समाज

फक्ताङलुङमा चैत भित्रै पुँजीगत प्रकृतिका योजना सकिने

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले पालिकामार्फत सञ्चालन हुने पुँजीगत योजना चैत मसान्तसम्ममै सक्ने योजनालाई कडाईका साथ कार्यान्वयन गर्ने भएको छ ।  

सोहि अनुरुप गाउँपालिकाले मंसिर १५ गतेसम्ममा आफ्नो वडाभित्र सञ्चालन हुने योजनाहरुमध्ये कुन योजना टोल विकास संस्थामार्फत गर्नेभनी छनौट गरी पठाउन पालिका भित्रका ७ वटै वडा कार्यालयलाई परिपत्र गरेको छ ।  

पालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन तेम्बेका अनुसार १० लाख रुपैयाँ सम्मका योजना मात्र टोल विकास संस्थामार्फत सञ्चालन हुने छ ।  

पालिकाले टोल विकास संस्था नवीकरणका लागि सम्वन्धित वडामार्फत खबर गरिदिन समेत आग्रह गरेको छ । टोल विकास संस्था छनौट पश्चात वडा प्राविधिकद्धारा सर्वे कार्य सम्पन्न गरी सम्वन्धित वडामा नै योजना सम्झौताको कार्य पुस ७ सम्ममा सम्पन्न गर्ने पालिकाको योजना छ ।  

वडा नं ६ को घुन्सा र वडा नं ७ ओलाङचुङगोला बाहेक अन्य वडाको हकमा पुस ७ गते भन्दा पछि योजना सम्झौता नहुने समेत पालिकाले स्पष्ट पारेको छ ।  

 

प्रकाशित: २८ कार्तिक २०८२ १४:२९ शुक्रबार