको सङ्ख्या १ सय ३५ जना छ । उनीहरुलाई विपन्न कार्ड बनाईदिएर सहयोग रकम वितरण दिने योजना नगरले बनाउको छ । प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले अहिलेसम्म सेवा लिन माग गर्दै निबेदन दिने ११ जनाले विपन्न कार्ड पाएर यो सुविधा लिइसकेको बताए ।
यसअघि विपन्न र गरिब परिवारको पहिचान हुन नसकेर कार्ड वितरण गर्न समस्या भए पनि अब हरेक वडा कार्यालयबाट गरिबीको पहिचान गरि सिफारिस दिने व्यवस्था भएपछि कार्ड वितरणमा सहजता आएको छ ।
प्रकाशित: ५ मंसिर २०८२ १६:५० शुक्रबार