समाज

२२ दिनको प्रतीक्षापछि कुशको शवमा भानुको अन्तिम संस्कार

तीन सातासम्म परिवारले एउटै आशामा दिन गनिरह्यो-भानु फर्केर आउलान्। कहिले जीवितै भेटिने आशा पलायो, कहिले उनको शव भेटिएला भन्ने प्रतीक्षा भयो। तर २२ दिन बितिसक्दा पनि न भानुको सासको खबर आयो, न शव नै भेटियो। अन्ततः परिवारले कुशलाई शवको प्रतीक बनाएर आफ्नै जन्मभूमिको आर्यघाटमा भानुको अन्तिम संस्कार गरेको छ।

भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परेर बेपत्ता भएका जुम्लाको चन्दननाथ नगरपालिका–१० बोहोरागाउँका ५१ वर्षीय भानु देवकोटाको बिहीबार बिहान हिन्दू धार्मिक परम्पराअनुसार कुशको शव बनाएर दाहसंस्कार गरिएको हो। लामो समयसम्म खोजी गर्दा पनि उनको जीवित वा मृत अवस्थाबारे कुनै जानकारी नपाएपछि आफन्तले यस्तो संस्कार गरेका हुन्।

बिहीबार बिहान ९ बजे चन्दननाथ नगरपालिका–१ दानसाँघुस्थित आर्यघाटमा आफन्तजन भेला भए। त्यहाँ भानुको वास्तविक शव थिएन, शवको प्रतीकका रूपमा कुश राखिएको थियो। त्यही कुशको शवमा अन्तिम संस्कार गर्दै परिवारले भारी मनले भानुको मृत्यु स्वीकार्न बाध्य भयो।

भानु आध्यात्मिक गुरु सद्गुरुको तीर्थयात्री टोलीसँगै गोसाइँकुण्ड हुँदै मानसरोवरको धार्मिक यात्रामा निस्किएका थिए। यात्राका क्रममा नेपाल–चीन सीमा क्षेत्रको मितेरी पुल नजिकबाट उनी सम्पर्कविहीन भएका थिए।

‘२२ दिनसम्म जीवित हुनुहुन्छ कि मृत भन्ने केही थाहा भएन। खोज्दा पनि कुनै खबर आएन,’ भानुका जेठा दाजु शारदाप्रसाद देवकोटाले भने, ‘अन्ततः धार्मिक परम्पराअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गर्नुपर्‍यो।’

भानुकी श्रीमती बिमा रोकाया (देवकोटा), छोरा आयुस र छोरी आयुसिका छन्। उनीहरूका लागि बिहीबारको अन्तिम संस्कार केवल प्रियजनको मृत्यु स्वीकार गर्ने क्षण थिएन, २२ दिनदेखि चलिरहेको अनिश्चित प्रतीक्षाको अन्त्य पनि थियो।

भोटेकोशी बाढीमा बेपत्ता भएका अन्य जुम्लीका परिवारले पनि शव नभेटिएपछि कुशको शव बनाएर अन्तिम संस्कार गरेका छन्। गुठीचौर गाउँपालिका–५ फोई गाउँका पूर्णप्रसाद आचार्यको भदौ १७ गते कुशको शव बनाएर दाहसंस्कार गरिएको थियो।

त्यस्तै, चन्दननाथ नगरपालिका–२ की ललिता कुमाई सेजुवाल र बरलिता सेजुवालको भदौ १८ गते कुशको शव बनाएर अन्तिम संस्कार गरिएको थियो। पातारासी गाउँपालिका–५ तल्लो लोर्पा गाउँका राजबहादुर बुढाको पनि भदौ २६ गते दाहसंस्कार गरिएको थियो।

रसुवामा आएको बाढीका क्रममा टनेल नम्बर २१६ बाट बेपत्ता भएका बुढाको पनि न जीवित अवस्थाबारे खबर आयो, न शव नै भेटियो। लामो प्रतीक्षापछि आफन्तले हिन्दू धर्म–परम्पराअनुसार कुशको शव बनाएर आफ्नै जन्मभूमिमा उनको अन्तिम संस्कार गरेका थिए।

बाढीले उनीहरूलाई बेपत्ता मात्रै बनाएन, परिवारलाई लामो समयसम्म आशा र पीडाबीच अल्झाइरह्यो। शव नहुँदा आफन्तको अन्तिम संस्कारसमेत गर्न नसकेका परिवारले अन्ततः कुशलाई प्रतीक बनाएर मृत्यु संस्कार पूरा गर्नुपरेको छ।

भोटेकोशी बाढीपछि जुम्लाका ६३ जना अझै सम्पर्कविहीन छन्।

प्रकाशित: १ आश्विन २०८३ २०:३७ बिहीबार