समाज

गोलीको घाउ, सुइको शक्ति

जनयुद्धको आगो सल्किँदै गर्दा एउटा गोलीले मोतिलाल रोकायाको दायाँ खुट्टा छेड्यो। शरीर थला पर्यो, हिम्मत छैन भनेर धेरैले भने। तर उनले आफूलाई हारेका ठानेनन्। ‘गोलीले शरीरमा घाउ पार्‍यो, तर मनमा होइन,’ उनी अहिले पनि मुस्कुराउँदै भन्छन्, ‘त्यो घाउले नै मलाई आत्मनिर्भर बन्न सिकायो।’

जुम्लाको दुर्गममा तिला गाउँपालिका–७ घोडेपाख्री गाउँका रोकाया युद्धपछि घर फर्किए, तर पहिलेझैँ खेत–बारीमा काम गर्न सक्ने शक्ति थिएन। दायाँ खुट्टाको घुँडामुनि रहेको घाउ अझै पुरै निको छैन। भारी बोक्न सक्दैनन्, खेत जोत्न सक्दैनन्। ‘परिवार छ, सन्तान छन्, जिम्मेवारी पनि त्यत्तिकै,’ उनी भन्छन्, ‘कसरी बाँच्ने भन्ने प्रश्नले निद्रा हरायो।’

यही कठिनाइमा उनले आफ्नो अर्को बाटो खोजे शिपको।१४ वर्षअघि अपांग पुनस्र्थापन तथा विकास केन्द्र (PRDC) ले गठन गरेको अपांगता भएका व्यक्तिहरूको समूहमा उनी सहभागी भए। समूहका छलफलमा उनले आफ्ना पीडा र चाहना व्यक्त गरे ।

त्यसपछि केन्द्रले आईएनएफ जुम्ला र एबिलिज फाउन्डेसन सँग सहकार्य गर्दै उनलाई सिलाई–कटाई तालिम दिलायो। तालिमपछि ८० प्रतिशत सहयोगमा एउटा मेशिन पनि पाउने अवसर मिल्यो।अब, बिहानैदेखि उनको घरभित्र मेशिनको आवाज सुनिन्छ।

सुइ–धागो चल्छ, कपडा सिउँछ र साथमा चल्छ आत्मविश्वासको ताल।विद्यालयका पोशाकदेखि चोलो, पेटिकोट, सर्ट–पाइन्टसम्म सबै उनले गाउँमै सिउँछन्।

प्रकाशित: २६ कार्तिक २०८२ २१:४९ बुधबार