ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ।
वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौपाया भालुको आक्रमणमा परेको जानकारी दिएका छन् । उनका अनुसार स्थानीय भगिमान गुरुङका तीनवटा खसी र नारायणप्रसाद गुरुङका एउटा भेडा र एउटा खसी भालुको आक्रमणमा परेका हुन्। तीमध्ये केही मरेको र केही गम्भिर घाईते भएका छन् ।
वडाध्यक्ष गुरुङले भालुको बिगबिगी बढेको भन्दै जंगलमा घाँस दाउरा गर्दा सर्तक रहन र हिड्डुलमा समेत सावधानी अपनाउन स्थानीयलाई आग्रह गरेका छन् । केही समयअघि मात्र पाथीभरा याङवरक गाउँपालिका वडा नं २ थेचम्बुमा समेत भालुको आक्रमणमा परी एक महिला घाइते भएकी थिईन् ।
डिभिजन वन कार्यालय ताप्लेजुङका निमित्त प्रमुख ललितकुमार यादवले भालुको आतंकबारे अनौपचारिक जानकारी आएको र आफुले त्यसका बारेमा अनुसन्धान थालेको जानकारी दिए । औपचारिक जानकारी लिएर गरिने अनुसन्धान पछि पशु चौपायाको क्षतिका आधारमा थप प्रकृया अघि बढ्ने उनले बताए ।
यादवका अनुसार ताप्लेजुङको यो क्षेत्रमा भेटिने भनेको हिमाली कालो भालु हो । २०७८ सालको फागुन तेस्रो साता एउटा हिमाली कालोभालु ताप्लेजुङ जिल्ला अस्पतालमै प्रवेश गरेको थियो । राष्ट्रिय प्रकृति संरक्षण कोषअन्र्तगत जैविक विविधता संरक्षण केन्द्रका वन्यजन्तु भेटरिनरी प्राविधिक किरणराज रिजालको नेतृत्वमा आएको टोलीले त्यहाँबाट उद्धार गरेको थियो भने वन कार्यालयको टोलीले सुरक्षित स्थानमा लगेर छाडेको थियो ।
प्रकाशित: ६ पुस २०८२ १६:०४ आइतबार