समाज

सिलाजितबाट वार्षिक १० लाख आम्दानी गर्दै भक्तबहादुर

गत जेठ महिनाको  १५ गते घरबाट निस्किएका जुम्लाको चन्दननाथ नगरपालिका–३ शान्तिनगरका ६१ वर्षीय भक्तबहादुर कठायत जेठ ३० गते मात्रै घर फर्किए। करिब दुई सातासम्म उनी कर्णालीका अग्ला र जोखिमपूर्ण भिर पाखामा सिलाजित खोज्दै थिए। ज्यानको बाजी लगाएर संकलन गरिएको त्यही कालो पदार्थले यस वर्ष मात्रै उनलाई १० लाख ८ हजार रुपैयाँ आम्दानी गराइदियो।

२०५६ सालदेखि निरन्तर सिलाजित संकलन र व्यापार गर्दै आएका कठायत अहिले जुम्लाका अनुभवी सिलाजित व्यवसायीका रूपमा चिनिन्छन्। उनले प्याकिङ गरिएको सिलाजित प्रति तोला १ हजार २ सय रुपैयाँमा बिक्री गर्दै आएका छन्।

८४ तोला बराबर एक केजी सिलाजितको मूल्य १ लाख ८ सय रुपैयाँ पर्छ। उनले यस वर्ष १० केजी सिलाजित संकलन गरेका छन्। त्यही परिमाण प्याकिङ गरेर बिक्री गर्दा १० लाख ८ हजार रुपैयाँ आम्दानी भएको उनी बताउँछन्।

खुला रूपमा बिक्री गर्दा भने प्रति तोला ५ सय रुपैयाँ र प्रति केजी ४२ हजार रुपैयाँ मात्रै पर्छ। ‘१२ ग्रामको एक तोला हुन्छ,’ कठायत भन्छन्, ‘खुला बिक्री गर्दा १० केजीबाट ४ लाख २० हजार रुपैयाँ मात्रै आउँछ, त्यसैले प्याकिङ गरेर बेच्दा धेरै मूल्य पाइन्छ।’ 

कठायतका अनुसार सिलाजित संकलन सजिलो काम होइन। भीर चढ्नुपर्छ, चट्टानका कापबाट सिलाजित निकाल्नुपर्छ र हरेक क्षण ज्यानको जोखिम हुन्छ। ‘जतिसुकै बेला पनि निकाल्न मिल्छ,’ उनी भन्छन्, ‘तर अत्यधिक दुःख–कष्ट हुन्छ, ज्यानको बाजी राख्नुपर्छ।’

उनले हरेक वर्ष न्यूनतम ३ लाखदेखि १० लाख रुपैयाँसम्म सिलाजित बिक्रीबाट आम्दानी गर्दै आएका छन्। अघिल्लो पटक ३ केजी सिलाजित बिक्री गर्दा ३ लाख २ हजार ४ सय रुपैयाँ आम्दानी भएको थियो।

गत वर्ष ५ केजी सिलाजित बिक्रीबाट ५ लाख ४ हजार रुपैयाँ प्राप्त भएको उनले बताए। यस वर्ष कठायतसँगै अन्य पाँच जना पनि सिलाजित संकलनमा गएका थिए। प्रत्येकले १० केजी सिलाजित संकलन गरी करिब ४ लाख २० हजार रुपैयाँ आम्दानी गरेका छन्। 

कर्णालीका हिमाली जिल्ला जुम्ला, हुम्ला, मुगु र डोल्पाका उच्च भिर पाखामा मात्रै सिलाजित पाइन्छ। कठायतका अनुसार यसलाई हड्डी दुख्ने, बाथरोग र सुगरका बिरामीले उपयोग गर्ने गर्छन्। बिहान–बेलुका दूधमा मिसाएर खाने चलन रहेको उनको भनाइ छ।

यस्तै जुम्लाको सदरमुकाम खलंगास्थित चन्दननाथ बहुउद्देश्यीय संस्थाद्वारा सञ्चालित अर्ग्यानिक मिनी मार्केटले पनि सात वर्षभन्दा बढी समयदेखि प्याकिङ गरिएको सिलाजित बिक्री गर्दै आएको छ।

मिनी मार्केटका वरिष्ठ सहायक राजु बोहराका अनुसार २० ग्रामको एक प्याकेट १ हजार ५ सय ४५ रुपैयाँमा बिक्री हुन्छ। संस्थाले १ हजार ४ सय रुपैयाँमा खरिद गरी १ सय ४५ रुपैयाँ नाफा राखेर बिक्री गर्ने गरेको उनले बताए।

उनका अनुसार वार्षिक साढे तीन लाख रुपैयाँभन्दा बढीको सिलाजित कारोबार भइरहेको छ। बोहराले जुम्लाको कालिका बास्नादार तेल प्रशोधन उद्योगबाट सिलाजित खरिद गर्ने गरिएको जानकारी दिए।

उनका अनुसार क्याल्सियम, हाडजोर्नी तथा शरीरको प्रतिरक्षा क्षमता (इम्युनिटी पावर) बढाउन पनि सिलाजित प्रयोग गर्ने गरिन्छ।

सिलाजित हिमालका चट्टानको चिराबाट निस्कने कालो प्राकृतिक पदार्थ हो। यो हजारौँ वर्षसम्म वनस्पति र खनिज पदार्थको प्राकृतिक प्रक्रियाबाट बन्ने मानिन्छ। आयुर्वेदमा यसलाई परम्परागत रूपमा स्वास्थ्यका लागि प्रयोग गरिन्छ।

हिमालका कठिन भीरमा पसिना, पीडा र जोखिमसँग साटिएको सिलाजित अहिले कर्णालीका केही परिवारका लागि लाखौँ रुपैयाँ आम्दानीको भरपर्दो स्रोत बन्दै गएको छ।

प्रकाशित: २३ असार २०८३ १४:०२ मंगलबार